निर्माण व्यवसायीको टोली माल्दिभ्स प्रस्थान

शुक्रबार, २५ कार्तिक, २०७९
डिजिटल संस्करण

एसियाली तथा पश्चिमी प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको अन्तर्राष्ट्रिय संगठन, इफाप्काको ४५औँ सम्मेलनमा भाग लिन नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डल माल्दिभ्स प्रस्थान गरेको छ । महासंघका अध्यक्ष रवि सिंहको नेतृत्वमा ६४ सदस्यीय प्रतिनिधिमण्डल माल्दिभ्स प्रस्थान गरेको हो । 

प्रतिनिधिमण्डलमा महासंघका पूर्वअध्यक्ष, पदाधिकारीहरू, कार्यसमिति सदस्यहरू र अन्य निर्माण व्यवसायीहरू रहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महासंघ प्रतिनिधिमण्डललाई महासंघका कार्यवाहक महासचिव नरहरि थपलिया, कोषाध्यक्ष हिरणकुमार श्रेष्ठलगायतले बिदाइ गरेका थिए ।

सम्मेलनको समाप्तिसँगै इफाप्का अध्यक्षको कार्यभार नेपालले सम्हाल्नेछन् । ४६औँ सम्मेलन अर्को वर्ष काठमाडौंमा हुने भएकाले माल्दिभ्स सम्मेलन नेपालका लागि महत्वपूर्ण भएको अध्यक्ष रवि सिंहले बताए । 

‘संरक्षणसहित निर्माण अझ सुन्दर विश्व बनाऔँ’ भन्ने नारासहित ४५औँ इफाप्का सम्मेलनपश्चात्  महासंघका अध्यक्ष रवि सिंहले इफाप्का अध्यक्षको कार्यभार सम्हाल्नेछन् । त्यस्तै, महासचिवको भूमिकामा महासंघका सल्लाहकार वीरेन्द्र पाण्डे रहनेछन् ।

४६औँ इफाप्का सम्मेलन अबको १२ देखि १८ महिनाभित्रमा ‘दिगो पूर्वाधारमा साझेदारी’ भन्ने नारासहित काठमाडौंमा आयोजना हुँदै छ । सन् १९५६ मा स्थापना भएको इफाप्कामा हाल नेपाल निर्माण व्यवसायी महासंघसहित १९ राष्ट्रका निर्माण संगठनहरू आबद्ध छन् ।

सुझावित समाचार