
एभरेष्ट बैंकले कोशी प्रदेशका पहाडी जिल्लामा दुई शाखा सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकलाई अत्याधुनिक र विश्वासिलो बैंकिङ सेवा–सुविधा उपलब्ध गराउने गरी पाँचथरको फिदिममा र ताप्लेजुङको फुङलिङमा शाखा सञ्चालनमा ल्याएको हो । बैंकले ८ फागुनमा फिदिम नगरपालिका वडा नं १ मा १३०औँ र ९ फागुनमा फुङलिङ नगरपालिका वडा नं ४ मा १३१औँ शाखाको औपचारिक उद्घाटन गरेको छ ।
दुवै शाखाको उद्घाटन समारोहमा बैंकका तर्फबाट सञ्चालक किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्मा र कोशी प्रदेशका प्रमुख सुधीर गौतमका साथै फिदिम शाखामा फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले र फुङलिङमा सोही नगरपालिकाका प्रमुख अमिर मादेनलगायतको उपस्थिति थियो । फिदिम र फुङलिङमा शाखा सञ्चालनमा आएसँगै बैंकले पाँचथर र ताप्लेजुङ जिल्लाका नागरिकलाई सरल, सहज र प्रविधिमैत्री सेवा दिने प्रतिबद्धता जनाएको छ ।
शाखा सञ्चालन गरेसँगै ती क्षेत्रको आर्थिक गतिविधिमा थप योगदान पुग्न गई समग्र आर्थिक विकासमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ । साथै, आगामी दिनमा बैंक पुग्न नसकेको तथा वित्तीय पहँुचबाट बाहिर रहेका अन्य स्थानमा समेत शाखा विस्तार गर्दै जाने योजना रहेको बैंकले जनाएको छ ।
बैंकले देशभरका एक सय ३१ शाखा सञ्जाल, चार एक्सटेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय तथा एक सय ६७ एटिएमबाट वित्तीय सेवा दिँदै आइरहेको छ ।