तेस्रोपटक दोहोरिएका \'पुरानै अनुहार\'बीच तेन्जिङको ‘इन्ट्री’

नारामा सधैँ जोडिने, तर वास्तविकतामा कहिल्यै जोडिन नसकेकाे ‘जोगबनी-किमाथांका नाका’

आइतबार, २० कार्तिक, २०७९
डिजिटल संस्करण

पूर्वीपहाडी जिल्ला संखुवासभाको उत्तरी सिमाना छिमेकी मित्रराष्ट्र चीनसँग सिमाना जोडिएको छ। जिल्लाको भोटखोला गाउँपालिका– १ किमाथांका र चीनको देदाङ बजारबीच दुई देशको मितेरी पुलले सिमाना छुट्याएको छ।

जिल्ला सदरमुकाम खाँदबारीदेखि १६२ किमि उत्तरमा किमाथांका पर्दछ। विराटनगरको जोगबनीदेखि किमाथांका सडकको लम्बाइ ३९० किमि छ। मानवबस्ती रहेको र नेपालको नै सबैभन्दा छोटो नाकामा किमाथांका पर्दछ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीदेखि वर्तमान कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले किमाथांका नाका खोल्ने र सडक यातायात सहज बनाउने प्रतिबद्धता नै जनाए। यस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि किमाथांका खोल्नुपर्ने भन्दै चर्का भाषण गर्दै आए।  

केन्द्रीय नेता सँगसँगै जिल्लास्तरका नेता र सांसदसमेत तत्कालै किमाथांका नाका खोल्ने र खाँदबारी–किमाथांका सडक ट्रयाक ओपनका साथै कालोपत्रे गर्ने पटक–पटक प्रतिबद्धता जनाए।

०७४ सालमा प्रतिनिधिसभा सदस्यका लागि संखुवासभाबाट निर्वाचीत बनेका राजेन्द्र गौतमले तुरुन्तै खाँदबारी–नुम सडक कालोपत्रे हुने पटक–पटक आश्वासन दिए। 

उनले आफ्नो पाँचवर्षे कार्यकालमा सडक कालोपत्रे गर्न सकेनन्। सर्वसाधारण आममतदाताले जुन विश्वासले गौतमलाई प्रतिनिधिसभाको सदस्यमा जिताए, जनताको दुःख जस्ताको तस्तै रह्यो। 

अहिले पनि प्रतिनिधिसभा सदस्यका लागि उनै गौतम फेरि पनि मैदानमा छन्। अहिले पनि उनी विगतमा जस्तै आफूलाई जिताए। तुरुन्तै सडक कालोपत्रे हुने र किमाथांका नाका खोल्ने आश्वासन दिन भने छोडेका छैनन्। 

गौतमका मुख्य प्रतिस्पर्धी गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कांग्रेसका दीपक खड्काको पनि नारा उस्तै छ। उनी आफूलाई जिताए केन्द्रीय बजेट ल्याएर खाँदबारी–किमाथांका सडक कालोपत्रे गर्ने र नाकासमेत खुलाउन पहल गर्ने आश्वासन दिँदै आएका छ्न्। 

यी ठूला दलका उम्मेदवार मात्रै होइन, साना दलका साथै स्वतन्त्र उम्मेदवारको समेत नारा खाँदबारी–किमाथांका सडक कालोपत्रे गर्ने बताउँदै आएका छन्। 

प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवार बनेका तेन्जिङ भोटियाले खाँदबारीदेखि उत्तरी भेगका जनताहरूले सडककै कारण दुःख पाएको भन्दै राजनीतिक दलका उम्मेदवारले काम नगर्ने भएकाले आफूलाई जिताउन आग्रह गर्दै आएका छन्। 

उनी भन्छन्, 'दलका नेताहरू विभिन्न समस्यामा अल्झिएका हुन्छन्, त्यसैले उनीहरूले काम गर्न सक्दैनन्। अब विकास गर्ने भनेकै स्वतन्त्र व्यक्तिले हो, त्यसैले म आएको छु, तपाईंहरूले साथ दिनुहोस् जितेर देखाउँछु।

केन्द्रीय कोसी-ल्हासा राजमार्गले विराटनगर, धरान, धनकुटा हुँदै संखुवासभा जोडेको छ। जसोतसो सदरमुकाम खाँदबारी यातायात सहज भए पनि त्यहाँभन्दा माथिका कच्चीको सडकको अवस्था दर्दनाक छ। 

तीन तहका सरकारका कारण संखुवासभामा धुले सडक जताततै जोडिएको छ। हिउँदमा सरर गाडी गुडे पनि बर्खामा जस्ताको तस्तै हुने गर्दछ। बाह्रै महिना मोटरगाडी गुडाउन योग्य छैन। 

स्वतन्त्रसहित राजनीतिक दलका उम्मेदवारहरू चुनावी घरदैलोमा गाउँगाउँ पुग्दा सडकको माग हुने गरेका छन्। नेताहरू पनि के कम आफूले जिते कालोपत्रे नै गरी दिने वाचा गर्न पछि पर्दैनन् तर जितेर गएपछि अवस्था उस्तै हुने गरेको छ। भोटखोलाका पिम्बिन लामा नेताहरूले चुनाव आउँदा मात्रै मान्छे चिन्ने र घरघरमा खानेपानी, स्वास्थ्य, शिक्षा र सडक पूर्वाधारको सडक हुनेछ भने भाषण गर्ने तर जितेर गएपछि गाउँ नै नफर्किने गरेको दुःखेसो पोखे। 

उनी मात्रै होइन खाँदबारी– ४ का बमबहादुर गुरुङले मत हाल्ने आफ्नो अधिकार भए पनि नेताहरूले काम नगरेको देख्दा भोट हाल्नै नजाऊँ जस्तो लाग्ने गरेको प्रतिक्रिया दिए। जनताले विश्वास गरेर मत दिएर जिताएपछि जनताको पक्षमा काम गर्नुपर्ने उनले बताए। 

खाँदबारी नगरपालिका–६ का फणिन्द्र राईले विकासको पहिलो आधार सडक भएकाले ग्रामीण सडकहरूको सुधार र मर्मतसम्भार गर्नुपर्ने बताए। उनले चुनावमा धेरै आश्वासन दिने तर पछि काम नगर्ने प्रवृत्ति बढेको भन्र्दै गुनासो गरे।

खाँदबारी–किमाथांका सडकको प्रगति १४ महिनामा ७ प्रतिशत 

संखुवासभाको सबैभन्दा महत्वपूर्ण खाँदबारी–किमाथांका राजमार्ग हो। उक्त सडकको लागि ०७७-७८ सालमा बजेट विनियोजन भएको थियो। 

०७८ असार १७ गते शर्मा-शिवशक्ति जेभीले काम गर्ने भनेर १ अर्ब ३२ करोडमा ठेक्का लागेको थियो। खाँदबारीदेखि नुमसम्म ३९ किमि सडकको १४ महिनाको अवधिमा प्रगति भने ७ प्रतिशत मात्रै भएको उत्तर-दक्षिण कोसी सडक आयोजनाको कार्यालयले जनाएको छ। 

स्थानीय आमजनताहरू खाँदबारी–किमाथांका सडकको कालोपत्रे माग गरिरहेका छन्। नेता आश्वासन दिन्छन्, काम गर्दैनन् जस्तै भएको छ। 

तेस्रोपटक दोहोरिएका गौतम र खड्काबीच तेन्जिङको ‘इन्ट्री’

संखुवासभामा प्रतिनिधिसभाको लागि गौतम र खड्काको तेस्रोपटकको भिडन्त हो। यो निर्वाचनमा मुख्य ठूला राजनीतिक दलका पुरानै अनुहारका खड्का र गौतमबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। 

तेस्राेपटक दोहोरिका खड्का र गौतमको चुनावी मैदानमा यो पटक ३३ वर्षीय युवा तेन्जिङको इन्ट्री भएको छ। इलामबाट पूख्र्यौली थलो संखुवासभामा आएर मैदानमा होमिएका तेन्जिङ बौद्धिक व्यक्तित्वका रुपमा परिचित छन्। 

चुनाव चिन्ह माछा लिएर घरदैलो अभियान चलाइरहेका तेन्जिङ मतदातामाझ लोकप्रिय बन्दै गएका छन्। सडक, स्वास्थ्य, शिक्षा र भष्ट्राचार न्यूनीकरणलाई चुनावी एजेन्डा बनाएका उनले पुराना अनुहारबाट वाक्क भएका मतदाताले विकल्प चाहेको बताए। 

पछिल्लो राजनीतिक समीकरणले चुनावी मत परिणाममा उथलपुथल ल्याउन नसके पनि ‘पुराना अनुहारका पुरानै वाचा’ बाट दिक्क बनेका मतादाताबीच विकल्प बनेका छन् तेन्जिङ। 

जनमतले युवाको नतृत्व चाहिरहेका बेला तेन्जिङहरुको उम्मेदवारीले भविष्यमा भने ठूला भनिएका राजनीतिक दल रतिनका शीर्ष नेतृत्वलाई चुनौती भने पक्कै थप्ने देखिन्छ। 

गौतम र खड्का यसअघि पनि दुईपटक चुनावी मैदान भिडिसकेका छन्। त्यतिवेला उनीहरू दुवैजनाले पालैपालो एक-एकपटक विजयी हासिल गरिसकेका छन्। यसअघि ०७० सालको निर्वाचनमा खड्का र गौतमबीच प्रतिस्पर्धा भएको थियो। त्यतिवेला गौतमलाई हराउँदै खड्का सांसदमा निर्वाचित बनेपछि राज्यमन्त्री बनेका थिए। 

त्यसपछि ०७४ सालको निर्वाचनमा समेत उही पुरानै अनुहार खड्का र गौतम दोस्रोपटक चुनावी मैदानमा भिडेका थिए। 

त्यतिवेला खड्काले ३१ हजार ६३९ मत ल्याएका थिए भने गौतमले ३२ हजार ७६९ मत ल्याई १ हजार १ सय ३० मतका साथ विजय हासिल गरेका थिए। अहिले खड्का र गौतमबीच तेस्रोपटक अर्थात् ‘बेस्ट अफ थ्री’को लागि चुनावी मैदानमा उत्रिएका छन्। 

कसले जित्ला भन्ने विषयले निकै बजार तताएको छ। ०७४ को निर्वाचनमा एमालेका उम्मेदवार गौतमलाई नेकपा माओवादी केन्द्रको साथ थियो। त्यसैले गौतमले विजय प्राप्त गरेका थिए। त्यतिवेला कांग्रेस एक्लै लडेको थियो। अहिले माओवादी कांग्रेसको साथमा छ। नेकपा एमाले अहिले एक्लै चुनावी मैदानमा उत्रिएका छन्। 

यस्तो छ स्थानीय तहको मतपरिणाम 

संखुवासभामा एक प्रतिनिधिसभा र दुई प्रदेश सभा छ। जिल्लाभित्र १० वटा पालिका र ७६ वटा वडा छन्। स्थानीय तहको निर्वाचनको मतपरिणाम हेर्दा नेकपा एमालेभन्दा गठबन्धन अगाडि देखिएको छ।

संखुवासभामा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनमोर्चाबीच गठबन्धन छ। गठबन्धनले १० वटा पालिकामा १२ जना मेयर-उपमेयर र अध्यक्ष-उपाध्यक्ष जितेको छ भने नेकपा एमालेले ८ जना मेयर-उपमेयर र अध्यक्ष-उपाध्यक्ष जितेको छ। 

जिल्ला समन्वय समितिमा समेत एमाले शून्य छ। जिल्लाका ७६ वटा वडामा एमालेले ३८, कांग्रेस २९ र माओवादी केन्द्रले ९ वडाध्यक्ष जितेको छ। 

संखुवासभामा अहिले प्रतिनिधिसभातर्फ स्वतन्त्रसहित ११ र  प्रदेश सभा (क) र (ख)का लागि १८ जना गरी कुल २९ उम्मेदवार चुनावी मैदानमा छन्। जिल्लामा एक लाख १७ हजार पाँच सय ५४ मतदाता छन्। जिल्लामा १०८ वटा मतदानस्थल र १६२ वटा मतदान केन्द्र तोकिएको छ।
 

सुझावित समाचार