नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले उपलब्ध गराउने तथ्यांक प्रयोग गर्न अब पाँच सयदेखि दुई लाखसम्म शुल्क तिर्नुपर्ने भएको छ । नेप्सेको ‘तथ्यांक प्रयोगसम्बन्धी कार्यविधि २०७७’ लागू भएसँगै शुल्क लाग्ने भएको हो । नियामक निकाय र अनुसन्धान निकायबाट माग भएका तथ्यांक भने निःशुल्क उपलब्ध गराइने कार्यविधिमा उल्लेख छ ।
व्यक्तिगत, संस्थागत तथा व्यावसायिक प्रयोजनका लागि छुट्टाछुट्टै शुल्क लाग्नेछ । स्थापित संस्थाका लािग दुई लाख रुपैयाँसम्म शुल्क लाग्नेछ । कार्यविधिमा फरक–फरक वर्गीकरण गरी शुल्क निर्धारण गरिएको छ । जसमा पाँचवटा वर्गीकरण गरिएको छ ।
‘क’ वर्गमा बैंक तथा वित्तीय संस्था, इन्भेस्टमेन्ट कम्पनी तथा वित्तीय विश्लेषक कम्पनीको प्रयोगका निम्ति एकपटक जोडिनका लागि दुई लाख रुपैयाँ शुल्क लाग्नेछ भने अन्य तथ्यांक लिन प्रतिमहिना पाँच हजारदेखि एक लाख रुपैयाँसम्म शुल्क लाग्नेछ । यी तथ्यांक लिनका लागि कम्पनीको न्यूनतम चुक्ता पुँजी पाँच करोड रुपैयाँ हुनुपर्ने, तीन वर्षदेखि निरन्तर सञ्चालनमा रहेको हुनुपर्ने र १५ जना कर्मचारी हुनुपर्ने कार्यविधिमा उल्लेख छ ।
‘ख’ वर्गमा तथ्यांक वितरक कम्पनी, वित्तीय औजार विकासकर्ता कम्पनी आदि व्यापारिक तथा पुनः वितरण प्रयोजनका लागि चुक्ता पुँजी न्यूनतम एक करोड हुनुपर्ने, तीन वर्ष सञ्चालनमा रहेको र कम्तीमा आठजना कर्मचारी हुनुपर्ने कार्यविधिमा उल्लेख छ । यी कम्पनीले विभिन्न तथ्यांक लिनका लागि २५ सय रुपैयाँदेखि एक लाख रुपैयाँसम्म शुल्क लाग्नेछ । यस वर्गका स्थापित कम्पनी तथ्यांकमा जोडिनका लागि दुई लाख रुपैयाँसम्म शुल्क लाग्नेछ ।
‘ग’ वर्गमा सञ्चारमाध्यम र समाचार प्रयोजनका लागि कम्पनीको न्यूनतम चुक्ता पुँजी ५० लाख हुनुपर्ने, तीन वर्षदेखि निरन्तर सञ्चालनमा रहेर १० जना कर्मचारी हुनपर्नेछ । यी कम्पनीहरूले सबै किसिमको तथ्यांक लिनका लागि एक हजारदेखि ४० हजार रुपैयाँसम्म भुक्तानी गर्नुपर्नेछ । स्थापित कम्पनी तथ्यांकमा जोडिनका लागि दुई लाख रुपैयाँ शुल्क लाग्नेछ ।
त्यस्तै, ‘घ’ वर्गमा गैरव्यापारिक शैक्षिक तथा अनुसन्धानात्मक प्रयोग,( विश्वविद्यालय, कलेज,गैरनाफामूलक अनुसन्धानात्मक संस्थाहरू) आदिका लागि हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म तोकिएको छ भने स्थापित कम्पनीलाई तथ्यांकमा जोडिन एक लाख रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।त्यस्तै, ‘ङ’ वर्गमा तथ्यांक प्रयोगकर्ता विदेशी कम्पनी भएमा विभिन्न तथ्यांक लिन चाहनेका लागि ५० रुपैयाँदेखि दुई हजार रुपैयाँसम्म शुल्क लाग्नेछ । यस वर्गका कम्पनीका लागि तथ्यांकमा एकपटक जोडिनका लागि दुई हजार रुपैयाँसम्मको शुल्क लाग्ने कार्यविधिमा उल्लेख गरिएको छ ।