
मानवीय गतिविधिका कारण पछिल्लो समय बर्दियामा चराहरूको संख्या कम हुन थालेको छ । चराको संख्या कम हुँदै गएपछि किसानहरू चिन्तित बनेका छन् । चराले खेतबारीमा पाइने किराफट्यांग्र्रा, मुसा, धमिरा खाने भएकाले चराले कृषि उत्पादनलाई बढाउन मद्दत गर्छ । गुलरिया नगरपालिका– ४ का ७२ वर्षीय कालु थारूले विगत वर्षको तुलनामा अहिले चरा धेरै कम भएको बताए । ‘म सानो छँदा घरवरिपरि, खेतबारीमा धेरै चरा देख्न पाइन्थ्यो । तर, अहिले चरा पाइनै छोडेको छ,’ उनले भने, ‘२० वर्षअगाडि हलो जोत्दा होस् वा धान–गहुँबारीमा जाँदा होस्, धेरै चरा आउने गर्दथे । खेतबारी पाइने धमिरा, कमिलालगायतका किराफट्यांग्रा खान्थे । तर, अहिले खेतमा चरा देख्नै पाइँदैन । पहिला चरा आएर खाने किरा मार्न अहिले विषादी प्रयोग गर्नुगरेको छ ।’
चराको संख्या घट्दै गएपछि किराफट्यांग्रा बढ्दै गएको छ । राजापुर नगरपालिका– ७ भिम्मापुरका ४७ वर्षीय पहाडी थारूले चराको संख्या घट्दै गएपछि किराफट्यांग्रा बढ्दै गएको बताए । विगत वर्षमा जताततै पाइने चरा अहिले छिटपुट रूपमा मात्र देख्न पाइने उनले बताए । ‘पहिलाजस्तो बालबालिका गुलेली लिएर चरा मार्न गएको पाइँदैन, तर चराका संख्या घट्दै गएको छ । खेतबारीमा विषादी प्रयोग गर्न थालेपछि नै चराको संख्या घटेको हो । पहिला जति मात्रा विषादी प्रयोग गरेर किराफट्यांग्रा मर्ने गर्थे, अहिले त्यति मात्राले पुग्दैन । खेतबारीमा प्रयोग भएका विषादीकै कारण चराको संख्या कम हुँदै गएको हो,’ उनले भने ।
पछिल्लो समय नेपालमा पाइने चराको प्रजाति बढे पनि चराको संख्या घट्दै गएको छ । चराको संख्या घट्दै गएकोमा पन्छीविज्ञहरू चिन्तित बनेका छन् । बर्दियामा २६ वर्षदेखि निरन्तर रूपमा जलपक्षी तथा हिउँदे आगन्तुक चरा गणना गर्दै आएका नेपाल पक्षीविद् संघका केन्द्रीय सदस्य चराविज्ञ एवं पानी चरा गणना बर्दिया संयोजक रामबहादुर शाहीले चराहरूकको संख्या घट्दै जानु चिन्ताको विषय भएको बताए ।
‘मानवीय गतिविधिका कारण पनि चरा घट्दै गइरहेको छ,’ उनले भने, ‘चालू आर्थिक वर्ष ०८१/८२ को हिउँदमा ९३ प्रजातिका तीन हजार ८८९ जलपक्षी गणना गरिएको छ । आव ०८०/८१ मा ९० प्रजातिका तीन हजार २०४ जलपक्षी गणना गरिएको थियो भने ०७९/८० मा ९४ प्रजातिका दुई हजार १२६ जलपक्षी गणना गरिएको छ ।’ दुई वर्षयता हिउँदे आगन्तुक चराको संख्या बढे पनि अन्य चराकोे संख्या घटेको उनले बताए ।
नेपालमा आठ सय ९७ प्रजातिको चरा पाइन्छ । बर्दियामा मात्र पाँच सय १३ प्रजातिको चरा फेला परेको तथ्यांक बर्दिया राष्ट्रिय निकुञ्जसँग छ । तर, पछिल्लो समय जलवायु परिवर्तन, चराको प्राकृतिक वासस्थानको विनाश आहाराको कमी र विषादीको बढ्दो प्रयोग, डिजेबाजा र पर्यावरणमा परेको असरका कारण चराको वासस्थान संकटमा पर्दै गएकाले चराको संख्या घटिरहेको शाहीले बताए । पछिल्लो समयको विकास निर्माण वातावरणमैत्री हुन नसक्दा चराहरूको वासस्थान संकटमा परेको छ । नदीले धार परिवर्तन गर्ने, बिजुलीका तारले चराहरू संकटमा पार्दै गएका छन् । ‘चराको महŒव नबुझ्दा धेरैले चरालाई शत्रुका रूपमा लिने गर्छन्, तर किसानको साथी हो भनेर बुझाउन जरुरी छ,’ उनले भने, ‘चराको संरक्षण गरे खेतबारीमा लाग्ने किराफट्यांग्रा मार्न विषादी प्रयोग गर्नुपर्दैन ।’
नेपाल पन्छीविद् संघका कार्यकारी निर्देशक लक्ष्मण पौड्याल चराले किराफट्यांग्रा खाएर तथा पराग सेचन गरेर किसानलाई सहयोग गर्ने गरेको बताउँछन् । परापूर्वकालदेखि मानिस र चरा सँगसँगै बस्दै आएको उनको भनाइ छ । ‘घडीको आविष्कार नहुदासमेत चराको चिरबिर र कुखुराको डाँकसँगै मानिसहरू उठ्ने गर्दथे । काफल पाकेको संकेत इयिनन कुकु चरीले गर्दछ । कर्याङकुरुङ चरा बसाइँसराइ गरेर आउँदा तरकारी लगाउने समय भएको मानिसले थाहा पाउने गर्थे । यसरी जानेर वा नजानेर मानिसले चराबाट धेरै ज्ञान आर्जन गरेको छ,’ उनले भने । चराले खेतबारीमा लाग्ने किराफट्यांग्रा खाने, खेतबारीमा पराग सेचन गर्न सहयोग गर्ने, एक ठाउँमा पाइने बोटबिरुवा अर्को ठाउँमा लैजान पनि चराले मद्दत गर्ने गरेको पौडेलले बताए ।