
ताप्लेजुङको मेवाखोलामा बन्दै गरेको युनाइटेड मेवाखोला हाइड्रोपावरबाट करिब डेढ महिनामा बिजुली उत्पान हुने भएको छ । मेरिङदेन गाउँपालिकामा निर्माणाधीन ५० मेगावाटको मेवाखोला जलविद्युत् आयोजनाको काम करिब सकिएको म्यानेजर ओमप्रकाश चौधरीले बताए । उनका अनुसार आयोजनाको काम समग्रमा ९९ प्रतिशत सकिएको छ ।
आयोजनाको लागत नौ अर्ब रहेको छ । भदौ ०७८ बाट निर्माण सुरु गरिएको आयोजना ०८१ असोजभित्र सम्पन्न गर्ने समय थियो । अब आगामी चैत १५ सम्ममा राष्ट्रिय प्रसारणलाइनमा जोड्ने लक्ष्य रहेको चौधरीको भनाइ छ । निर्माणाधीन यस आयोजनाको साधारण सेयर (आइपिओ) निष्कासनका लागि सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अगुवाइमा सहवित्तीयकरण सम्झौतामा हस्ताक्षर भएको छ । कुमारी बैंक, मेगा बैंक नेपाल, नेपाल इन्फ्रास्ट्रचर बैंक, सिद्धार्थ बैंक, नेपाल एसबिआई बैंक र सिभिल बैंकसहित सात बैंकले सात सय करोड रुपैयाँ र ६ सय ७५ करोड आवधिक कर्जा र २५ करोड चालू पुँजी कर्जा ऋण लगानीमा निर्माण भइरहेको बताइएको छ ।
आयोजनाबाट हिउँदमा ९७.४२४ मेगावाट घण्टा र बर्खामा २०५.५८७ गिगावाट गरी वार्षिक ३०३.०११ मेगावाट घण्टा विद्युत् उत्पादन हुने बताइएको छ ।