नेपालको जितमा सेनुको गोल

बिहिबार, २४ कार्तिक, २०७९
डिजिटल संस्करण

सेनु परियारले निर्णायक गोल गरेपछि नेपालले साफ यू–१५ महिला च्याम्पियनसिपको तेस्रो खेलमा भुटानलाई १–० अन्तरले पराजित गरेको छ । बंगलादेशको ढाकास्थित बिएसएसएस मुस्तफा कमल मैदानमा प्राप्त जितसँगै नेपाल तालिकाको शीर्ष स्थानमा फर्किएको छ । नेपाल तीन खेलबाट शतप्रतिशत जितसहित नौ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट बंगलादेश ६ अंकसहित दोस्रो स्थानमा छ । 

भुटानले चार खेलमा अंक जोड्न सकेको छैन । भुटानमाथिको जितसँगै नेपाल च्याम्पियननजिक पुगेको छ । अन्तिम खेलमा नेपालले शुक्रबार बंगलादेशसँग खेल्नेछ । यस खेलमा जित वा बराबर नतिजा निकाले पनि नेपालले उपाधि चुम्नेछ । हारले बंगलादेश च्याम्पियन हुनेछ । तीन राष्ट्र सहभागी डबल राउन्ड रोबिनअनुसार चलिरहेको प्रतियोगिताको शीर्ष स्थानमा रहने टोली सीधै च्याम्पियन बन्नेछ । यसअघि पहिलो खेलमा नेपालले भुटानलाई ७–० ले हराउँदा बंगलादेशलाई १–० अन्तरले पराजित गरेको थियो । 

सेनुको निर्णायक गोल 
नेपालले तेस्रो खेलमा जित निकाल्न निकै संघर्ष गर्नुपरेको थियो । सुरुवातबाटै गोल गर्न तम्सिएको नेपाल एक गोलमै चित्त बुझाउन बाध्य भएको थियो । नेपाल भुटानविरुद्ध पहिलो हाफमा गोल निकाल्न असफल रह्यो । खेलको ४९औँ मिनेटमा नेपालले निर्णायक गोल ग¥यो । भुटानका खेलाडीले बक्सभित्र क्लियर गर्न नसकेको बललाई सेनुले जाली चुमाएकी थिइन् । यसअघि, वर्षा ओलीको स्थानमा सेनु ४६औँ मिनेटमा मैदान प्रवेश गरेकी हुन् । 

सुझावित समाचार