
वडा प्रहरी कार्यालय चन्द्रौटाको टोलीले स्रोत नखुलेको ४२ लाख ६३ हजार ९ सय रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
आइतबार दिउँसो कपिलवस्तुको शिवराज नगरपालिका–५, ग्यालेक्सी टोलस्थित एक घरमा विशेष सूचनाको आधारमा छापा मारेर प्रहरीले उनलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारत घर बताउने २२ वर्षीय अनिश कुमार रहेको कपिलवस्तु प्रहरीले जनाएको छ।
उक्त घरबाट पैसा गन्ने मेसिन, मोबाइल, विभिन्न कागजातसमेत प्रहरीले नियन्त्रणमा लिएको छ। वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सुजन शाहका अनुसार बरामद रकम हुन्डीलगायत अवैध कारोबारसँग सम्बन्धित हुन सक्ने आशंका गरिएको छ।
पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।