मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १५ बिहीबार
  • Thursday, 01 October, 2026
साइमन एडम्स
२o८३ असोज १५ बिहीबार ११:३९:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

गुटेरेसको १० वर्षे कार्यकालबाट असन्तुष्ट विश्व समुदाय

Read Time : > 2 मिनेट
साइमन एडम्स
नयाँ पत्रिका
२o८३ असोज १५ बिहीबार ११:३९:oo
  • राष्ट्र संघलाई १० वर्ष नेतृत्व गरेर बिदा हुँदै गर्दा गुटेरेस बर्लिनको पर्खाल ढलेयताकै सबैभन्दा कमजोर अवस्थाको राष्ट्र संघ छोड्दै छन् 

गत साता राष्ट्र संघको महासभाको बिदाइ सम्बोधनमा एन्टोनियो गुटेरेसले महासचिवका रूपमा बिताएको आफ्नो कार्यकालको स्मरण गरे । उनका शब्दमा यो यस्तो दशक थियो, जसमा घोर क्रूरतासाथ युद्ध लम्बिए । सर्वसाधारणलाई निसानामा पारियो । मानव अधिकारको उल्लंघन गरियो । भोकमरीलाई हतियार बनाइयो । मानवीय सहायताकर्मीको हत्या गरियो । अन्तर्राष्ट्रिय कानुनलाई बेवास्ता गरियो ।

यो साँचो हो कि गुटेरेस र राष्ट्र संघले दशवर्षे कार्यकालमा बढ्दो कठिन चुनौतीको सामना गरे । तर, वर्षको अन्त्यमा पदबाट बिदा लिने तयारी गरिरहँदा उनको कार्यकालको मूल्यांकन कसरी गरिनुपर्छ ? हाल विश्वमा ६५ वटा सशस्त्र द्वन्द्व चलिरहेका छन्, जुन सन् १९४६ यताकै उच्च संख्या हो । राष्ट्र संघ सुरक्षा परिषद्का दुई स्थायी सदस्य राष्ट्र (रुस र अमेरिका)ले नै राष्ट्र संघको बडापत्र उल्लंघन गर्दै युद्ध सुरु गरेका छन् । प्रविधि विज्ञहरूले कृत्रिम बुद्धिमत्ताले मानव अस्तित्व नै समाप्त पार्न सक्ने चेतावनी दिइरहेका छन् । तीव्र गतिमा भइरहेको जलवायु परिवर्तनले पनि अस्तित्वकै लागि खतरा खडा गरेको छ । त्यसो त राष्ट्र संघका कुनै पनि महासचिवले यी सबै संकट समाधान गर्न सक्दैनथे । तर, ऐतिहासिक परिप्रेक्ष्यमा गरिने तुलना गुटेरेसको पक्षमा देखिँदैनन् ।

संयुक्त राष्ट्र संघका दोस्रो महासचिव स्विडेनका ड्याग ह्यामरसोल्डले पनि विश्वव्यापी तनावपूर्ण समयमा आफ्नो जिम्मेवारी सम्हालेका थिए । शीतयुद्धका बाबजुद उनले राष्ट्र संघको शान्ति स्थापना कार्यको सुरुवात गरे । कंगोमा जारी रक्तपातपूर्ण पृथकतावादी संघर्ष अन्त्य गर्न वार्ताको प्रयास गरिरहँदा सन् १९६१ मा भएको विमान दुर्घटनामा परी उनको निधन भयो । राष्ट्र संघका सातौँ महासचिव घानाका कोफी अन्नानले सन् २००० को दशकको सुरुवाती चरणमा आफ्नै कूटनीतिक कौशल प्रयोग गरी महत्वपूर्ण सुधार गरे ।

गुटेरेसअघिका शान्त स्वभावका दक्षिण कोरियाली नेता बान कि–मुनले पनि ‘मानव अधिकारलाई प्राथमिकता’ दिने एजेन्डा अघि सारेका थिए । यसअन्तर्गत राष्ट्र संघका फिल्ड कर्मचारीलाई औपचारिक शिष्टाचार वा कार्यविधिका बन्धनमा नअल्झिन र पीडितका पक्षमा आवाज उठाउन निर्देशन दिइएको थियो । राष्ट्र संघ एक जटिल प्रक्रिया भएको संस्था भए पनि उनका तर्फबाट सक्दो पहल भएका थिए । उल्लेखनीय पक्षहरूको कुरा गर्दा गुटेरेसलाई युक्रेन र रुसबिच सन् २०२२ को ‘ब्ल्याक सी ग्रेन इनिसिएटिभ’ (कृष्ण सागर अन्न सम्झौता) गराउन भूमिका खेलेको, राष्ट्र संघमा महिलालाई उच्च पदमा पुर्‍याउन प्रोत्साहन गरेको, सशक्त जलवायु कूटनीति अघि बढाएको तथा एआईले निम्त्याउने जोखिम र सम्भावनासम्बन्धी बहसमा विश्वव्यापी दृष्टिकोण समावेश गरेकोमा सम्झना गरिनेछ । तर, यसका नकारात्मक पक्ष भने निकै निराशाजनक छन् । राष्ट्र संघलाई तिर्नुपर्ने चार अर्ब अमेरिकी डलरबराबरको बक्यौता रकम अमेरिकाले नदिँदा उत्पन्न आर्थिक अभावका कारण गुटेरेस बजेट कटौती गर्न बाध्य भए ।

राष्ट्र संघको ८०औँ वार्षिकोत्सवका अवसरमा यसको संरचना पुनर्गठन र कार्यप्रणालीलाई चुस्त बनाउन गुटेरेसले मार्च २०२५ मा सुरु गरेको सुधार प्रक्रिया संस्थाको नैतिक दृष्टिकोणलाई नयाँ दिशा दिनुभन्दा पनि कर्मचारी कटौती गर्ने प्रशासनिक कदमजस्तो देखिन्छ । यस क्रममा सयौँ राष्ट्रसंघीय कर्मचारीले रोजगारी गुमाए भने मानवीय सहायताका लागि आवश्यक कोषको अभावमा विश्वभरका लाखौँ मानिस भोकमरीको चपेटामा पर्ने अवस्था छ । सबैभन्दा दुःखद कुरा त के छ भने गुटेरेस युक्रेन, म्यानमार, सुडान र गाजामा जारी द्वन्द्व अन्त्य गर्न असफल रहे । 

न्युयोर्कस्थित राष्ट्र संघको मुख्यालयमा पुग्नुअघि गुटेरेसले पोर्चुगलका प्रधानमन्त्री (सन् १९९५–२००२) र त्यसपछि राष्ट्र संघको शरणार्थीसम्बन्धी उच्चायुक्त (सन् २००५–२०१५) का रूपमा सेवा गरेका थिए । संयुक्त राष्ट्र संघको महासचिव पदका लागि उनको उम्मेदवारी मुख्यतया जेनेभामा उच्च आयुक्तका रूपमा उनले कमाएको प्रतिष्ठामा आधारित थियो ।

गुटेरेसको नेतृत्वमा सिरिया र अन्य स्थानमा देखिएका मानवीय संकट सामना गर्न राष्ट्र संघको शरणार्थीसम्बन्धी निकायमा व्यापक संरचनात्मक परिवर्तन गरिए । गुटेरेसलाई एक ऊर्जावान् र सुधारवादी व्यक्तिका रूपमा हेरिन्थ्यो । उनले शरणार्थी शिविरको भ्रमण गरे र विश्वका सबैभन्दा जोखिममा रहेका समुदायको पक्षमा वकालत गर्ने एक प्रभावकारी व्यक्तित्वका रूपमा चिनिए । तर, सन् २०१६ मा गुटेरेस महासचिवमा नियुक्त भएयता उत्पीडन, द्वन्द्व र अत्याचारका कारण विस्थापित हुने मानिसको विश्वव्यापी संख्या ६ करोड ५६ लाखबाट बढेर लगभग ११ करोड ८० लाख पुगेको छ । यसमा चार करोड ५० लाख बालबालिका पनि समावेश छन्, जो हाल शरणार्थी जीवन बिताइरहेका छन् ।

मलाई सन् २०१८ मा न्युयोर्कस्थित राष्ट्र संघको मुख्यालयमा गुटेरेससँग भएको एउटा भेटघाटको सम्झना छ । मानव अधिकारका विषयमा छलफल गर्न मलाई नागरिक समाजका अन्य धेरै वरिष्ठ प्रतिनिधिसँगै त्यहाँ आमन्त्रित गरिएको थियो ।  कुराकानीका क्रममा मैले भनेको थिएँ कि गुटेरेसको मूल्यांकन सर्वसाधारणको रक्षा गर्ने र मानवताको विवेकलाई नै झकझक्याउने खालका अत्याचार रोक्ने उनको क्षमताका आधारमा तय गरिनेछ । उनले गम्भीरतापूर्वक सहमति जनाउँदै टाउको हल्लाए ।

जब उनी ३१ डिसेम्बरमा राष्ट्र संघको ३८औँ तलाबाट लिफ्टमार्फत तल हरियो मार्बलजडित लबीमा ओर्लनेछन्, तब उनले बर्लिनको पर्खाल ढलेयताकै सबैभन्दा कमजोर अवस्थामा रहेको राष्ट्र संघलाई छाड्नेछन् । यो विश्व संस्थालाई बचाउने हो भने राष्ट्र संघका आगामी महासचिवले वाचा र कार्यसम्पादनबिचको त्यो घातक खाडल पुर्न अझ बढी प्रयास गर्नुपर्नेछ ।

(एडम्स मर्डोक विश्वविद्यालयका मानव अधिकारसम्बन्धी प्राध्यापक हुन्)

द कन्भर्सेसनबाट

↑