माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैज्ञानिक समाजवाद मान्ने राजनीतिक शक्तिहरूसँग एकताको पहल गर्ने र आगामी निर्वाचनमा एक्लै लड्ने प्रस्ताव गरेका छन् । राजधानीमा आइतबार सुरु केन्द्रीय समिति बैठकमा प्रचण्डले राजनीतिक, सांगठनिक र योजनागत प्रतिवेदन प्रस्तुत गर्दै वैज्ञानिक समाजवादी शक्तिसँग एकताको प्रस्ताव गरेका हुन् ।
चुनौतीपूर्ण बाटोबाट सम्भावनायुक्त बाटोतर्फ माओवादी अघि बढिरहेको उल्लेख गर्दै प्रचण्डले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, महेन्द्र राय यादव नेतृत्वको नेसपा, प्रभु साह नेतृत्वको आम जनता पार्टी, नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपा र धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमतसँग एकताका लागि पहल गर्ने प्रस्ताव गरेका छन् । उनको प्रस्तावमा समाजवादी मोर्चालाई प्रभावकारी बनाएर लैजाने नीति पनि समेटिएको छ । तर, प्रतिवेदनमा कांग्रेस, एमालेसहित कुनै पनि पार्टीबारे विश्लेषण छैन ।
कांग्रेस वा एमालेसँग गठबन्धन नगरी आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने प्रस्ताव गर्दै प्रचण्डले सोहीअनुसार तयारी गर्नुपर्नेमा जोड दिएका छन् । ‘हामी बिस्तारै महाधिवेशनतिर जाँदै छौँ । बृहत् विश्लेषण पछि नै हुन्छ । अहिले हामीले यति भनेका छौँ– आगामी चुनावमा एमाले र कांग्रेसजस्ता पार्टीसँग मिलेर चुनाव लड्दैनौँ, एक्लै चुनाव लड्छौँ,’ प्रचण्डले भनेका छन्, ‘वैज्ञानिक समाजवाद मान्नेहरू राजनीतिक शक्तिहरूसँग एकताको पहल गर्छौँ । समाजवादी शक्तिसँग सहकार्य हुन्छ र दलाल पुँजीवादविरुद्ध आन्दोलन गर्छौँ ।’
समाजवादी शक्तिसँग सहकार्य गर्ने र दलाल पुँजीवादविरुद्ध आन्दोलन गर्ने नीति माओवादीले लिएको छ । सरकारका गलत कामको विरोध गर्ने, सुशासनको पक्षमा देशव्यापी अभियान चलाउने, माओवादी नेतृत्वको अघिल्लो सरकारले गरेका काम जनताबिच लैजाने प्रस्ताव प्रतिवेदनमा गरिएको छ । यस्तै, नेता–कार्यकर्तालाई उत्पादनसँग जोड्दै आम्दानीसमेत पारदर्शी गर्ने नीति माओवादीले लिने भएको छ । नेता–कार्यकर्ताको आम्दानी र स्रोतलाई व्यवस्थित गर्ने प्रस्ताव गरिएको छ । केन्द्रीय नेताहरूले पार्टीलाई सम्पत्ति विवरण बुझाउनुपर्ने प्रचण्डको प्रस्ताव छ ।
प्रचण्डले माओवादीप्रति देशैभरि सकारात्मक मनोविज्ञान पैदा भएको बताउँदै यथास्थितिबाट अगाडि बढेर जनतातिर फर्किने प्रस्ताव गरेका छन् । ‘अहिले देशैभरि सकारात्मक भाव पैदा भएको छ । हामी अब यथास्थितिबाट अगाडि बढ्नुपर्छ । र, जनतातिर फर्कनुपर्छ,’ प्रतिवेदनमा उल्लेख छ । जनताकेन्द्रित अभियानहरू सञ्चालन गर्ने प्रस्ताव प्रतिवेदनमा गरिएको छ । १ फागुनदेखि एक महिना हुलाकी राजमार्गलाई आधार बनाएर तराई–मधेश जागरण अभियान र अर्को एक महिना पूर्व–पश्चिम राजमार्गलाई आधार बनाएर अभियान सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । प्रस्तावअनुसार अभियानमा अध्यक्षसहित सबै पदाधिकारी सामेल हुनेछन् । उपत्यका विशेष अभियानका साथै अन्य अभियानहरू पनि चलाउँदै जाने प्रस्ताव छ ।
प्रतिवेदनमा विज्ञान र प्रविधिमा जोड दिइएको छ । युवा–वैज्ञानिक सम्मेलन आयोजना गर्ने प्रस्तावसमेत प्रचण्डले गरेका छन् । विश्व बहुध्रुवतिर जाँदै गरेको विश्लेषण पनि प्रचण्डले गरेका छन् । पहिला पश्चिमाको एकध्रुवीय परिस्थिति थियो भने अब बिस्तारै आन्ध्र महासागर हुँदै हिन्द महासागरतिर शक्ति सर्दै गरेको प्रतिवेदनमा छ ।
संविधान संशोधनको चर्चा चलिरहँदा प्रमुख प्रतिपक्ष दल माओवादीले राज्यका हरेक निकायमा महिला सहभागिता ५० प्रतिशत पु¥याउने प्रस्ताव गरेको छ । प्रचण्डको प्रस्तावमा दलित र मुस्लिमलाई विशेषाधिकार दिने उल्लेख छ । ‘महिला अधिकार ३३ बाट बढाएर ५० प्रतिशत पु¥याउन पहल गर्ने तथा दलित र मुस्लिमको विशेषाधिकार लागू गर्न संविधान संशोधनको एजेन्डामा समावेश बनाउने प्रस्ताव छ,’ उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले भने ।
अग्रगमन र परिवर्तनको पक्षमा मात्रै संविधान संशोधन गरिनुपर्नेमा माओवादीले जोड दिएको छ । पहिला संविधानको राम्रोसँग कार्यान्वयन र त्यसपछि अग्रगमन र परिवर्तनको पक्षमा जनताको अधिकार अझ विस्तार गर्ने गरी संविधान संशोधनको छलफल, बहस अघि बढाउने प्रस्ताव प्रतिवेदनमा गरिएको छ । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको विषय माओवादीले अघि सारेको छ ।
टिआरसी विधेयक पारित भए पनि आयोगका पदाधिकारी सिफारिस हुन नसकेको भन्दै प्रचण्डले टिआरसी आयोग गठनमा जोड दिएका छन् । यसका लागि पार्टीले थप पहल गर्ने प्रचण्डको प्रस्ताव छ ।