१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १५ सोमबार
  • Monday, 28 April, 2025
कमलराज भट्ट काठमाडाैं
२o८२ बैशाख १५ सोमबार o६:१२:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

‘भाटभटेनीमा रक्सी लुट्ने’ सहमहामन्त्रीका छोराको संसद्मा खोजी

Read Time : > 3 मिनेट
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख १५ सोमबार o६:१२:oo

कांग्रेस सांसदहरूले १५ चैतमा राजावादी प्रदर्शनको वेला भाटभटेनी कम्प्लेक्स लुट्ने सहमहामन्त्रीका छोराको विवरण माग गरेका छन् । १२ वैशाखको प्रतिनिधिसभा बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सत्तारूढ दलको सहमहामन्त्रीको छोरा लुटपाटमा संलग्न रहेको र गृह प्रशासनको दबाबमा छोडिएको भनेर दिएको अभिव्यक्तिमा कांग्रेस सांसदले ती व्यक्तिको खोजी गरेका हुन् । 

प्रतिनिधिसभाको आइतबार बसेको बैठकको आकस्मिक समयमा कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले सहमहामन्त्री पद आफ्नो पार्टीमा मात्रै प्रचलनमा रहेको भन्दै स्पष्ट पार्न राप्रपा अध्यक्ष लिङ्देनलाई अनुरोध गरे । ‘सत्तारूढ सहमहामन्त्री भन्दा कांग्रेसमा मात्रै सहमहामन्त्री भन्ने चलन छ । अन्य पार्टीमा सहमहामन्त्री भन्ने प्रचलन छैन । त्यसकारण कांग्रेसलाई इंगित गरेको हो भनेर बुझ्न गाह्रो भएन,’ उनले भने, ‘सहमहामन्त्री हाम्रो आठजना हुनुहुन्छ । कुनचाहिँ सहमहामन्त्रीको कुनचाहिँ छोराले रक्सीको बोतल बोकेर हिँड्नुभएको हो, त्यो प्रमाणित गर्नका लागि आग्रह गर्न चाहन्छु ।’

प्रमाणित गर्न नसके लिङ्देनले आफ्नो शब्द फिर्ता लिनुपर्ने र क्षमायाचना गर्नुपर्ने घिमिरेको भनाइ छ । ‘कसैलाई व्यक्तिगत वा सामूहिक रूपमा र पार्टीलाई पनि लाञ्छित गरेर बोल्न पाइँदैन । त्यो रेकर्डबाट हटाउनुपर्छ,’ उनले भने, ‘यस्ता किसिमका झुटा अभिव्यक्ति दिएर एउटा पार्टीको केन्द्रीय अध्यक्षले आफ्नो गरिमा घटाउनुभएको छ । म उहाँलाई आग्रह गर्दछु– यथाशीघ्र उहाँले त्यो व्यक्ति को हो रोस्टमबाट स्पष्ट पार्नुपर्छ । होइन भने क्षमा माग्नुपर्छ । र, रेकर्डबाट हटाउनुपर्छ ।’

कांग्रेस सांसद चन्दा चौधरीले पनि विशेष समयमा बोल्दै रक्सी चोरेको कसले हो प्रस्ट पार्न भनिन् । ‘सहमहामन्त्रीको छोराले रक्सी चो¥यो भनेर भन्नुभएको छ । म चुनौती दिन चाहन्छु–प्रमाणसहित यही सदनमा कुन पार्टीको कुन सहमहामन्त्रीको छोराले चोरेको हो प्रस्ट पार्नुस् । को चोर हो यहाँ ल्याएर उभ्याउनुपर्‍यो । होइन भने यो सदनको रेकर्डबाट हटाइयोस्,’ उनले भनिन् । 

कांग्रेसकै मुक्ताकुमारी यादवले राप्रपाका अध्यक्षले कांग्रेसलाई इंगित गरी सहमहामन्त्रीको छोरा भाटभटेनी लुटपाटमा संलग्न भएको भनेको जिकिर गरिन् । ‘तपाईंहरू लुट्न गएको वेला कुनचाहिँ सहमहामन्त्रीको छोरा लुट्न गएको थियो ? स्पष्ट पार्नुस्,’ उनले भनिन्, ‘प्रमाणित गर्न सकिन्न भने यहाँ उभिएर माफी माग्नुस् । होइन भने त्यो वाक्यांश गलत हो भनेर रेकर्डबाट हटाइयोस् ।’

कांग्रेसबाट प्रश्न उठेपछि राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सहमहामन्त्रीका छोरा संलग्न रहेको विषय खुला रहेको बताए । ‘हाम्रो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सत्तारूढ दलका सहमहामन्त्रीका छोराले भाटभटेनीमा रक्सी चोरे भन्नुभयो । कसले चोरे भन्नुभएको छैन । पहिला एउटा कथन थियो, चोरलाई खुट्टा काट भनेपछि खुट्टा लुकाउँथ्यो रे । आज संसद्मा त्यही भयो,’ उनले भने । 

सरकारले आफ्नो आयु होइन, उपलब्धिको चर्चा गरोस् : रास्वपा
प्रतिनिधिसभाको विशेष समयमा रास्वपाका मनीष झाले प्रधानमन्त्रीबाट बारम्बार सरकार ढल्दैन भन्ने सुनिएको भन्दै सरकार ढल्न नहुने बताए । ‘हामी प्रतिपक्षी बेन्चबाट भन्छौँ कि सरकार ढल्नुहुँदैन । यो सरकार नढलोस् । यो गठबन्धन अझै लामो समय निरन्तर गइराखोस् । सरकारले आफ्नो आयुको भन्दा उपलब्धिको चर्चा धेरै गरोस्,’ उनले भने, ‘सरकारले यति महिनामा यो–यो गरेँ भनेर परिणाम सुनाउँदा अझै राम्रो हुन्छ ।’ 

सत्तारूढ दलले सातबुँदे बिर्सिए पनि आफूहरूले फरक रूपमा सम्झिराखेको झाले बताए । ‘पहिलो सहकारीको समस्या समाधानको नाममा नयाँ आएको दलको नेतालाई थुन्ने, दोस्रो स्थानीय तहलाई सहजीकरण गर्ने नाममा बालेनहरूलाई अवरोध गर्ने, तेस्रो आफ्नो मान्छे नियुक्त गर्ने नाममा काम गरिरहेको कुलमानहरूलाई लखेट्ने, चौथो गभर्नर नियुक्ति दक्षता, क्षमताका आधारमा भन्दा पनि कुन कोटामा कुन बिचौलियाको घरबाट आएर कुन नामलाई नियुक्ति गर्ने,’ उनले भने, ‘पाँचौँ सदनलाई सक्रिय बनाउनुको साटो सकेसम्म कम समय सञ्चालन गर्ने, छैटौँ विभिन्न पक्षलाई राजनीतिका लागि सडकमा आउन दिने, योअनुसार त सरकार सफल भइसक्यो,’ उनले भने । सांसद झाले कार्यकर्ता र बिचौलिया खुसी पार्नेभन्दा राष्ट्रव्यापी रणनीति बनाएर बजेट ल्याउन सरकारलाई सुझाव पनि दिए । 

 १२ वैशाखको प्रतिनिधिसभा बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भनेका थिए– हामीसँग त रेकर्ड छ गृहमन्त्रीज्यू, भाटभटेनीको लुटपाटमा सत्तारूढ पार्टीको, तपाईंको पार्टीको सहमहामन्त्रीको छोरा पक्राउ परेको छ । किन छाड्नुभयो तुरुन्तै ? तपाईंको नेताको छोराले रक्सी लिएर गयो, उसले ल्याएको मान्छेले म रक्सी खान्नँ, मलाई कपडा काम लाग्छ भनेर कपडा लिएर गयो । पछि थाहा भयो– तपाईंको पुलिसले भिडियो हेरेर पक्रियो, तर पक्रिँदा त नेताको छोरा रहेछ । नेताको छोरालाई छाड्नुभयो, ल्याएको मान्छे छुटेन । पछि यो कुरा सार्वजनिक गरिदिन्छु भनेर धम्क्याएपछि दुई घण्टापछि छोड्नुभयो । त्यसकारण यो सत्य–तथ्य सार्वजनिक हुन जरुरी छ ।

कांग्रेस सांसदले मागे लिङ्देनसँग प्रमाण
 श्यामकुमार घिमिरे प्रमुख सचेतक, कांग्रेस

सत्तारूढ सहमहामन्त्री भन्दा कांग्रेसमा मात्रै सहमहामन्त्री भन्ने चलन छ । अन्य पार्टीमा सहमहामन्त्री भन्ने प्रचलन छैन । त्यसकारण कांग्रेसलाई इंगित गरेको हो भनेर बुझ्न गाह्रो भएन । सहमहामन्त्री हाम्रो आठजना हुनुहुन्छ । कुनचाहिँ सहमहामन्त्रीको कुनचाहिँ छोराले रक्सीको बोतल बोकेर हिँड्नुभएको हो, त्यो प्रमाणित गर्नका लागि आग्रह गर्न चाहन्छु । कसैलाई व्यक्तिगत वा सामूहिक रूपमा र पार्टीलाई पनि लाञ्छित गरेर बोल्न पाइँदैन । त्यो रेकर्डबाट हटाउनुपर्छ । यस्ता किसिमका झुटा अभिव्यक्ति दिएर एउटा पार्टीको केन्द्रीय अध्यक्षले आफ्नो गरिमा घटाउनुभएको छ । म उहाँलाई आग्रह गर्दछु– यथाशीघ्र उहाँले त्यो व्यक्ति को हो रोस्टमबाट स्पष्ट पार्नुपर्छ । होइन भने क्षमा माग्नुपर्छ । र, रेकर्डबाट हटाउनुपर्छ ।

कांग्रेस सहमहामन्त्रीका छोरा 
पक्राउ नपरेको प्रहरीको स्पष्टीकरण 

जिल्ला प्रहरी परिसर, काठमाडौंले आइतबार विज्ञप्ति जारी गर्दै भनेको छ– ‘विभिन्न सञ्चारमाध्यमहरूबाट तीनकुने घटनामा नेपाली कांग्रेसका सहमहामन्त्रीका छोरा पक्राउ गरी विनाकारबाही छाडिएको’ भन्ने प्रेषित समाचारहरूमा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । सो सन्दर्भमा, त्यस्तो कुनै पनि व्यक्तिलाई यस परिसर तथा मातहत कार्यालयहरूबाट नियन्त्रणमा लिइएको भन्ने समाचारमा कुनै सत्यता नरहेको व्यहोरा सम्पूर्णमा जानकारी गराइन्छ ।