सुकुमबासीलाई प्रकाशमानको आश्वासन– चित्त बुझ्ने गरी तपाईंहरूको समस्या समाधान गर्छु

आइतबार, २७ कार्तिक, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नम्बर १ को सुकुमबासी समस्या समाधानका लागि पहल गर्ने बताएका छन्। समस्या समाधानका लागि भूमि आयोग बनेको भन्दै उनले त्यसले दिने प्रतिवेदनलाई आधार मानेर समस्याको समाधान निकाल्ने बताए। 

‘भूमि आयोगले काम सुरु गरिसकेको छ। निर्वाचन आयोगले निर्वाचनको समयमा काम रोक्नु भनेकाले अहिले रोकिएको छ,’ आइतबार बिहान थापाथलीस्थित बागमती नदी किनारको बस्तीमा आयोजित कार्यक्रममा उनले भने, ‘त्यसको प्रतिवेदन आइसकेपछि त्यसलाई अध्ययन गरेर स्थायी समाधान निकाल्छौँ।’

समस्या समाधान गर्दा जबर्जस्ती नभई भूमिहीनको पनि चित्त बुझाएर गर्ने उनले आश्वासन दिए। ‘सरकार र तपाईंहरूलाई पनि हुने गरीकन, विन–विन सिचुएसन दुवैलाई हुने गरी गर्न हामी जोड दिन्छौँ,’ नेता सिंहले भने।

मतदाताले सरकारी कार्यालयका कामकाज झन्झटिलो र ढिलो भएको भन्ने गुनासो गरेको भन्दै उनले त्यसलाई सरल र छिटोछरितो बनाउन पनि पहल गर्ने बताए।

सुझावित समाचार