कम्पनीहरू मर्जरमा गएको १५ दिनपछि सेयर कारोबार खुला हुने

शुक्रबार, २५ कार्तिक, २०७९
डिजिटल संस्करण

सूचीकृत संस्थाहरू मर्जर तथा प्राप्तिमा गएर एकीकृत कारोबार सुरु गरेको १५ दिनसम्म मात्रै सेयर कारोबार रोक्का हुने भएको छ । नेपाल धितोपत्र बोर्डले बिहीबार जारी गरेको धितोपत्र दर्ता गराएका संगठित संस्था ‘एक–आपसमा गाभ्ने–गाभिने वा प्राप्तिसम्बन्धी निर्देशिका २०७९’ ले यस्तो व्यवस्था गरेको हो । संस्थाहरूको सेयर मिलान धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरणलगायतका लागि उक्त समय दिइएको हो । 

त्यस्तै, मर्जर तथा प्राप्ति सम्बन्धमा प्रारम्भिक सम्झौतालगत्तै आधारभूत सेयरधनीको मात्रै कारोबार रोक्का हुने भएको छ । सञ्चालक समितिले मर्जर र प्राप्ति सम्बन्धमा प्रारम्भिक समझदारी गरेको दिन वा भोलिपल्टको कारोबार समयअघि यस्ता सेयरधनीको कारोबार रोक्का राख्न सम्बन्धित सूचीकृत कम्पनीले बजार सञ्चालक (नेप्से) र केन्द्रीय निक्षेप सेवाप्रदायकमा जानकारी गराउनुपर्नेछ । सम्बन्धित संस्थाबीच मर्जर र प्राप्ति प्रस्ताव गरिएको साधारणसभा सम्पन्न नहुँदासम्म यस्ता सेयरधनीको कारोबार रोक्का राख्नुपर्ने भएको हो । 

यो निर्देशिका प्रारम्भ हुनुअघि मर्जर वा प्राप्तिका क्रममा सेयर कारोबार रोकिएका कम्पनीका आधारभूतबाहेकका सेयरधनीको सेयर कारोबार भने खुला गर्नुपर्ने व्यवस्थासमेत निर्देशिकाले गरेको छ । कम्पनी ऐनअनुसार २५ करोड रुपैयाँसम्म चुक्ता पुँजी भएको कम्पनीमा कम्तीमा ५ प्रतिशत सेयर भएका र २५ करोड रुपैयाँभन्दा माथिको चुक्ता पुँजी भएका कम्तीमा १ प्रतिशत सेयर भएका सेयरधनी आधारभूत सेयरधनी हुन् । मर्जर र प्राप्ति प्रस्ताव गरिएको साधारणसभामा सेयर आदान–प्रदान रेसियो (स्वाप रेसियो)समेत खुलाएर यस्तो प्रस्ताव लगेको हुनुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ । 

त्यस्तै, सूचीकृत संस्थाहरूले मर्जर तथा प्राप्तिका क्रममा स्वतन्त्र मूल्यांकनकर्ताबाट ड्यु डिलिजेन्स अडिट अर्थात् सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदन तयार गराउनुपर्नेछ । यसरी तयार भएको प्रतिवेदनको समेत आधारमा सेयर स्वाप रेसियो तय गर्नुपर्नेछ । त्यस्तै, कम्पनीहरूको प्रारम्भिक सम्झौता भएको ६ महिनाभित्र मर्जर गरिसक्नुपर्ने व्यवस्था गरिएको छ ।  सो समयमा पनि मर्जरमा जान नसकेकामा सञ्चालक समितिलाई धितोपत्र बोर्डले कारबाही गर्ने उल्लेख गरेको छ ।

३३ कम्पनीको कारोबार कहिले खुल्छ ?
धितोपत्र बोर्डले निर्देशन जारी गरेको भए पनि मर्जर प्रक्रियामा रहेर कारोबार रोक्कामा रहेका कम्पनीहरू तत्काल कारोबारमा नआउने भएका छन् । हाल मर्जर प्रक्रियामा ३३ कम्पनी रहेका छन् । १५ वटा इन्स्योरेन्स कम्पनी, आठवटा माइक्रो फाइनान्स कम्पनी, १० वटा वाणिज्य बैंक रहेका छन् । निर्देशिकाले मर्जर रोक्कामा रहेका कम्पनीलाई कारोबारमा आउन निर्देशन दिएको भए पनि सम्बन्धित कम्पनीले नियामक निकायबाट अनुमति लिएर मात्र कारोबारमा आउन पाउने व्यवस्था रहेको धितोपत्र बोर्डका प्रवक्ता अम्बिका गिरीले जानकारी दिए । उनले भने, ‘पहिलोपटक भएकाले सम्बन्धित कम्पनीले नियामक निकायबाट एउटा निवेदन दिएर कारोबारमा ल्याउन पाउनेछ, त्यसपछि अन्य समयमा भने पर्दैन ।’

See More On

सुझावित समाचार