बिलमा ठगी गर्ने डान्सबारका सातजनाविरुद्ध मुद्दा

आइतबार, २० कार्तिक, २०७९
डिजिटल संस्करण

गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रमा सञ्चालित डान्सबारहरूले ग्राहकलाई गर्ने ठगीविरुद्ध प्रहरीले सक्रियता बढाएको छ । पछिल्लो तीन महिनामा सातजना सञ्चालक तथा कर्मचारीलाई प्रहरीले पक्राउ गरी मुद्दा दायर गरेको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार कतिपयले वास्तविकभन्दा अत्यधिक बिल उठाउने र पैसा नतिर्दा कुटपिट तथा लुटपाटसमेत गरेका थिए । यस्तो अपराधमा संलग्न रमेश लामा, रेखा नेपाली, सरिता नेपाली, विशाल तामाङ, शंखबहादुर तामाङ, सपना खड्का, हिमशिखर मल्ललाई प्रहरी वृत्त महाराजगन्जले मुद्दा चलाएको छ । ग्राहकको उजुरीका आधारमा डान्सबारका सञ्चालक तथा कर्मचारीलाई कारबाही गरी यस्तो ठगीविरुद्ध प्रहरीले सक्रियता बढाएको परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए । ‘प्रहरी सक्रियताले बसपार्क क्षेत्रमा अहिले धेरै परिवर्तन आइसकेको छ,’ उनले भने । 

ठगिनेमा कतिपय भारतीय नागरिक छन् । उनीहरूलाई विभिन्न प्रलोभनमा डान्सबार लैजाने र त्यहाँ युवतीसँग राख्ने तथा वास्तविकभन्दा तीन गुणासम्म बढी बिल तिर्न लगाउने गरेका घटना छन् । कतिपयलाई युवतीमाथि दुर्व्यवहार गरेको भन्दै फसाइदिने भनेरसमेत पैसा असुल्ने प्रवृत्ति देखिएको महाराजगन्ज वृत्तका एक प्रहरीले बताए । पक्राउ परेका केहीलाई प्रहरीले लुटपाटको मुद्दासमेत चलाएको छ । वृत्तका डिएसपी अंगुर जिसीका अनुसार गोंगबु क्षेत्रका डान्सबारमा धेरै विकृति रहेको पाइएपछि अभियानकै रूपमा कारबाही अघि बढाइएको छ ।

See More On

सुझावित समाचार