मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १७ बुधबार
  • Friday, 03 January, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ पौष १७ बुधबार o५:५५:oo
Read Time : > 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : वृद्ध पक्षीका तीन सूत्र

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ पौष १७ बुधबार o५:५५:oo

सिकारीले एउटा वृद्ध पक्षीलाई समात्यो । सिकारीको हातमा परेपछि पक्षीले भन्यो– म तिम्रा लागि कुनै कामको छैन । म निकै वृद्ध भइसकेको छु । मेरो बोली पनि मिठो छैन । मलाई लगेर गर्छौ के ? बरु मलाई छाडिदियौ भने म तिमीलाई जीवनका महत्वपूर्ण तीन सूत्र बताइदिनेछु । 

सिकारीले प्रश्न गर्‍यो– मैले छाडिदिएपछि तैँले ती सूत्र बताउने ग्यारेन्टी के छ ? वृद्ध पक्षीले भन्यो– पहिलो सूत्र त म तिम्रो हातमा छँदै बताइदिनेछु । त्यसपछि तिमीलाई काम लाग्नेजस्तो लाग्यो भने मात्र मलाई छाडिदिनू । दोस्रो सूत्र म वृक्षमा पुगेपछि बताउनेछु र तेस्रो जब म आकाशमा उड्नेछु, तब बताउनेछु । 

सिकारीले पक्षीको सर्त स्वीकार गर्दै भन्यो– ल ठिक छ, आफ्नो पहिलो सूत्र बता न त ! पक्षीले भन्यो– यति लामो जीवनमा मैले बितिसकेको कुरालाई बिर्सन नसक्ने मानिसलाई जहिल्यै दुःखी र जो बितिसकेको कुरालाई बिर्सेर वर्तमानमा जिउँछन्, तिनलाई जहिल्यै खुसी देखेको छु । यो नै मेरो पहिलो सूत्र हो । सिकारीलाई पक्षीको कुरा मन पर्‍यो र त्यसलाई छाडिदियो । पक्षी भुर्र उडेर रुखको हाँगामा बस्यो र भन्यो– जीवनमा त्यस्तो कुरामा कहिल्यै विश्वास नगर्नू, जो तर्कविरुद्ध हुन्छ, जो सामान्य बुद्धिको नियमविपरीत हुन्छ । त्यस्तो कुरामा विश्वास गरियो भने दुःख पाइन्छ । चरो आकाशमा उड्यो र उड्दाउड्दै भन्यो– मलाई छाडेर तिमीले निकै ठुलो भूल गर्‍यौ, किनकि मेरो पेटमा दुई बहुमूल्य हिरा थिए । मलाई मारेको भए तिमी अर्बपति बन्ने थियौ । यो तेस्रो सूत्र होइन, समाचार मात्र हो । 

यो सुनेपछि सिकारी बडो दुःखी देखियो । चरालाई छाडेकामा ऊ निकै पछुतायो । निराश हुँदै उसले भन्यो, जे हुनु थियो भइसक्यो, अब कमसेकम तेस्रो सूत्र त बताइदे । पक्षीले भन्यो अब तेस्रो सूत्र दिनुको अर्थ छैन । तिमीले मेरो पहिलो र दोस्रो सल्लाहलाई नै मनन गरेनौ । मानेको भए गरिसकेको गल्तीलाई सम्झेर दुःखी हुने थिएनौ । फेरि दोस्रो सूत्रमा मैले भनेको कुरा पनि तिमीले बिर्सियौ र एउटा चराको पेटमा हिरा भएको समाचारलाई सही ठानेर दुःखी भयौ । त्यसैले, तिमीलाई तेस्रो सूत्र दिनु बेकार छ । यति भनेर वृद्ध पक्षी आकाशमा बेपत्ता भयो ।