
काठमाडौं महानगरपालिकाले वर्गीकरण गरेर फोहाेर व्यवस्थापन गर्न थालेपछि अन्तिम व्यवस्थापन स्थल बन्चरेडाँडा लगिने फोहाेर घटेको छ। फोहाेर व्यवस्थापन थप सहज र प्रभावकारी बनाउने भन्दै अहिले महानगरले ३२ वडामध्ये १० वटा वडामा वर्गीकरण गरिएको फोहाेर अन्तिम व्यवस्थापनको कार्य थालेको छ।
फोहाेर वर्गीकरणअघि महानगरबाट दैनिक २० गाडी फोहाेर बन्चरेडाँडा जाने गरेको थियो। अहिले फोहाेरको मात्रा घटेसँगै दैनिक १५ गाडी मात्रै लाने गरेको कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले जानकारी दिइन्। हाल वडा नं. १२, १८, १९, २०, २१, २२, २३ २४, २५ र २७ मा स्रोतमै फोहाेर वर्गीकरण गरेर मात्रै व्यवस्थापनको काम भइरहेको छ।
विभाग प्रमुख राईका अनुसार अहिले कामपाले ६ वटा क्षेत्र निर्धारण गरेर फोहाेर व्यवस्थापनको काम थालेको छ। उनका अनुसार प्रत्येक क्षेत्रमा एक–एकवटा ‘ट्रान्फरस्टेसन’ निर्माण गरी उक्त स्थानमा केही समयका लागि फोहाेर राखिने र त्यसपछि अन्तिम व्यवस्थापनका लागि ‘ल्यान्डफिल साइट’ बन्चरेडाँडा लगिनेछ।
त्यसका लागि कामपाले ३२ वटा वडालाई भौगोलिक र जनसंख्याका आधारमा क्षेत्र निर्धारण गरी स्रोतमा नै वर्गीकरण गरिएको फोहाेर मात्रै व्यवस्थापन गर्ने कार्य थालिसकेको छ।
काठमाडौं उपत्यकाको १८ स्थानीय तहमा उत्पादित फोहाेर ‘ल्यान्डफिल साइट’ बन्चरेडाँडा लैजाँदा उक्त स्थानमा प्रदूषण बढ्नाका साथै फोहाेरमैला संकलन ढुवानीमा खर्च बढ्ने भएकाले वर्गीकृत फोहाेर क्षेत्र निर्धारण गरेर व्यवस्थापन गर्न लागिएको राईको भनाइ छ।
फोहाेरमैला व्यवस्थापन ऐन, २०६८ तथा काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ अनुसार फोहाेर स्रोतमै वर्गीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ। हाल काठमाडौं उपत्यकाको १८ स्थानीय तहबाट दैनिक एक हजार ६ सय मेट्रिक टन फोहाेर उत्पादन हुने गरेको छ।