महाकाली नदीमा तटबन्ध बनाउने क्रममा भारतले निर्माण सामग्री नेपालतर्फ छिराएपछि दार्चुलामा तनाव सिर्जना भएको छ । आइतबार बिहान ११ बजे दार्चुला सदरमुकाम खलंगाको वीरेन्द्र वन क्षेत्रनजिकै भारतीय एक्स्काभेटर र चालक भास्कर पाठकलाई ६ घण्टा नियन्त्रणमा लिएर छाडिएको छ । भारत पिथौरागढ जिल्लाका अधिकारी आनन्द स्वरूप तथा धार्चुला उपजिल्ला अधिकारी अनिल शुक्लको निरन्तरको दबाबपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले अपराह्न ४ बजे चालक र एक्स्काभेटर फिर्ता पठाएको थियो ।
‘पूर्वसूचनाविनै भारतीय मेसिन नेपालतर्फ छिराएलगत्तै चालक र एक्स्काभेटर नियन्त्रणमा लिइएको हो । भारतीय अधिकारीले तारन्तार फोट गरेपछि फिर्ता पठाएका छौँ,’ दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले भने । सीमानदी क्षेत्रमा काम गर्दा आपसी समन्वय गर्नुपर्नेमा नभएको उनले बताए । नमस्कार क्षेत्र, वीरेन्द्र वन, बंगाबगड र श्रीवगडलगायतका क्षेत्रमा भारतीय सामग्री आउने गरेको उनको भनाइ छ । प्रमुख जिल्ला अधिकारी जोशी दुई देशले सीमा क्षेत्रमा काम गर्दा समन्वय गर्नुपर्नेमा एकतर्फी गर्दा समस्या उत्पन्न भएको बताउँछन् ।
धेरै ठाउँमा भारतीय पक्षले नेपालतर्फका ढुंगा आफ्नो भूमिमा सारेको छ । नेपालले ०७० को बाढीपछि आफ्नो भूमिसमेत छोडेर तटबन्ध निर्माण गरे पनि भारतले नेपालतर्फ आएर तटबन्ध निर्माण गर्दै आएको छ । महाकाली नदीको बहाव पूरै नेपालतर्फ फर्काउने काम भारतीय पक्षले गरेको दार्चुलाबासीको आरोप छ ।
दुई वर्षअघि पनि नेपाल र भारतीय पक्षबीच तटबन्ध निर्माणकै विषयमा ढुंगा हानाहान भएको थियो । अहिले पनि भारतले दार्चुलाको श्रीबगड क्षेत्रमा नेपाली पक्षले निर्माण गरेको तटबन्धमा अवरोध गरेपछि स्थानीयले प्रशासन गुहारेका थिए । दुवै क्षेत्रका अधिकारीबिच भएको छलफलपछि श्रीबगडमा तटबन्ध निर्माणमा भारतीय पक्षले अवरोध नगर्ने सहमति भएको नेपालका अधिकारी बताउँछन् । दार्चुला सदरमुकाम क्षेत्रमा भारतीय पक्षले नेपालतर्फ महाकालीको धार फर्काउने गरेको भन्दै स्थानीयले विरोध गर्दै आएका छन् । भारतीय पक्षले दार्चुला सदरमुकामको गल्फै क्षेत्रमा नदी नेपालतर्फ फर्काएको छ भने नेपालतर्फको श्रीबगर क्षेत्रमा तटबन्ध निर्माण गर्न अवरोध गर्दै आएको छ ।
स्थानीय सुरेश ठगुन्ना भारतीय पक्षले सीमा क्षेत्रमा मनलाग्दी गर्दै आएको बताए । ‘नेपालले नियन्त्रणमा लिएको मेसिन फिर्ता गर्नुहुँदैन । यो नेपालीमाथिको हेपाहा प्रवृत्ति हो,’ उनले भने । नेपालतर्फबाट स्थानीयले पटकपटक भारतीय दादागिरीको विरोध गरे पनि सरकारी पक्षको उदासीनताका कारण भारतीय पक्षले धमाधम काम गर्दै आएको नागरिक समाजका अध्यक्ष महेश भट्ट बताउँछन् । हिउँदमा महाकाली नदीमा पानीको सतह घटेको मौका छोप्दै नेपालतर्फ पानीको धार फर्काएर भारतीय पक्षले पारिपट्टि नेपालको भन्दा ठुलो तटबन्ध बनाएको छ ।