१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १४ आइतबार
  • Sunday, 27 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख १४ आइतबार २o:o७:oo
Read Time : < 1 मिनेट
समाचार

ससुराको हत्यामा संलग्न ज्वाइँ २० वर्षपछि पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख १४ आइतबार २o:o७:oo

ससुराको हत्यामा संलग्न दाङ तुलसीपुर- ­६, बरुवागाउँका ४२ वर्षीय वीरबहादुर गुरुङ २० वर्षपछि पक्राउ परेका छन्। गुरुङले १४ साउन ०६२ मा ससुरा ३५ वर्षीय काशीराम विकको हत्या गरेका थिए। 

उनलाई इलाका प्रहरी कार्यालय दाङ तुलसीपुरले शुक्रबार तुलसीपुर उमनपा­-१२, टरिगाँउस्थित शुभलक्ष्मी पोल्टिफार्मबाट पक्राउ गरेको हो। फार्मका सञ्चालक बहालवाला प्रहरी हवल्दार हुन्। गुरुङ चार वर्षदेखि उक्त फार्ममा सवारीचालकका रूपमा काम गर्दै आएका थिए। सूचनापछि इप्रका तुलसीपुरको टोली घटनास्थल पुगेको थियो। सोही क्रममा पक्राउ परेका इप्रका तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीले बताए। 

उनले भने, ‘काशीराम विकको हत्यामा संलग्न वीरबहादुर लुकिछिपी बसेको सूचना आयो। घटनाको अनुसन्धानमा प्रहरी सक्रिय भयो। सोही क्रममा उनी एक पोल्टिफार्ममा कार्यरत रहेको देखियो। भेरिफाई गर्दा सूचना सही रहेको खुल्यो। त्यसपछि उनलाई पक्राउ गरिएको हो।’

कानुनअनुसार कर्तव्य ज्यानसम्बन्धी कसुरमा पीडितले जाहेरी दिने हदम्याद २० वर्षसम्मको छ। उनीविरुद्ध जोहरी दिने हदम्याद आगामी १४ साउनमा सकिँदै थियो। त्यसो हुँदा उनी ढुक्कले बहालवाला हवल्दारको पोल्टिफार्ममा चार वर्षदेखि कार्यरत थिए। त्यसअघि उनी भारतमा लुक्दै आएका थिए। घटनाको १५ वर्षपछि उनी नेपाल फर्केका थिए। 

प्रहरीका अनुसार उनले मदिराको सुरमा ससुरा काशीरामको हत्या गरेका थिए। घटनाकाे दिन उनी ससुराली गएका थिए। खाना खाने क्रममा ससुरा काशीराम र सासू शोभा विकबिच विवाद भएको थियो। विवाद कुटपिटमा बदलिएपछि वीरबहादुरले ससुरा काशीरामलाई सम्झाउन खोजेका थिए। तर, नसकेपछि उनले काशीरामलाई कुटपिट गरेका थिए। सोही चोटका कारण काशीरामको उपचारका क्रममा मृत्यु भएको थियो। काशीरामका दुईवटा श्रीमती थिए। जसमध्ये वीरबहादुर काशीरामकी जेठी श्रीमतीतर्फका छोरीज्वाइँ हुन्।