निर्वाचन नजिकिँदै गएपछि दलका उम्मेदवार गाउँ–गाउँमा मत माग्न व्यस्त छन् । आफ्ना एजेन्डा सुनाउँदै मतदातामाझ पुग्ने क्रम जारी छ । उनीहरूका एजेन्डा छन्– सडक, खेलमैदान, खानेपानी, बिजुली आदि । यद्यपि, कृषकका मुद्दा निकै कम मात्र उठ्ने गरेका छन् । कृषि पेसामा आबद्ध मतदाता भने दलका उम्मेदवारसँग कृषिका एजेन्डा खोजिरहेका छन् ।
‘उम्मेदवारको एजेन्डा बाटो बनाउने हुन्छ । तर, कृषकका लागि खासै एजेन्डा ल्याउन सकेको देखेको छैन,’ बाह्रदशी– २ का कृषक वीरेन्द्र राजवंशी भन्छन्, ‘कृषक प्राथमिकता हुनुपर्ने हो । तर, अरू नै प्राथमिकता छ । कृषिप्रधान देश भनेर नेता भाषण गर्छन् । तर, कृषिलाई केही गर्दैनन् ।’ समयमा मल, बिउ नपाएर कृषकलाई समस्या भए पनि उम्मेदवारले यसलाई प्राथमिकतामा राख्न नसकेको राजवंशी बताउँछन् ।
‘कृषकले समयमा मल पाउँदैन । पैसा तिरेर मल किन्छुभन्दा पनि पाइँदैन । नेपालमा नपाएपछि पारि (भारत)बाट त ल्याउनै पर्यो । प्रहरी प्रशासनले दुःख दिन्छ । धम्की सहनुपर्छ,’ उनी भन्छन्, ‘समयमा बिउविजन पाइँदैन । अब कसरी कृषि पेसा गर्नु ? राज्यबाटै कृषक पीडित छन् ।’ किसानका यी समस्याको समाधन गर्ने उम्मेदवारलाई मात्र कृषकले भोट दिनुपर्ने राजवंशी बताउँछन् । ‘उम्मेदवारले मुखले त कृषिमा क्रान्ति गर्छौँ भन्छन् । हामीले थाहा पाएदेखिको चुनावमा यसरी नै भन्दै आएका छन् । तर, काम भने केही गर्दैनन्,’ राववंशी सुनाउँछन्, ‘उनीहरूको एजेन्डाले मात्र हामीलाई केही फरक पार्दैन । अब त काम गरेर देखाउनुपर्यो नि !’
कृषकले उत्पादन गरेको उत्पादनले बजारमूल्य पाउन सकेको छैन । राज्यले समर्थ मूल्य तोके पनि खरिद गर्ने निकाय नहुँदा कृषकले उत्पादनमा गरेको लगानीभन्दा घाटामा बेच्नुपर्ने बाध्यता छ । पटक–पटक निर्वाचित भएर गएका जनप्रतिनिधिले यी विषयमा खासै चासो नदिएको बाह्रदशी– २ का कृषक टीकाप्रसाद कोइराला बताउँछन् । ‘धान फलाउँछौँ । तर, मेरो धान यति मूल्यमा किन भनेर हामीले भन्न पाउँछौँ ? यो राज्यमा त्यो छैन नि तेरो धान यतिमा बेच भनेर व्यापारीले भन्छ । यहाँभन्दा दुःखदायी अरू के हुन सक्छ,’ उनी भन्छन्, ‘अब हाम्रो मत लिएर जाने सांसदले यो कुरा उठाउनुपर्छ कि पर्दैन ? जसले मल, बिउ र बजारको व्यवस्थापन गरिदिन्छ उसलाई नै हामी भोट दिन्छौँ ।’ चुनावका वेलामा कृषिका समस्या उम्मेदवारले जोडतोडका साथ उठाउँछन् । तर, चुनावसँगै कृषकका समस्या बिर्सिएर जाने झापा गाउँपालिकाका कृषक अमृत राजवंशी बताउँछन् ।
‘कृषकका समस्या त नेताहरूले चुनावमा मात्र देख्ने हुन् । चुनाव सकिएपछि कृषकले हाम्रो समस्या देख्दैनन् । अहिले त ठूलो स्वरमा हाम्रो लगानी कृषिमा हुनेछ भन्छन् । जितेर गएपछि बरु भ्यु टावर बनाउँछन्,’ उनी भन्छन्, ‘सिँचाइ छैन । खेतसम्म बिजुली नपुगेका कारणले जेनेटर चलाउनुपर्छ । एक लिटर तेल किन्न १८१ रुपैयाँ लाग्छ । मकैको सिजनमा किसानले एकपटक पानी लगाउन तीन हजार रुपैयाँ खर्च गर्नुपर्छ । कृषकका समस्या कसले र कहिले बुझ्ने ?’