गृहमन्त्री सुधन गुरुङले आफ्नो देश र सङ्गठन माथि विश्वासघात गर्ने जोसुकैलाई कुनै उन्मुक्ति नदिने चेतावनी दिएका छन् । उनले पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना अनाधिकृत व्यक्ति वा निकायलाई चुहाउनेलाई कानूनको कठघरामा ल्याइने प्रतिबद्धता जनाएका छन् ।
उनले समाजिक सञ्जालमार्फत भनेका छन्, 'गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका कुनै पनि पदाधिकारी वा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना अनाधिकृत व्यक्ति वा निकायलाई संवेदनशील सूचना चुहाउने प्रवृत्ति मैले लामो समयदेखि नियालिरहेको छु।'
'राज्यको संवेदनशिल सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो। पदले सूचनामा पहुँच दिन्छ, तर दुरुपयोग गर्ने अधिकार दिँदैन, उनले भने, 'यहाँ प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीले समेत अपराध रोक्न, अनुसन्धान अघि बढाउन वा भविष्यमा कुनै गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक भूमिका खेल्छ।'
त्यसैले राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र सङ्गठन माथि विश्वासघात गर्ने जोसुकै होस्, कुनै उन्मुक्ति पाउने छैन, कानूनको कठघरामा ल्याइनेछ।
गम्भीर सूचना चुहावटको आरोपमा सशस्त्र प्रहरीका एआइजी निलम्बित
सुरक्षासम्बन्धी गम्भीर सूचना चुहावटको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहाल निलम्बनमा परेका छन् । गृह मन्त्रालयले सोमबार उनलाई निलम्बन गरी जाँचबुझ थालेको छ ।
स्रोतका अनुसार प्रधानमन्त्रीका गतिविधिलगायत सूचना उनले बिचौलिया इनाम सापकोटामार्फत पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई दिएका थिए । गम्भीर सूचना चुहावटको आरोपमा सशस्त्र प्रहरीका एआइजी निलम्बित भएसँग गृहमन्त्रीको यस्तो अभिव्यक्ति आएको हो ।