१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १५ सोमबार
  • Monday, 28 April, 2025
रासस सियोल
२o८२ बैशाख १५ सोमबार १५:o८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

उत्तर कोरियाले पनि स्विकार्‍यो रुस–युक्रेन युद्धमा संलग्नता

Read Time : < 1 मिनेट
रासस, सियोल
नयाँ पत्रिका
२o८२ बैशाख १५ सोमबार १५:o८:oo

उत्तर कोरियाले रुसमा सैनिक तैनाथ गरेको पहिलोपटक पुष्टि गरेको छ। सोमबार सरकारी समाचार एजेन्सी केसिएनएले प्योङयाङका सैनिकहरूले मस्कोलाई रुसी सीमा क्षेत्र कुर्स्कमा युक्रेनको नियन्त्रणमा रहेको क्षेत्र पुनः प्राप्त गर्न मद्दत गरेको जनाएको हो।

यो स्वीकारोक्ति रुसले उत्तर कोरियाको सहभागिता पुष्टि गरेको केही दिनपछि आएको हो। दक्षिण कोरियाली र पश्चिमी गुप्तचर एजेन्सीहरूले लामो समयदेखि प्योङयाङले गत वर्ष कुर्स्कमा मद्दत गर्न १० हजारभन्दा बढी सैनिक पठाएको जनाएका थिए।

‘हाम्रो सशस्त्र बलका उपइकाइहरू कोरियाली जनवादी गणतन्त्रका राज्य प्रमुखको आदेशअनुसार कुर्स्क क्षेत्रहरूलाई मुक्त गर्ने अभियानमा सहभागी भएका थिए,’ उत्तरको केन्द्रीय सैन्य आयोगले केसिएनए रिपोर्टमा भनेको छ।

उत्तर कोरियाली नेता किम जोङ उनको सेना तैनाथ गर्ने निर्णय आपसी रक्षा सन्धिअनुसार भएको बताइएको छ। ‘न्यायका लागि लड्नेहरू सबै वीर र मातृभूमिको सम्मानका प्रतिनिधि हुन्,’ केसिएनएले किमलाई उद्धृत गर्दै भनेको छ।

किमले राजधानीमा ‘युद्धका उपलब्धिहरू’को स्मारक चाँडै निर्माण गरिने बताए र युद्धमा उत्तर कोरियाली सैनिकहरू मारिएको सार्वजनिक रूपमा पुष्टि गर्दै ‘मारिएका सैनिकहरूको चिहानहरू’को उल्लेख गरे।

‘देशले युद्धका पूर्वसैनिकहरूका परिवारलाई विशेष सम्मान र हेरचाह गर्न महत्त्वपूर्ण राष्ट्रिय उपायहरू अपनाउनुपर्छ,’ उनले भने। 

शनिबार रुसी प्रमुख स्टाफ भ्यालेरी गेरासिमोभले उत्तर कोरियाली सैनिकहरूको ‘वीरता’को प्रशंसा गरेका थिए। उनका अनुसार उत्तर कोरियाली सैनिकहरूले युक्रेनी सशस्त्र बलको समूहलाई पराजित गर्न महत्त्वपूर्ण सहयोग प्रदान गरे।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले सोमबार एक नियमित प्रेस ब्रिफिङमा उत्तर कोरियाको सेनाको तैनाथीले संयुक्त राष्ट्र सुरक्षा प्रस्तावहरूको उल्लंघन गरेको बताएको छ। ‘यसलाई आधिकारिक रूपमा स्वीकार गरेर (उत्तर कोरियाले) आफ्नै आपराधिक कार्यहरू स्वीकार गरेको छ,’ उनीहरूका प्रवक्ताले भने।