१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १४ आइतबार
  • Sunday, 27 April, 2025
टेकराज थामी काठमाडाैं
२o८२ बैशाख १४ आइतबार ११:५५:oo
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सामाजिक सुरक्षा भत्तामा पनि भ्रष्टाचार

Read Time : > 4 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख १४ आइतबार ११:५५:oo
  • कानुनविपरीत पेन्सनसँगै वृद्धभत्ता पनि बुझेकाहरूले आफ्नै मृत्यु प्रमाणपत्र बनाएर श्रीमतीलाई विधवा देखाई भत्ता दिलाएका प्रमाण भेटिए 

नेपाल प्रहरीको प्रहरी निरीक्षकबाट अवकाश प्राप्त रौतहट दुर्गाभगवती गाउँपालिका–३ मत्सरीका ७२ वर्षीय रेवन्त झाले पेन्सन र वृद्धभत्ता बुझेकै थिए । स्थानीय तहबाट आफ्नै मृत्युदर्ता प्रमाणपत्र पनि बनाए । श्रीमती भारती देवीलाई विधवाको प्रमाणपत्र दिलाउन सफल भए । भारतीलाई पनि एकल महिला भत्ता दिलाउन सफल भए । बैंकमा खोलिएको खातामार्फत् भारतीले ०७६ देखि अनवरत एकल महिला भत्ता बुझिन् । 

सरकारी शिक्षण पेसाबाट अवकाश प्राप्त हुन्, दुर्गाभगवती गाउँपालिका–३ मत्सरीका रामदेव चौधरी । नेपाल सरकारबाट अनवरत पेन्सन बुझिरहेका उनले वृद्ध भत्तासमेत लिए । यतिले नपुगेर उनले पनि आफ्नै मृत्युदर्ता प्रमाणपत्र बनाए । स्थानीय प्रशासनबाट श्रीमती वैदेही देवीलाई विधवाको प्रमाणपत्र दिलाए । यही प्रमाणपत्रका आधारमा वैदेहीले ०७६ देखि निरन्तर एकल महिला भत्ता बुझिन् । रामदेवले पेन्सन र वृद्धभत्ता फरक–फरक बैंकमा खोलिएका खाताबाट बुझ्थे । एकल महिला भत्ताका लागि श्रीमतीकै नाममा बैंक खाता खोलेका थिए । 

दुर्गाभगवती गाउँपालिका– ३ कै हुन्, ६० वर्षीय अमरकान्त झा । मतदाता नामावलीमा उनको जन्म मिति ११ पुस ०२० उल्लेख छ । तर, सामाजिक सुरक्षा भत्ता लिने ढड्डामा उनको जन्म मिति १ चैत ००२ छ । उनले वृद्ध भत्ता लिने उद्देश्यले आफ्नो जन्म मिति १८ वर्ष बढाएका थिए । पूर्ववडाध्यक्ष श्यामकान्त झाका बुबा अमरकान्तले ०७६ देखि नै वृद्धभत्ता बुझ्दै आएका थिए । 

दुर्गाभवती गाउँपालिका–३ कै ईश्वरनाथ झाले पनि आफ्नो जन्म मिति पाँच वर्ष बढाएर १० असोज ००५ बनाई सोही आधारमा वृद्ध भत्ता बुझे । त्यस्तै, वडा कार्यालयबाट आफ्नै मृत्युदर्ता प्रमाणपत्र बनाए भने श्रीमती निर्मलादेवी ब्राह्मणीलाई पनि विधवाको प्रमाणपत्र बनाएर एकल महिला भत्ता पाउने बनाए । ईश्वरनाथ वर्तमान वडाध्यक्ष धर्मेन्द्रकुमार झाका श्रीमतीका हजुरबुबा हुन् । 

दुर्गानाथ गाउँपालिकाका अनुसार गलत विवरण पेस गरेर वृद्ध, एकल महिला तथा दलित भत्ता लिनेको संख्या ३ नं. वडामा मात्रै १९८ भन्दा धेरै छ । जसमध्ये २० जनाले केही महिनाअघि मात्रै गलत कागजातका आधारमा लिइएको सामाजिक सुरक्षा भत्ता फिर्ता गरेका छन् । यो तथ्य दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भुकुमार सिंहले स्वीकार गरे । 

उनले भने, ‘गलत विवरण पेस गरेर केही स्थानीयले सामाजिक सुरक्षा भत्ता बुझेका रहेछन् । उजुरी परेलगत्तै यस विषयमा अनुसन्धान भयो । जसमध्ये केही दोषी देखिए । उनीहरूमध्ये केहीले त्यस्तो भत्ता फिर्ता गरिसकेका छन् । केहीको भने फिर्ता हुन बाँकी छ । यसमा वडा कार्यालयले आवश्यक पहल गरिरहेको छ ।’

गलगत विवरण पेस गरेर सामाजिक सुरक्षा भत्ता बुझेको पाइएपछि दुर्गाभगवती गाउँपालिकाका स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । छानबिनका क्रममा अख्तियारले गत १३ असोजमा विभिन्न १८ व्यक्तिको विवरण उपलब्ध गराउन गाउँपालिकालाई निर्देशन दिएको थियो । निर्देशनपछि गाउँपालिकाले आर्यदेवी ब्राह्मणी, निर्मलादेवी बाहुनी, नैनावती मालिन, पुनम देवी, फुशंकरकुमारी देवी, भगवनिया देवी मालिनी, मन्दोदरी देवीलगायत १८ जनाको विवरण अख्तियारमा पेस गरेको थियो । जसमध्ये अधिकांशले सामाजिक सुरक्षा भत्ता फिर्ता गरेको गाउँपालिकाका अध्यक्ष सिंहले बताए । 
उनले भने, ‘गलत विवरण पेस गरी सामाजिक सुरक्षा भत्ता बुझेको भन्दै अख्तियारमा उजुरी परेको रहेछ । अख्तियारले हामीकहाँ पनि पत्र पठाएको थियो । उनीहरूमध्ये अधिकांशले बुझेको सामाजिक सुरक्षा भत्ता फिर्ता गरेका छन् ।’

तर, सामाजिक सुरक्षा भत्तामा दुरुपयोग गर्नेविरुद्ध अख्तियारले मुद्दा भने दायर गरेको छैन । भत्ता फिर्ता गरिसकेको भन्दै मुद्दा अघि नबढेको र हाल तामेलीमा राखिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । 

उनले भने, ‘दुर्गाभवती गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता दुरुपयोग भएको उजुरी हामीकहाँ परेको हो । यस सन्दर्भमा अख्तियारले सम्बन्धित निकायसँग सोधपुछ पनि गरेको हो । जसले सामाजिक सुरक्षा भत्ता बुझे, उनीहरूले तिरोभारो (फिर्ता) गरेको बुझियो । त्यसो हुँदा मुद्दा तामेलीमा राखिएको छ,’ उनले भने, ‘यस सम्बन्धमा फेरि पनि नयाँ उजुरी आएका छन् । मुद्दालाई नयाँ ढंगले उठान गर्ने हो कि भन्ने विषयमा छलफल चलिरहेको छ ।’

रामेछापको मन्थलीमा पनि विधवा भत्ता
रामेछापको मन्थली नगरपालिका–३ का रामबाबु खत्रीले श्रीमती निर्मला खत्रीमार्फत २० जेठ ०७८ मा मृत्यु भएको भन्दै १२ असार ०७८ मा आफ्नै मृत्युदर्ता प्रमाण पत्र लिए । कानुनतः निर्मला विधवा भइन् । लगत्तै उनले वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ताका लागि निवेदन दिइन् । वडामा सचिव थिए, शिवकुमार महतो । निर्मलाले प्राप्त भत्ताको केही अंश सचिव शिवकुमारलाई पनि उपलब्ध गराउने सहमति जनाइन् । सोहीअनुसार प्रक्रिया अघि बढ्यो । उनले १६ असोज ०७८ देखि १५ माघ ०७९ सम्म भटाभट एक महिला भत्ता बुझिन् । त्यसबापत सचिव महतोलाई ६ हजार रुपैयाँ बुझाइन् । 

घटनाबारे अख्तियारमा उजुरी पर्‍यो । छानबिन थालेको अख्तियारले प्रमाण संकलनपछि विशेष अदालतमा मुद्दा हाल्योे । नभन्दै विशेषले १ फागुन ०८० मा महतो र निर्मलालाई जनही तीन–तीन महिना कैद सजायसहित १०–१० हजार रुपैयाँ जरिवाना ठहर गर्‍यो ।

सामाजिक सुरक्षाका नाममा पौने पाँच अर्ब दुरुपयोग 
सरकारकै तथ्यांकअनुसार सामाजिक सुरक्षा भत्तामा वितरण भएकोमध्ये झन्डै चार अर्ब ७१ करोड रुपैयाँ दुरुपयोग भएको देखाएको छ । सरकारले गत २४ जेठदेखि सार्वजनिक सेवा प्राप्त गर्न राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको थियो । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका अनुसार ०८०–८१ मा विभिन्न शीर्षकमा सामाजिक सुरक्षा भत्ता बुझ्नेको संख्या ३८ लाख २९ हजार ४८५ थियो । 

विगतका तथ्यांक विश्लेषण गर्दा सामाजिक सुरक्षा भत्ता बुझ्ने लाभग्राहीको संख्या सरदरमा प्रत्येक वर्ष दुई लाख नयाँ थपिने र दुई लाख घट्ने हुन्छ । तर, ०८१–८२ को भदौ मासन्तसम्म भत्ता बुझ्न नवीकरण गर्नेको संख्या ३४ लाख ९५ हजार ९०६ हुन आइपुग्यो । अर्थात्, अघिल्लो आर्थिक वर्षको तुलनामा भत्ता बुझ्नेको संख्या तीन लाख ३३ हजार ५७९ ले घट्यो । विभागको तथ्यांकअनुसार उक्त अवधिमा भत्ता लिन नयाँ थपिएको संख्या ९८ हजार थियो । यसलाई आधार मान्दा दुई लाख ३५ हजार ५७९ लाभग्राहीले सामाजिक सुरक्षा भत्ता दुरुपयोग भएको देखिन्छ । उनीहरूले पाँच सय रुपैयाँदेखि चार हजार रुपैयाँसम्म भत्ता बुझ्ने भएकाले सबै गरी चार अर्ब ७१ करोड रुपैयाँ दुरुपयोग भएको तथ्यांकबाट देखिएको विभागका महानिर्देशक युवराज कट्टेलले बताए । 

उनले भने, ‘सामाजिक सुरक्षा भत्ता बुझ्न राष्ट्रिय परिचय पत्र अनिवार्य गर्‍यौँ । त्यसलगत्तै परिचय पत्र बनाउनेको लाइन लाग्यो । सोही परिचय पत्रका आधारमा लाभग्राहीले भटाभट नवीकरण गरे । हाम्रो तथ्यांकअनुसार भत्ता लिनेको संख्या प्रत्येक वर्ष सरदर दुई लाखका दरले बढ्थ्यो । तर, यसपटक झन्डै चार लाखले घट्न पुग्यो । परिचय पत्रमा व्यवस्था गरिएको ‘बायोमेट्रिक’ विवरणले यस्तो गर्न सम्भव भयो । नत्र त त्यति ठुलो संख्याका लाभग्राहीले भत्ता दुरुपयोग गर्ने रहेछन् । यसले मुलुकको चार अर्ब ७१ करोड दुरुपयोग हुनबाट जोगायो ।’

सुरक्षा भत्ता दोहोरो लिए कारबाही हुने 
सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, ०७७ अनुसार सामाजिक सुरक्षा भत्ता बुझ्ने कुनै पनि लाभग्राहीले दोहोर सुविधा लिन पाइँदैन । यदि लिइए रकम असुलउपरदेखि बिगोबमोजिम जरिवानासमेत हुन सक्छ । कार्यविधिको दफा ३३ को उपदफा ३ मा भनिएको छ, ‘सामाजिक सुरक्षा भत्ता नपाउनुपर्ने व्यक्तिले पाएको, पाउनुपर्ने व्यक्तिले नपाएको वा अन्य अनियमितता भएको विषयमा वा ऐन, नियमावली र यस कार्यविधिबमोजिमको सुविधा प्राप्त गर्ने उद्देश्यले झुटा विवरण पेस गरी भत्ताका लागि परिचय पत्र प्राप्त गरेको वा दोहोरो भुक्तानी लिएको पाइए स्थानीय तहले भत्ता रोक्का गर्न, निश्चित समयसम्मका लागि परिचय पत्र स्थगित गर्न वा रद्द गर्न र हिनामिना वा दुरुपयोग गरेको वा कानुनबमोजिम भत्ता नपाउने व्यक्तिलाई भत्ता दिएको ठहरेमा स्थानीय तहको न्यायिक समितिले आवश्यक कारबाही गरी भुक्तानी भइसकेको रकम असुलउपर गर्ने र बिगोबमोजिम जरिवाना गर्न सक्नेछ ।’

कानुनविपरीत भत्ता दिलाउन भूमिका खेल्ने जनप्रतिनिधि, पदाधिकारी वा कर्मचारीविरुद्ध भ्रष्टचारको मुद्दा चल्न सक्छ । सोही दफाको उपदफा ४ मा भनिएको छ, ‘कुनै जनप्रतिनिधि वा पदाधिकारी वा कर्मचारीले मिलेमतो गरी वा नगरी हिनामिना, हानि–नोक्सानी वा दुरुपयोग गरेमा वा कानुनबमोजिम अयोग्य व्यक्तिलाई भत्ता वितरण गरी भष्ट्राचारजन्य कसुर गरेको देखिएमा अधिकार प्राप्त निकाय वा अधिकारीसमक्ष कारबाहीको लागि लेखी पठाउनुपर्नेछ ।’

गलत विवरण पेस गरेर सामाजिक सुरक्षा भत्ता बुझेको पाइएपछि दुर्गाभगवती गाउँपालिकाका स्थानीयले अख्तियारमा दिए उजुरी : शम्भुकुमार सिंह, अध्यक्ष, दुर्गाभगवती गाउँपालिका, रौतहट

गलत विवरण पेस गरेर केही स्थानीयले सामाजिक सुरक्षा भत्ता बुझेका रहेछन् । उजुरी परेलगत्तै यस विषयमा अनुसन्धान भयो । जसमध्ये केही दोषी देखिए । उनीहरूमध्ये केहीले त्यस्तो भत्ता फिर्ता गरिसकेका छन् । केहीको भने फिर्ता हुन बाँकी छ । यसमा वडा कार्यालयले आवश्यक पहल गरिरहेको छ ।

तर, सामाजिक सुरक्षा भत्तामा दुरुपयोग गर्नेविरुद्ध अख्तियारले मुद्दा भने दायर गरेको छैन : राजेन्द्रकुमार पौडेल, प्रवक्ता, अख्तियार दुरुपयोग अनुसन्धान आयोग
जसले सामाजिक सुरक्षा भत्ता बुझे, उनीहरूले तिरोभारो (फिर्ता) गरेको बुझियो । त्यसो हुँदा मुद्दा तामेलीमा राखिएको छ । यस सम्बन्धमा फेरि पनि नयाँ उजुरी आएका छन् । मुद्दालाई नयाँ ढंगले उठान गर्ने हो कि भन्ने विषयमा छलफल चलिरहेको छ ।