मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १७ बुधबार
  • Friday, 03 January, 2025
कमलराज भट्ट काठमाडाैं
२o८१ पौष १७ बुधबार o६:२४:oo
Read Time : > 6 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

०८४ मा ‘जेन–जी’ निर्णायक

Read Time : > 6 मिनेट
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८१ पौष १७ बुधबार o६:२४:oo

देशको शासन कार्यशैलीप्रति असन्तुष्ट र प्रश्न गर्न रुचाउने यो पुस्ताको हस्तक्षेप राजनीतिक पारदर्शिता र असल शासन व्यवस्थाका लागि बन्न सक्छ कोसेढुंगा

१६ मंसिरमा भएको उपनिर्वाचनका लागि निर्वाचन आयोगले गरेको अद्यावधिक मतदाता नामावली सूचीअनुसार देशभर एक करोड ८१ लाख २८ हजार ८३२ मतदाता छन् । त्यसमा ९२ लाख २५ हजार ४४८ पुरुष, ८९ लाख तीन हजार १९७ महिला र १८७ अन्य छन् । र, आयोगको तथ्यांकअनुसार १८ देखि ३० वर्ष उमेर समूहका ३७ लाख ८७ हजार ९१६ मतदाता कायम छ । प्रतिशतमा हेर्दा यो कुल मतदाताको २०.८९ प्रतिशत हो ।

कुल मतदाताको झन्डै २१ प्रतिशत ओगटेको जेन–जी पुस्ताभित्र अंकगणितकै हिसाबले पनि निर्णायक शक्ति हो । त्यसमाथि देशको शासन–व्यवस्थाप्रति असन्तुष्ट र राजनीतिक चेतनाभन्दा आफ्नो समूहभित्रको छलफलबाट प्रभावित हुने यो पुस्ता आगामी ०८४ निर्वाचनमा निर्णायक हुने हैसियतमा छ । यो पुस्तालाई पूर्णतः प्रविधिमा निर्भर मानिन्छ । प्रविधिले निर्वाचनमा परम्परागत प्रणाली र प्रवृत्तिलाई धक्का दिन सक्ने आकलन अन्तर्राष्ट्रिय अध्येताको छ । 

अन्तर्राष्ट्रिय मापदण्डअनुसार सन् १९९७ देखि २०१२ सम्म जन्मिएका युवालाई जेन–जी (जेनेरेसन जेड) पुस्ता भनिन्छ । नेपाली क्यालेन्डरअनुसार ०५३ पुसदेखि ०६९ पुससम्म जन्म भएको पुस्ता यो समूहभित्र पर्छ । कुल मतदाताको हिसाबले हेर्दा ०८४ को चुनावमा यो पुस्ता निर्णायक हुने अनुमान गर्न सकिन्छ । 

यो पुस्ताको ज्येष्ठ सदस्यको उमेर ०८४ मा ३० वर्ष पूरा हुनेछ भने सन् २०१२ (वि.सं. ०६९) मा जन्मिएको कान्छो सदस्यको उमेर ०८४ मा १५ वर्ष पुग्नेछ । निर्वाचन कानुनअनुसार मतदाता बन्न १८ वर्ष उमेर पुगेको हुनुपर्छ । जेन–जी पुस्ताभित्र २०६७ (सन् २०१०) सम्म जन्मिएकाहरू १८ वर्ष पुगेर मतदाता बन्न योग्य हुनेछन् । त्यसबाहेक ०६८ र ०६९ सम्म जन्मिएकाहरू आफैँ मतदाता नभए पनि निर्वाचनको परिणाममा प्रभाव पार्न सक्छन् । 

त्यसो त यो पुस्ताले गत ०७९ को स्थानीय तह एवं संघीय र प्रदेश निर्वाचनमा समेत आफ्नो उपस्थिति देखाइसकेको छ । संघीय राजधानीमा जहाँ शिक्षित मतदाता रहेको मानिन्छ यहाँबाट बालेन शाह मेयरमा निर्वाचित भए । युवाहरूको उनीप्रति धेरै सद्भाव रह्यो । धरानमा हर्क साम्पाङ र धनगढीमा गोपी हमाल मेयर निर्वाचित भए ।

वैकल्पिक राजनीतिको नारा बोकेर आएको राष्ट्रिय स्वतन्त्र पार्टीले आमनिर्वाचनमा ११ लाख मत प्राप्त गर्‍यो । ०७९ मा परम्परागत राजनीतिलाई धक्का दिएको जेन–जी पुस्ताको हस्तक्षेप ०८४ मा अझ बढी हुने विश्लेषकहरूको आकलन छ । 

०७९ को चुनावमा जेन–जी पुस्ता आधा संख्या मात्रै मतदानमा प्रत्यक्ष सहभागी भयो । सन् २००४ अर्थात् ०६१ सालसम्म जन्मिएका मात्रै मतदान योग्य थिए । ०७९ को निर्वाचन परिणाम प्रभाव पार्न जेन–जी पुस्ताको उल्लेख्य भूमिका रहेको जानकार बताउँछन् । 

०७९ को निर्वाचन प्रचारदेखि मतदानसम्मका अभ्यासमा हस्तक्षेपकारी भूमिका खेल्दै यो पुस्ताले केही नयाँ मानक पनि स्थापित गरेको छ । परम्परागत शक्तिको जनाधार घट्नु, नयाँ वैकल्पिक शक्तिप्रति आकर्षण देखिनु, मतदानमा वयस्क पुस्तालाई रूपान्तरण हुन बाध्य पार्नेलगायतमा यो पुस्ताको भूमिका मानिन्छ । ०८४ को चुनावमा भने यो पुस्ता पूर्ण रूपमा नै सहभागी भई नतिजा प्रभावित पार्न सक्ने तथ्यांकले नै देखाउँछ । 

राष्ट्रिय तथ्यांक कार्यालयको प्रतिवेदनले अबको निर्वाचनमा निर्णायक शक्ति जेन–जी पुस्तालाई नै देखाउँछ । कार्यालयको १२औँ राष्ट्रिय जनगणना ०७८ को विवरणअनुसार नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ मध्ये ४२.५५ प्रतिशत युवा छ । यसभित्र जेन–जी पुस्ता पनि पर्छ । 

जनगणना प्रतिवेदनअनुसार १६ देखि ४० वर्ष उमेर समूहको एक करोड २४ लाख १२ हजार १७३ जनसंख्या छ । जसमा पुरुष ५८ लाख २२ हजार २९१ छ । महिला ६५ लाख ८९ हजार ८८२ छ । यसैगरी, जेन–जी समूहभित्र पर्ने १६ देखि २४ वर्ष उमेरको जनसंख्या ५१ लाख ४२ हजार ३३६ जनसंख्या छ । जसमा पुरुष २४ लाख ८९ हजार ७९१ र महिला २६ लाख ५२ हजार ५४५ छ । 

समग्र युवा पुस्ताको मतदाता संख्या भने तुलनात्मक रूपमा बढिरहेको आयोगको तथ्यांक छ । आयोगको असार १८ देखि ४० वर्षको युवा उमेर समूहको मतदाता संख्या ४५.५ प्रतिशत छ । तर, तथ्यांकअनुसार जेन–जी पुस्ताको मतदाता संख्या घट्दै गएको छ । यसमा ठुलो समूह वैदेशिक शिक्षा वा रोजगारीमा जाने गरेको छ । 

यी सबै तथ्यांकमाथि नजर राखेका नेपाली समाजका अगुवा जेन–जी पुस्तालाई ०८४ को निर्वाचनमा निर्णायक मान्छन् । १५–३० वर्षसम्मको जेन–जीसँगै ४० वर्षसम्मको तन्नेरी पुस्ताका मतदाता निर्वाचनको नतिजादेखि देशलाई कुन दलको हातमा सुम्पिने भन्नेसम्म निर्णायक रहने विज्ञहरूको मत छ । 

त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक एवं समाजशास्त्री केशव सिलवाल इन्टरनेटको यो पुस्ताले परिवर्तन खोजेको र ०८४ मा पुरानो दललाई मत हाल्ने अवस्था नरहने टिप्पणी गर्छन् । ‘जेन–जी राजनीतिलाई बेवास्ता गर्ने पुस्ता हो । यस पुस्तामा पुरानो राजनीतिक ढर्रा र पार्टीप्रति वितृष्णा छ । ०८४ मा पुरानो पार्टीलाई भोट देलान् जस्तो देखिँदैन,’ उनी भन्छन्, ‘उनीहरू राजनीतिलाई आलोचनात्मक ढंगले हेरिरहेका छन् । परिवर्तन चाहन्छन्, त्यो पनि आफ्नै दृष्टिकोणबाट । भिन्न किसिमको समाज, संस्कृति र राजनीति खोजिरहेको छ ।’

अहिले सत्ताा र शक्तिमा भएका राजनीतिक पार्टीभन्दा अलग पार्टीलाई नै भोटिङ गर्न सक्ने उनको आकलन छ । तीव्र रूपान्तरण चाहने जेन–जी पुस्ताको रुचिबारे फरक ढंगले सोच्नुपर्ने उनको राय छ । ‘यो अन्तर्राष्ट्रिय परिवेशमा घुलमिल हुन खोज्ने पुस्ता हो,’ उनले भने, ‘विगतका परिवर्तन तथा बाटो र पुल बनाउने कुरामा यो समूह आकर्षित छैन ।’ 

जेन–जी पुस्ताले के खोजिरहेको छ भनेर अनुसन्धान नै गरेका युवा राजनीतिज्ञ मिलन पाण्डे यो पुस्ताले आर्थिक रूपमा आत्मनिर्भर हुन खोजेको, तर अहिलेको राजनीतिक, सामाजिक र आर्थिक अवस्थाले नदिएको बताउँछन् । ‘बाहिर गयो भने पसिनाको कमाइ पाउँछ, यहाँ २० हजारमा किन समय खेर फाल्ने भन्ने बुझाइ छ,’ पाण्डे सुनाउँछन् । यो पुस्ताले पढाइसँगै जागिरको सुनिश्चितता खोजेको छ । जेन–जी ग्लोबलाइज हुन चाहन्छ । स्वतन्त्र हुन चाहन्छ ।’ 

पाण्डे वैकल्पिक मतको रूपान्तरणको अभियान ०७० देखि प्रारम्भ भएर ०८१ सम्म बढेर आइरहेको उल्लेख गर्दै भन्छन्, ‘यो घट्नेवाला छैन । यसको पावर अफ कम्पाउन्ड झन् बढ्दै जान्छ । यो ०८४ मा देखिन्छ । तर, कता च्यानलाइज गर्ने, कस्तो डिरेक्सन दिने भन्ने चुनौती छ । तर, समग्रतामा वैकल्पिक राजनीतिको मत बढ्छ । ०८४ मा यो पुस्ता निर्णायक हुनेछ ।’ समग्र प्रणालीगत झन्झटका कारण युवापुस्ता देश छोड्न बाध्य भइरहेको भन्दै पाण्डे सुधार जरुरी भएको बताउँछन् । ‘यो पुस्ताले बुवाआमालाई त मान्दैन भने नेता, कर्मचारी मान्छ त ?’ उनी प्रश्न गर्छन् । यो पुस्ताले शिक्षा र स्वास्थ्य प्रणाली पनि खोजेको छ । 

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत ०८४ को चुनावमा जेन–जी पुस्ताको हस्तक्षेप बढेर जाने बताउँछन् । जेन–जी पुस्ताको चासो र हस्तक्षेपले ०७९ मा लामो जेल बसेको, संघर्ष गरेको र पार्टी जीवनको शृंखलाबद्ध अभ्यास गरेका मानिस नेता बन्ने चलन भत्किएको र सामाजिक सञ्जालका विभिन्न माध्यममा छाएका मानिसहरू रातारात नेता भएको उल्लेख गर्दै बस्नेत भन्छन्, ‘०८४ मा उनीहरू आफू स्वयं मात्र होइन, आफ्नो परिवार र समाजलाई समेत प्रभावित गर्ने ठाउँमा पुग्नेछन् ।’

तर, उनीहरूले पार्ने प्रभाव सबै अर्थमा सकारात्मक नै मात्र हुन्छ भन्ने ग्यारेन्टी नभएको बस्नेतको चिन्ता छ । ‘यो पुस्तालाई सत्य र तथ्यभन्दा बढी भाइरलवाला विषयले गाँजिरहेको देखिन्छ । यसका नकारात्मक आयामबाट बच्नका लागि सूचना प्रविधि साक्षरता, मिडिया साक्षरता र डिजिटल साक्षरता बढाउनु आवश्यक छ,’ उनले भने । जेन–जी पुस्तामार्फत राजनीति र निर्वाचनमा युवा सहभागिता र सचेतना गुणात्मक रूपले बढेको भन्दै बस्नेतले थपे, ‘जेन–जी पुस्ताले आगामी चुनावमा धेरैको हिसाब बिगार्न सक्छ र नयाँ हिसाब कायम गर्न सक्छ । यो पुस्ताले खेल्ने निर्णायक भूमिकाका कारण दलहरूले यथेष्ट स्पेस दिने बाध्यतासमेत पैदा हुन्छ ।’ 

सांसद विराजभक्त श्रेष्ठ जेन–जी पुस्ताको चेतनाको स्तर बढिरहेको तर मिसइन्फर्मेसन, डिसइन्फर्मेसन र प्रपोगान्डा बढी भएकाले कन्फ्युजन पनि धेरै रहेको बताउँछन् । ‘नवप्रवर्तनमा केन्द्रित यो पुस्ताले नीति र प्रक्रियागत समस्या भोगिरहेको छ । यो परिवेशमा ०८४ को चुनाव परिवर्तनको समय बन्नेछ,’ उनी भन्छन्, ‘तीन दशक देश दलको दलदलमा फसेको हो । दलभित्र पनि राम्रा मान्छे छन् । सचेतनाको हिसाबले ०८४ निर्णायक हुन्छ । जसले परिवर्तन र रूपान्तरणलाई भेटाउँछ ।’

गान्धी आदर्श मावि काँडाधारीकी शिक्षिका तारा सापकोटा प्लस टुसम्मका विद्यार्थीको दृष्टिकोण निर्वाचन र राजनीतिप्रति जिज्ञासु नै देखिने बताउँछिन् । ‘तर, निराशा ज्यादा छ । निर्वाचनको सवालमा मतदान गर्ने चाहना छ । मतदान गर्नुपर्छ भन्ने चेत छ, भोट हाल्न पाए चाहेको मान्छेलाई हाल्न पाउँथ्यौँ भन्ने छ,’ उनले भनिन्, ‘राजनीतिक रूपमा हेर्दा त्यति आकर्षण देखिँदैन । देशभित्र केही भएन भन्ने भाष्यले गाँजेको देखिन्छ । १२ पास गरेपछि भाषा सिक्ने र जापान, अस्ट्रेलिया, युरोप वा कोरिया जाने भन्छन् । अवसर छैन भन्छन् । यो विद्यालयभन्दा बाहिरै विभिन्न परिघटनाबाट बनेको धारणा हो जस्तो लाग्छ ।’ 

हामीकहाँ निर्वाचन र प्रतिनिधित्वको दृष्टिकोणले यो पुस्ताको रुचि र सहभागिता तुलनात्मक रूपमा कमजोर भइरहेको तथ्यांकले देखाउँछ । ०८१ वैशाखमा भएको उपनिर्वाचनमा २२.३३ प्रतिशत जेन–जी पुस्ताका मतदाता थिए । यसैगरी, ०८० वैशाखको उपनिर्वाचनमा २४.३६, ०७९ मंसिरको आमनिर्वाचनमा २५.२२, ०७९ वैशाखको स्थानीय तह निर्वाचनमा २५.४५ र ०७६ भदौको उपनिर्वाचनमा २६.८३ प्रतिशत मतदाता जेन–जी पुस्ताबाट थिए । 

यो पुस्ताको रुचि र सहभागिता कम हुनुको पछाडि कारण छन् । ‘पहिलो त जेन–जी पुस्तामा विदेशमोह र विदेश पलायनको ट्रेन्ड उच्च छ । उदाहरणका लागि १६ वर्ष पुगेपछि नागरिकता लिन्छ । तर, लगत्तै मतदाता नामावलीमा नाम दर्ता गर्दैन । किनभने म गइहाल्छु, चुनावको वेला कहाँ पुगिने हो, विदेश बस्नेलाई भोट हाल्ने व्यवस्था छैन, त्यसकारण मैले फोटो खिचाउन गएर डकुमेन्ट बुझाउन लाइन लागेर किन नाम दर्ता गरिरहनुपर्‍यो भन्ने मानसिकता छ । त्यसैले यो पुस्ताका उमेर पुगेका सबै व्यक्तिहरूको नाम मतदाता नामावलीमा समावेश भएको अवस्था छैन,’ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया भन्छन् । 

तर, निर्वाचन आयोगले जेन–जी पुस्तालाई मतदाता शिक्षा प्रवद्र्धनमा प्रचारको भूमिकामा प्रयोग गर्ने योजना बनाएको छ । थपलिया यो पुस्तालाई गतिलो प्रचारकको भूमिकामा प्रयोग गर्न सकिने बताउँछन् । ‘अर्काे अभियन्ता पनि हो । मत हाल्नुपर्छ, मतको महत्व छ, हामीले भोट हालेनौँ भने कसरी राम्रो हुन्छ भनेर अभियान चलाउन सक्छ । मतदाता पनि हो । कुनै हालतमा मत हाल्नुपर्छ भन्ने वातावरण बनाउन सक्छ,’ उनी भन्छन् । 

३० वर्षमुनिकी कान्छी सांसद निशा डाँगीको विश्लेषण– नयाँ पुस्ता राजनीतिमा आकर्षित हुँदै गएको छ 
नयाँ पुस्ता राजनीतिमा आकर्षित हुँदै गएको मैले पाएकी छु । मतदाताको रूपमा मात्र होइन, राजनीतिमा भविष्यको शुभचिन्तकको रूपमा र हामी पनि राजनीतिमा जानुपर्छ है भनेर एक किसिमको चेतनाको वृद्धि गरेको रूपमा पाएकी छु । यस हिसाबले पनि अब आउने चुनावमा नयाँ पुस्ताको स्वतः सशक्त उपस्थिति रहन्छ । ०७४ मै केही स्थानीय तहमा युवापुस्ताले ‘इन्ट्री’ गरिसकेको हो । ०७९ मा स्थानीय, प्रदेश र संघमा नयाँ पुस्ताको युवा आइसक्नुभयो । यो बढ्दै जान्छ । ०८४ मा तीनै तहमा युवापुस्ताको राम्रो उदय हुने देखेकी छु । संख्या र प्रतिशतको हिसाबले राम्रो सहभागिता हुने देखिन्छ । 

यो पुस्ताले मतदाताको हिसाबले पनि राजनीतिलाई राम्रोसँग अध्ययन गर्ने र आफ्नै विचार बनाएको पाएकी छु । केही समयअघिसम्म भोट दिएर के हुन्छ, किन भोट हाल्ने भनेर रुचि देखिँदैनथ्यो । तर, आजभोलि म पनि भोट दिन जान्छु, राम्रो मान्छेलाई चुनावी अभियानमा सघाउँछु भन्ने प्रतिक्रिया नयाँ पुस्तामा पाएको छु । भर्खर प्लस टु पढिरहेका भाइबहिनीमा यो मनोविज्ञान पाएकी छु । 

गाउँघर जाँदा र सहरबजारतिर पनि अन्तक्र्रिया गर्दा ‘हामी भोटरको रूपमा पनि जान्छौँ र राम्रो नेताको हकमा उहाँलाई जिताउन केही समय चुनावी अभियानमा होमिन्छौँ’ भन्ने सोच नयाँ पुस्तामा आएको छ । ‘हामी कुनै पोलिटिकल पार्टीमा नगए पनि चुनावी अभियानमा जान्छौँ’ भन्ने प्रतिक्रिया भेटिन्छ । प्लस टु र ब्याचलर पढ्ने भाइबहिनीसँग अन्तक्र्रिया गर्दा राजनीतिप्रति उहाँहरूको धारणा प्रस्ट पाएकी छु । 

म नै प्लस टुदेखि ब्याचलर पढ्दासम्म ‘पोलिटिक्स’ भनेको ‘डर्टी गेम’ हो भनेर हिँडेकी हुँ । तर, अहिले प्लस टु, ब्याचलर पढ्ने भाइबहिनीले राजनीतिप्रति परिपक्व दृष्टिकोण दिनुभएको छ । हामी ‘पोलिटिकल’ पार्टीमा नगए पनि चुनावी अभियानमा सहयोग गर्न जान्छौँ, अब जानुपर्छ भन्ने लागेको छ भन्ने उहाँहरूको प्रतिक्रिया छ । जुन हाम्रो परम्परागत शासन प्रणाली परिवर्तनमा निर्णायक हुने देखिन्छ ।