जवानदेखि डिएसपीसम्मका २३ सय नेपाल प्रहरी भोलिदेखि फिल्डमा खटिँदै

सुरक्षा संवेदनशीलताका आधारमा संख्या निर्धारण गरी सुरक्षाकर्मी खटाउने तयारीमा प्रहरी प्रधान कार्यालय

सोमबार, २१ कार्तिक, २०७९
डिजिटल संस्करण

नेपाल प्रहरीले मंगलबारबाट निर्वाचनलक्षित मातहतका सुरक्षाकर्मीलाई सम्बन्धित जिल्ला खटाउने तयारी गरेको छ । नेपाल प्रहरीका अनुसार पहिलो चरणमा प्रहरी प्रधान कार्यालयबाट दुई हजार दुई सय ९३ सुरक्षाकर्मी जिल्ला खटिनेछन् । जसमा प्रहरी जवानदेखि डिएसपीसम्मका सुरक्षाकर्मी हुुनेछन् । प्रहरीका अनुसार उनीहरू खोटाङ, ओलखढुंगा, सोलुखुम्बु, झापा, इलाम, कालिकोट, मोरङलगायत जिल्लामा जानेछन् । निर्वाचन सकिएपछि मात्रै उनीहरू फिर्ता हुनेछन् । 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी टेकप्रसाद राईले निर्वाचनलक्षित सुरक्षाका लागि उपत्यकाबाट पहिलो चरणमा २२ सय सुरक्षाकर्मी जिल्ला पठाउने तयारी रहेको बताए । निर्वाचनमा नेपाल प्रहरीका मात्रै ६७ हजार दुई सय ९६ सुरक्षाकर्मी निर्वाचन सुरक्षा प्रयोजनमा खटिनेछन् । उनीहरूमातहत एक लाख १२ हजार म्यादी रहनेछन् । निर्वाचन सुरक्षार्थ पहिलो घेरामा म्यादी र नेपाल प्रहरीका सुरक्षाकर्मी खटिनेछन् । जसअनुसार प्रतिनिर्वाचनस्थल आठदेखि १२ जनासम्म सुरक्षाकर्मी खटाउने प्रहरीको तयारी छ ।  

लिंगअनुसार खटिने  सुरक्षाकर्मी
नेपाल प्रहरी र म्यादी
महिला – ३०,६०३
पुरुष – १,८६,६९०

महिला – ६,०९८
पुरुष– ६८,९०२

सशस्त्र प्रहरी 
महिला– ३,११०
पुरुष– ३१,७२८

निर्वाचन आयोगका अनुसार देशभर १० हजार आठ सय ९२ निर्वाचनस्थल तोकिएका छन् । जसलाई सुरक्षा संवेदनशीलताका आधारमा अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरिएका छन् । 

जसअनुसार तीन हजार चार सय १२ स्थल अति संवेदनशील सूचीभित्र परेका छन् । निर्वाचनस्थलको पहिलो घेरामा नेपाल प्रहरीका तीन र म्यादी ६ जनाको दरले १२ सुरक्षाकर्मी खटिनेछन् । सुरक्षा संवेदनशीलताको दृष्टिले चार हजार चार सय २० स्थल संवेदनशील सूचीभित्र परेका छन् । निर्वाचनस्थलको पहिलो घेरामा नेपाल प्रहरीका तीन र म्यादी ६ गरी नौ सुरक्षाकर्मी खटिनेछन् । तीन हजार ६० निर्वाचनस्थल सामान्य सूचीभित्र परेका छन् । निर्वाचनस्थलमा भने नेपाल प्रहरीको तीन र म्यादी पाँच गरी आठ सुरक्षाकर्मी खटिनेछन् ।

१२ प्रतिशत सुरक्षाकर्मी महिला 
आगामी ४ मंसिरमा हुने निर्वाचन सुरक्षार्थ खटिने सुरक्षाकर्मीमध्ये १२ प्रतिशत महिला सुरक्षाकर्मी रहनेछन् । जसमा सबैभन्दा ठूलो हिस्सा नेपाल प्रहरीको रहनेछ । प्राप्त तथ्यांकअनुसार निर्वाचन सुरक्षार्थ नेपाल प्रहरीमातहत म्यादी र नेपाल प्रहरी गरी देशभर दुई लाख १७ हजार दुई सय ९६ सुरक्षाकर्मी खटिनेछन् । जसमध्ये ३० हजार ६ सय तीन महिला सुरक्षाकर्मी हुनेछन् । यो नेपाल प्रहरीमातहत खटिने कुलको संख्याको १४.०८ प्रतिशत हो । बाँकी एक लाख ८६ हजार ६ सय ९३ अर्थात् ८५.९१ प्रतिशत भने पुरुष सुरक्षाकर्मी रहनेछन् । 

निर्वाचनलक्षित सुरक्षाका लागि करिब २३ सय प्रहरी मंगलबारबाट जिल्ला–जिल्ला जानेछन् । उनीहरूले जिल्लास्थित निर्वाचनका लागि आवश्यक सुरक्षाको सबै प्रबन्ध गर्नेछन् । यसका लागि आवश्यक ‘ब्रिफिङ’का काम सकिएको छ ।
 डिआइजी टेकप्रसाद राई, प्रवक्ता, नेपाल प्रहरी

नेपाली सेनाबाट मात्रै निर्वाचन सुरक्षार्थ करिब ७५ हजार सुरक्षाकर्मी खटिनेछन् । जसमध्ये ६ हजार ९८ सुरक्षाकर्मी महिला हुनेछन् । यो सेनाबाट खटिने कुल संख्याको ८.१३ प्रतिशत हो । बाँकी ६८ हजार नौ सय दुई अर्थात ९१.८६ प्रतिशत भने पुरुष हुनेछन् । नेपाली सेनाका प्रवक्ता सहायक रथी नरायण सिलवालले सेनामा उपलब्ध सुरक्षाकर्मीको अनुपातकै आधारमा निर्वाचन सुरक्षार्थ महिला–पुरुष सुरक्षाकर्मी खटिने बताए । ‘सेनामा हाल महिला–पुरुष सैनिकको अनुपात १ः१२.३ छ । निर्वाचन सुरक्षार्थ खटिने सैनिकको अनुपात पनि यही आधारमा हो । निर्वाचनमा कुल ७५ हजार सैनिक खटाउने निर्णय भएको छ,’ उनले भने ।

सशस्त्र प्रहरीबाट निर्वाचन सुरक्षार्थ कुल ३४ हजार आठ सय ३८ सुरक्षाकर्मी खटिनेछन् । जसमध्ये महिलाको संख्या तीन हजार एक सय १० रहनेछन् । सशस्त्रबाट खटिने कुल संख्याको यो ८.९२ प्रतिशत हो । बाँकी ३१ हजार सात सय २८ अर्थात् ९१.०८ प्रतिशत सुरक्षाकर्मी पुरुष हुनेछन् । तथ्यांकअनुसार निर्वाचनलक्षित तीनवटै सुरक्षा अंगबाट कुल खटिने महिला सुरक्षाकर्मी ३९ हजार आठ सय ११ छन् । यो कुल संख्याको १२.१६ प्रतिशत हो । तीनवटै सुरक्षा अंगबाट देशभर खटिने कुल सुरक्षाकर्मीको संख्या तीन लाख २७ हजार एक सय ३४ रहेको छ । जसमा दुई लाख ८७ हजार तीन सय २३ सुरक्षाकर्मी पुरुष छन् । 

सुझावित समाचार