हिमालपारिको जिल्ला मनाङमा दिनहुँ चिसो बढ्दै गए पनि चुनावी माहाेल भने तात्दै गएको छ । केही दिनअघि काठमाडौं र पोखरामा भोट माग्न व्यस्त भएका मनाङका उम्मेदवार अहिले भने गाउँ फर्केर भोट माग्दै घरदैलोमा पुगेका छन् ।
विगतका वर्षहरूमा यतिवेला मनाङवासीहरू बेँसी झर्न सुरु गरिसक्थे । काठमाडौं–पोखरा बस्दै आएका समेत यतिवेला निर्वाचनमा मतदान गर्न गाउँ फर्कन थालेका छन् । मनाङका पाल्साङ गुरुङका अनुसार चुनावले गाउँका नागरिक गाउँमै रोकिएका छन्।
चुनावपछि जाडो छल्न मात्रै काठमाडौं जाने सल्लाह भएको उनले बताए । चामे गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेका अनुसार चिसो बढ्दै गए पनि चुनावका कारण मनाङी गाउँमै रोकिएको बताए । चुनाव सकिएपछि मात्रै काठमाडौं–पोखरा झर्ने उनले बताए । उम्मेदवारहरू काठमाडाैं–पोखरामा मत मागेर गाउँ फर्किएका छन् ।
मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार मनाङीहरू चुनाव पर्खेर बसेका छन् । ‘विगतका वर्षमा कात्तिक पहिलो सातादेखि मनाङीहरू बेँसी झर्न सुरु हुन्थ्यो,’ उनले भने, ‘यसपटक भने मनाङी झरेका छैनन् । चुनाव सकेर जाडो छल्न बेँसी झर्ने तयारीमा छन् ।’
आगामी ४ मंंसिरमा हुने निर्वाचनमा सत्तागठबन्धनबाट कांग्रेसका टेकबहादुर गुरुङ, एमालेका उम्मेदवार पोल्देन छेपाङ गुरुङ र नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीले मुखिया गुरुङबीच चुनावी प्रतिस्पर्धा हुँदै छ । विगतका निर्वाचनमा मनाङवासीहरूले व्यक्तिगत सम्बन्धका आधारमा समेत मतदान गर्ने हुनाले प्रतिस्पर्धालाई रोचक रूपमा हेरिएको छ ।
अहिले एमालेका पोल्देन जितलाई दोहोर्याउने दाउमा छन् भने कांग्रेसका उम्मेदवार टेकबहादुर गठबन्धनको साथमा चुनाव जित्ने प्रयासमा छन् । उनीहरू यसअघि सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा थिए ।
०७४ को निर्वाचनमा वाम गठबन्धनबाट एमालेका पोल्देन छेपाङ गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । यसअघि पूर्वश्रम तथा रोजगार राज्यमन्त्री र कांग्रेस मनाङका सभापतिसमेत रहेका कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङलाई दुई सय ७१ मतले पछि पार्दै पोल्देन छोपाङ विजयी भएका थिए । पोल्देन छोपाङले दुई हजार तीन सय मत प्राप्त गरेका थिए भने टेकबहादुर गुरुङले दुई हजार २१ मत प्राप्त गरेका थिए ।
कांग्रेसका टेकबहादुर गुरुङ, एमालेका पोल्देन छोपाङ गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका मुखिया गुरुङ चुनावी प्रतिस्पर्धामा छन् । अहिले चुनावी प्रचारप्रसारमा उम्मेदवार व्यस्त छन् । कांग्रेसले विगतदेखि नै मनाङलाई सडक सञ्जालसँग जोड्ने एजेन्डालाई प्राथमिकताका साथ उठाउँदै आएको छ ।
प्रदेश सभा (क) तर्फ कांग्रेसका मुनिन्द्रजंग गुरुङ, एमालेका राजन गुरुङ र राप्रपाका मिफेल धिन्दु लामा प्रतिस्पर्धामा छन् । प्रदेश सभा (ख) तर्फ राजीव गुरुङ (दीपक मनाङे) निर्विरोध भइसकेका छन् । प्रतिनिधिसभा र प्रदेश सभामा जित निकाल्ने उद्देश्यसहित वाम–लोकतान्त्रिक गठबन्धन चुनावी मैदानमा छन् ।
पारिवारिक सम्बन्धप्रति प्रतिबद्ध
मनाङे पार्टी राजनीतिभन्दा पारिवारिक सम्बन्धप्रति प्रतिबद्ध हुन्छन् । विगतका चुनावमा स्वतन्त्र उम्मेदवार भएका उदाहरणले पनि पार्टीभन्दा सम्बन्धलाई प्राथमिकता दिने गरेको पुष्टि हुन्छ । गत स्थानीय चुनावमा मनाङका चार पालिकाका २७ मध्ये सात वडामा स्वतन्त्रले चुनाव जितेका छन ।
पाँच वडामा कांग्रेसका उम्मेदवार र दुईमा एमालेका उम्मेदवार निर्विरोध भएका थिए । स्थानीय तहमा एमाले र कांग्रेसले दुई-दुई गाउँपालिकामा अध्यक्ष जितेका हुन् । एमालेले मनाङ ङिस्याङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, चामे गाउँपालिकाको अध्यक्ष जितेको थियो । नार्पाभूमिमा कांग्रेसका उम्मेदवार अध्यक्षमा निर्वाचित भएका थिए भने एमालेका उपाध्यक्ष निर्विरोध भएका थिए ।
स्वतन्त्र उम्मेदवारलाई हराउँदै नासों गाउँपालिका अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादी केन्द्रले जितेका छन् । चामे गाउँपालिकामा उपाध्यक्ष कांग्रेसले जितेको छ । जिल्ला समन्वय समिति प्रमुखमा एमाले निर्वाचित भएको थियो ।
मनाङको राजनीतिलाई नजिकबाट नियालेका नासों गाउँपालिकाका पूर्वअध्यक्ष चन्द्र घले भने राजनीतिक दलबाटै टिकट पाएको हुँदा पारिवारिकजस्तो देखिए पनि प्रतिस्पर्धा दलबीच नै हुने दाबी गर्छन् ।
‘मनाङको राजनीति अन्यत्रको भन्दा फरक छ । हेर्दा पारिवारिक प्रतिस्पर्धाजस्तो देखिन्छ, तर खासमा त्यो दलबीचकै प्रतिस्पर्धा हो । दलबाटै टिकट लिने हो । चुनावी नतिजामा केही फेरबदल हुनु अलग विषय हुन्,’ उनी भन्छन् ।
मनाङमा ६ हजार सात सय ७९ मतदाता
जिल्ला निर्वाचन अधिकारी मनाङका प्रमुख पुष्पराज शर्माका अनुसार मनाङमा ६ हजार सात सय ७९ मतदाता छन् । जसमा महिला तीन हजार चार सय ९८ र पुरुष तीन हजार दुई सय ८१ छन् । प्रदेश (क) अन्तर्गत चामे र नासों गाउँपालिकामा महिला एक हजार तीन सय ७० र पुरुष एक हजार दुई सय ५४ गरी दुई हजार ६ सय २४ मतदाता छन् ।
प्रदेश (ख) को नार्पाभूमि र मनाङ ङिस्याङ गाउँपालिकामा महिला दुई हजार एक सय २८ र पुरुष दुई हजार २७ गरी चार हजार एक सय ५५ मतदाता छन् । सबैभन्दा कम नार्पाभूमि गाउँपालिकामा महिला दुई सय ६१ र पुरुष दुई सय सात गरी चार सय ६८ मतदाता छन् । नार्पाभूमि नेपालकै सबैभन्दा कम मतदाता रहेको स्थानीय तह हो ।
सडक र पर्यटन प्राथमिकतामा
कांग्रेस उम्मेदवार टेकबहादुरले मनाङ जिल्लाको सडकलाई स्तराेन्नति गर्ने, सडक सञ्जालले नजोडिएको नार्पाभूमिमा मोटरबाटो पुर्याउने, बाढीले क्षतविक्षत ताल गाउँलाई बाढीको जोखिमबाट बचाएर सुन्दर पर्यटकीय क्षेत्रका रूपमा चिनाउने एजेन्डा अघि सारेका छन् ।
त्यसैगरी, उनले मनाङको अन्नपूर्ण पदमार्गलाई वैकल्पिक पदमार्गको रूपमा विकास गर्ने, तिलिचो जाने बाटोको स्तरोन्नति गर्ने, मनाङमा उत्पादित जडीबुटीको बजारीकरण गर्ने, मनाङका युवाहरूलाई रोजगारका सीपमूलक कार्यक्रम ल्याउने, स्थानीय उत्पादनलाई प्रोत्साहन गरी अर्गानिक कृषि उत्पादन गरी नमुना जिल्ला बनाउने, गाउँपालिकासम्म पुग्ने शाखा सडकको स्तरोन्नति साथै सडक कालोपत्रे गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
एमाले उम्मेदवार पोल्देन छोपाङले मनाङ जाने सडकलाई स्तरउन्नति गर्ने, मनाङमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्याउने, कृषिलाई आधुनिकीकरण गर्ने, पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्ने, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिई स्वास्थ्य सेवाको पहुँच नपुगेको क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउने एजेन्डा अघि सारेका छन् ।
त्यसैगरी, सडक सञ्जालले नजोडिएको गाउँबस्तीमा सडक पुर्याउने, मनाङको बसोवासलाई व्यवस्थित बनाउने, जलविद्युत् मैत्री जिल्ला बनाउन पहल गर्ने, स्थानीय उत्पादनलाई बजारीकरण गर्ने उनका एजेन्डा छन् ।