मकवानपुर प्रहरीले जिल्लाको तीन छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित ६ जनालाई नियन्त्रणमा लिएको छ। मनहरी गाउँपालिका र हेटौँडा उपमहानगरपालिकामा मंगलबार साँझदेखि रातिसम्म गरिएको कारबाहीमा पाँच जनाबाट कुल सात ग्राम ९३४ मिलिग्राम खैरो हेरोइन र अर्का एक जनाबाट ट्रामाडोल तथा नाइट्राजेपाम ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मनहरी गाउँपालिका वडा नम्बर ९ रजैयाबाट तीन जना पक्राउ परेका छन्।सार्वजनिक स्थानमा खैरो हेरोइन सेवन तथा कारोबार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले साँझ करिब सवा सात बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा हेटौँडा–१९ नेवारपानीका करिब ३० वर्षीय अभिषेक थिङ, बस्तीपुरका २६ वर्षीय आकाश भुलुन र नेवारपानीकै २३ वर्षीय रोहित ढुंगाना छन्। उनीहरूको साथबाट चार ग्राम ८४ मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।
यस्तै प्रहरीले हेटौँडा–१ चाइना क्वाटरस्थित सुकुम्बासी बस्तीबाट खैरो हेरोइन बिक्री–वितरण भइरहेको गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले मनहरी–४ शान्तिटोल घर भई हाल हेटौँडा–१ बस्ने ३३ वर्षीय उमेश थिङलाई पक्राउ गरेको छ । प्रहरीले उनको कोठा खानतलासी गर्दा कोठाबाट सातवटा साना पुरियामा राखिएको तीन ग्राम ८५० मिलिग्राम खैरो हेरोइन, एउटा डिजिटल तराजु र ११ हजार रुपैयाँ नगद बरामद गरेको जनाएको छ।
प्रहरीले सोही कोठामा रहेका हेटौँडा–११ थानाभर्याङका करिब ३५ वर्षीय बिमल श्रेष्ठलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। श्रेष्ठले प्रयोग गर्ने ना ४१ प ६८४४ नम्बरको स्कुटर पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।यसैगरी प्रहरीले हेटौँडा–१० स्थित जिल्ला प्रहरी कार्यालयअगाडि गरिएको सुरक्षा जाँचका क्रममा लागुऔषधजन्य औषधिसहित एक युवकलाई पक्राउ गरेको छ ।
राति करिब सवा नौ बजे शंकाका आधारमा ना ३८ प ५६४ नम्बरको स्कुटर रोकेर चेकजाँच गर्दा हेटौँडा–११ थानाभर्याङका करिब २० वर्षीय श्रोहित थिङको साथबाट ट्रामाडोल १० ट्याब्लेट र नाइट्राजेपाम ६ ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ।प्रहरीले उनलाई स्कुटरसहित नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। प्रहरीले तीनवटै घटनामा बरामद लागूऔषध, नगद रकम तथा सवारीसाधन नियन्त्रणमा लिएर पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।