एमाले र कांग्रेसका चर्चित नेताको क्षेत्रमा १४ स्वतन्त्र उम्मेदवारको ‘इन्ट्री’ले प्रतिस्पर्धा रोमाञ्चक

काठमाडौं ५ को चुनावी प्रतिस्पर्धाले धेरैको ध्यान खिचेको छ । एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र सत्तागठबन्धनबाट कांग्रेस युवा नेता प्रदीप पौडेल मुख्य प्रतिस्पर्धामा छन् । उनीहरूलाइृ चुनौती दिन स्वतन्त्र उम्मेदवारहरू रञ्जु दर्शना, श्रीराम गुरुङ, हेमराज थापालगायत पनि मैदानमा उत्रिएका छन् ।
पोखरेल दुईपटक यही क्षेत्रबाट निर्वाचित एमालेको दोस्रो वरीयताका नेता हुन् । उनी विरासत जोगाएर ह्याट्रिक गर्ने रणनीतिमा छन् । युवामाझ लोकप्रीय कांग्रेस नेता पौडेल पोखरेललाई पराजित गरेर संसदीय राजनीतिमा ‘डेब्यु’ गर्ने योजनामा छन् । उनी चुनाव परिचालनका नयाँ–नयाँ रणनीति र योजनासहित घरदैलोमा व्यस्त छन् ।
सरकारी विद्यालयको गुणस्तर सुधार्न सार्वजनिक–निजी साझेदारी मोडलमा सञ्चालन गर्ने, क्षेत्रलाई मेडिकल सिटीका रूपमा स्थापित गर्ने, सांसद विकास कोषको रकमको सार्वजनिक अडिट गर्ने, जनप्रतिनिधिमाथि छानबिन गर्न नागरिक अगुवाको टिम बनाएर नागरिकस्तरको मूल्यांकनबाट ‘राइट टु रिजेक्ट’को व्यवस्था सुरु गर्नेजस्ता फरक र नयाँ प्रकृतिका मुद्दा पौडेलले अघि सारेका छन् ।
निवर्तमान सांसद पोखरेलले प्रतिबद्धताअनुरूप काम नगरेकाले आफ्नो जितको आधार तयार भएको पौडेलको दाबी छ । ‘मलाई विश्वास छ, यहाँबाट इमानले हार्ने र भ्रष्टाचार अनुमोदित हुने अवस्था आउँदैन,’ उनले भने, ‘यसअघिका जनप्रतिनिधिले प्रतिबद्धताअनुसार काम गर्न सकेको देखिँदैन । मतदाताकोमा पुग्दै गर्दा उहाँहरूबाट हौसला र सकारात्मक प्रतिक्रिया पाइरहेको छु, त्यसैले जित्नेमा ढुक्क छु ।’
एमाले उम्मेदवार पोखरेलले लामो समयदेखि यस क्षेत्रका जनताको सुखदुःखको साथी बनेर गर्दै आएको काम नै जितको मुख्य आधार भएको बताए । ‘लामो समयदेखि यहाँका जनताको दुःखसुखको साथी बनेर काम गर्दै आएको छु । त्यही क्षेत्रमा राजनीतिक, सांगठनिक गतिविधि गरेको छु, विकास निर्माणमा लागेको छु । त्यसैले काठमाडौं ५ मेरा लागि सुपरिचित क्षेत्र हो र जनताले पनि मलाई राम्रोसँग चिन्नहुन्छ,’ उनलेभने । पोखरेलले सामुदायिक तथा गुठी विद्यालयमा पूर्वाधार तथा शैक्षिक गुणस्तर अभिवृद्धि, युवालक्षित प्राविधिक तालिममार्फत रोजगारी सिर्जना, आधुनिक प्राविधिक शिक्षालय स्थापना, टोखा–चण्डेश्वरी अस्पतालको स्तरोन्नति, सहरी स्वास्थ्य केन्द्र स्थापना, शिवपुरी निकुञ्ज फेदमा वर्षात्को पानी संकलन गर्न ठूला पोखरी निर्माण, स्वच्छ खानेपानी वितरण, नमुना बस्तीका लागि चोकहरूमा सिसिटिभीलगायत विषयलाई प्रतिबद्धतापत्रमा अगाडि सारेका छन् ।
०७४ को निर्वाचनमा वाम गठबन्धनबाट पोखरेल २३ हजार २९ मत प्राप्त गरी विजयी भएका थिए । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेस नेता डा. प्रकाशशरण महतले १३ हजार एक सय ६९ मत प्राप्त गरेका थिए । तर, अहिलेको निर्वाचनमा माओवादी र एमालेबाट फुटेको एकीकृत समाजवादी कांग्रेस नेतृत्वको गठबन्धनमा रहेकाले पोखरेलका लागि जित निकाल्न चुनौती छ । पछिल्लो स्थानीय निर्वाचन परिणाम एमालेको पक्षमा देखिए पनि स्वतन्त्र उम्मेदवार रञ्जु दर्शना, श्रीराम गुरुङ, हेमराज थापालगायतले ल्याउने मतका आधारमा काठमाडौं ५ को जितहारको फैसला हुन सक्ने कतिपयको विश्लेषण छ । २६ वर्षीया दर्शनाले अघिल्लो स्थानीय निर्वाचनमा काठमाडौंको मेयरमा २३ हजार मत पाएकी थिइन् । उनले पनि मतदाता घरदैलो अभियान तीव्र पारेकी छिन् ।
स्थानीय तहको चुनावी हिसाब–किताब
यो क्षेत्रमा काठमाडौं महानगरपालिकाका वडाहरू २, ३, ४ र ५ तथा टोखा नगरपालिकाका वडाहरू २, ३, ४, ५, ६ र ७ पर्छन् । यस्तै, बूढानीलकण्ठ नगरपालिकाका ३, ४, ५, ६ र ७ पनि यो क्षेत्रअन्तर्गत पर्छन् । गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा महानगरका वडा नम्बर २, ३, ४, टोखाको २, ३, ४, ५ र ७, बुढानीलकण्ठको ६ र ७ नम्बर एमालेले जितेको थियो । कांग्रेसले टोखाको ६ र बुढानीलकण्ठको ४ र ५ नम्बर वडा जितेको थियो भने ३ नम्बर वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । जसअनुसार स्थानीय तहमा एमालेका वडाध्यक्षले १९ हजार सात सय ३० तथा सत्तारूढ गठबन्धनका वडाध्यक्षले १७ हजार आठ सय ४८ मत प्राप्त गरेका थिए । वडाध्यक्षहरूको कुल मतपरिणाममा गठबन्धनभन्दा एमाले एक हजार आठ सय ४८ मत अगाडि छ ।
प्रतिनिधिसभामा २९ उम्मेदवार प्रतिस्पर्धा गर्दै
काठमाडौं ५ मा एमाले, कांग्रेस, जसपा, राप्रपा, लोसपा, नेमकिपा र केही साना पार्टी तथा स्वतन्त्र उम्मेदवारसहित २९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । राप्रपाबाट डा. रामप्रसाद उप्रेती, जसपाबाट भीमबहादुर मगर, लोसपाबाट दानिन्द्र जोशी र नेमिकपाबाट शैलेश डंगोल प्रतिस्पर्धामा छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार रञ्जु न्यौपाने, सुशान्त श्रेष्ठ, विनिता अर्याल र हेमराज थापा छन् । न्यौपाने विशेषतः रञ्जु दर्शनाको नामबाट परिचित छिन् ।
स्वतन्त्रबाटै शान्तिराम पाण्डे, नारायणप्रसाद दाहाल, गोपीलाल न्यौपाने, कुमार कोइराला, कृष्णराज श्रेष्ठ, बाबुराम पोखरेल, रमेश केसी, शैलेन्द्र बस्नेत, श्रीराम गुरुङ, विजय कँडेल पनि उम्मेदवार छन् । नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादी (पुष्पलाल)बाट टिकमाया गुरुङ, नेपालवाद पार्टीबाट दीपककुमार शर्मा, जनसमाजवादी पार्टी नेपालबाट राजु विष्ट, मौलिक जरोकिलो पार्टीबाट रामकृष्ण परियार, एकीकृत शक्ति नेपालबाट दीपक सिंह, नेसनलिस्ट पिपुल्स पार्टीबाट लवली थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. प्रणयशमशेर राणा, नेपालका लागि नेपाली पार्टीबाट सागर खड्का र हाम्रो नेपाली पार्टीबाट मधुसूदन पाठक उम्मेद्वार छन् ।
प्रदेश सभामा १३ स्वतन्त्रसहित २७ उम्मेदवार
काठमाडौं ५ (क)
नारायणबहादुर सिलवाल (एमाले), भैरव सापकोटा (कांग्रेस), राजेन्द्र प्रजापति (राप्रपा), अकलमान महर्जन (नेमकिपा), शंकरबहादुर लिम्बू (जसपा), रामहरि अधिकारी (हाम्रो नेपाली पार्टी), राममोहन रिसाल (नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी लेनिनवादी), स्वतन्त्र उम्मेद्वारहरू सरस्वती कार्की उप्रेती, शान्ता कार्की, सुजा राई, रेश्मा श्रेष्ठ, सस्मित पोखरेल, मोहनबहादुर विष्ट र मोहनबहादुर खड्का ।
काठमाडौं ५ (ख)
दीपक निरौला (एमाले), श्यामबहादुर खड्का(कांग्रेस), सुसनलाल श्रेष्ठ(राप्रपा), वीरबहादुर डंगोल (नेमकिपा), जयप्रसाद गोले (जसपा), बालकृष्ण श्रेष्ठ (नेपाल कम्युनिस्ट पार्टी एकिकृत समाजवादी), विजय थापा (राप्रपा नेपाल), स्वतन्त्र उम्मद्वारहरू हरिकृष्ण श्रेष्ठ, जगन्नाथ लामिछाने, सरस्वती बस्नेत, ठूलीमाया लामा तामाङ, कृष्णबहादुर तामाङ र कमला पाण्डे ।