सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ । सरकारको ६ महिना, स्थानीय तह निर्वाचनको तयारी तथा समसामयिक विषयमा छलफल गर्न सभापति रवि लामिछानेले शनिबार बैठक बोलाएका हुन् । बैठकका सबै एजेन्डा भने तय भइसकेको छैन । ‘समसामयिक विषयमा छलफल गर्न पार्टी केन्द्रीय समिति बैठक शनिबार अपराह्न ३ बजे बस्ने तय भएको छ,’ रास्वपा प्रवक्ता जगदीश खरेलले भने, ‘बैठकका एजेन्डाबारे गृहकार्य भइरहेको छ ।’
बैठकमा सरकार गठनको ६ महिनाको समीक्षा गर्ने तयारी छ । एक पदाधिकारीका अनुसार भोटेकोशी बाढीपछि सरकारले गरेको राहत र उद्धार कार्यको समीक्षा र पुनर्स्थापना एवं पुनर्निर्माणबारे पनि छलफल हुनेछ ।
पछिल्लोपटक पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको रहस्यमय गिरफ्तारी र रिहाई प्रकरणबारे पनि छलफल हुनेछ । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै गठन भएको रास्वपाको उम्मेदवार (क्यान्डिडेट) क्लब तथा तयारीबारे छलफल हुनेछ । पार्टीका केन्द्रीय नेतालाई स्थानीय तहको चुनाव प्रयोजनका लागि गाउँपालिका तथा नगरपालिका क्षेत्रमा पठाउने विषयमा पनि छलफल गर्ने तयारी छ ।
‘हाम्रो लोकतान्त्रिक पार्टी भएकाले केन्द्रीय सदस्यलाई लागेका सबै विषयमा बोल्ने ठाउँ छँदै छ । पार्टीले बैठकका एजेन्डालाई चाहिँ शुक्रबार बिहानसम्म अन्तिम रूप दिने गरी गृहकार्य भइरहेको छ,’ खरेलले भने । रास्वपाको केन्द्रीय समितिको भर्चुअल बैठक भोटेकोशी बाढीपछि बसेको थियो ।