मत सर्वेक्षणसम्बन्धी समाचारमा आचारसंहिताको विशेष ध्यान दिन काउन्सिलको अपिल

शुक्रबार, २५ कार्तिक, २०७९
डिजिटल संस्करण

प्रेस काउन्सिल नेपालले आसन्न निर्वाचनलक्षित गरी मत सर्वेक्षण वा अनुसन्धानमूलक सामग्रीको समाचार वा समाचारमूलक सामग्री तयार पार्दा पत्रकार आचारसंहिताको विशेष ध्यान दिन अपिल गरेको छ । काउन्सिलले बिहीबार एक विज्ञप्ति जारी गर्दै पत्रकार आचारसंहिताबाहिर गइ सर्वेक्षण नगर्न पत्रकार तथा सञ्चार माध्यमलाई सचेत गराएको हो ।

‘पत्रकार तथा सञ्चारमाध्यमले कुनै पनि मत सर्वेक्षण वा अनुसन्धानमूलक सामग्रीको समाचार वा समाचारमूलक सामग्री तयार पार्दा अनुसन्धानको विधि उल्लेख गर्नुपर्दछ, यस्तो मत सर्वेक्षण गर्दा सर्वेक्षणको प्रायोजक, औचित्य र पृष्ठभूमिजस्ता विषय खुलाई प्रस्तुत गर्नुपर्दछ’ भन्ने व्यवस्था रहेको काउन्सिलका प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ । आचारसंहिताविपरीत मतदातालाई प्रभाव पार्ने किसिमले मत सर्वेक्षण एवं विश्लेषण हुँदा निर्वाचन आचारसंहिता आकर्षित हुने भन्दै काउन्सिलले मतदान सम्पन्न भएपछि त्यस्तो सर्वेक्षण एवं विश्लेषणको नतिजा सम्प्रेषण गर्न सकिनेतर्फ ध्यानाकर्षण गराएको छ ।

काउन्सिलले यही मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनलक्षित गरी निर्वाचन विशेष अनुगमन गरिरहेको छ । अनुगमनका क्रममा हालसम्म ३६ सञ्चारमाध्यममाथि आचारसंहिताबमोजिम कारबाही भएको  जारी विज्ञप्तिमा जनाइएको छ ।

अनुगमन गरिएका माध्यममध्ये काउन्सिलले पाँचवटालाई निर्देशन, ६ वटालाई ध्यानाकर्षण, १३ वटालाई सचेत र नाैवटालाई स्पष्टीकरण पत्र पठाइएको छ भने दर्ता/सूचीकरण नभएका दुईवटा न्युज पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार गरेको छ । अनुगमनको दायरामा रहेकामध्ये पाँचवटा छापा माध्यम, तीनवटा टेलिभिजन, एउटा रेडियो, २५ वटा अनलाइन, दुईवटा वेबपोर्टलले निर्वाचन आचारसंहिताप्रतिकूल समाचार तथा समाचार–सामग्री सम्प्रेषण गरेको पाइएको काउन्सिलले जनाएको छ ।

‘अनुगमनका क्रममा कतिपय सञ्चारमाध्यमबाट राजनीतिक दल तथा उम्मेदवारलाई लक्षित गरी सर्वेक्षण गरिएको भनी वा नभनी ‘जितको सम्भावना’, ‘जित सुनिश्चित’ उल्लेख गर्दै सामग्री सम्प्रेषण भएको छ भने राजनीतिक दल तथा उम्मेदवारका बारेमा आधारहीन, अप्रमाणित तथ्यहरूलाई लिएर विभिन्न टीका–टिप्पणी र आरोप–प्रत्यारोपसहित चरित्रहत्या हुने किसिमले सामग्री सम्प्रेषणका घटना बढिरहेको तथ्य भेटिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

यस्तै, राजनीतिक दल तथा उम्मेदवारहरूले गरेका प्रचारप्रसार, घरदैलो र आमसभाजस्ता कार्यक्रमको गलत समाचार, दुष्प्रचार र घृणास्पद अभिव्यक्तिहरू सम्प्रेषण हुन नदिन, कसैको पक्ष वा विपक्षमा हुने गरी र राजनीतिक दल वा उम्मेदवारको मान, प्रतिष्ठामा आँच पुर्‍याउने गरी सामग्री सम्प्रेषण हुन नदिन पनि काउन्सिलले अनुरोध गरेको छ ।

सुझावित समाचार