गम्भीर सूचना चुहावटको आरोपमा सशस्त्र प्रहरीका एआइजी निलम्बित

एआइजी दाहाल पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका आफन्त हुन्

मंगलबार, २० असोज, २०८३
प्रिन्ट संस्करण

सुरक्षासम्बन्धी गम्भीर सूचना चुहावटको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहाल निलम्बनमा परेका छन् । गृह मन्त्रालयले सोमबार उनलाई निलम्बन गरी जाँचबुझ थालेको छ ।

स्रोतका अनुसार प्रधानमन्त्रीका गतिविधिलगायत सूचना उनले बिचौलिया इनाम सापकोटामार्फत पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई दिएका थिए । पाँच दिनदेखि प्रहरी हिरासतमा रहेका सापकोटाको मोबाइलमा एआइजी दाहालले पठाएका गम्भीर सूचना भेटिएपछि उनीमाथि विस्तृत जाँचबुझ हुन लागेको हो ।

सशस्त्र प्रहरीका एआइजी अञ्जनीकुमार पोखरेललाई जाँचबुझ अधिकृत तोकिएको छ । तीन दिनभित्र प्रतिवेदन बुझाउन जाँचबुझ अधिकृतलाई भनिएको छ । ‘प्रतिवेदनका आधारमा उनलाई विभागीय कारबाही मात्र गर्ने कि फौजदारी कसुरमा मुद्दा चलाउने भन्ने तय हुन्छ,’ गृह मन्त्रालयका एक अधिकारीले भने ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले सशस्त्र प्रहरीबाटै भएको सिफारिसका आधारमा उनलाई निलम्बन गरी कारबाही थालिएको बताए । मन्त्रालयले यस विषयमा विज्ञप्ति नै निकालेर जानकारी दिएको छ । मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘हरेक सशस्त्र प्रहरी कर्मचारीले आफ्नो सेवा र पदअनुसारको आचरण पालना गर्नुपर्ने तथा सुरक्षासँग सम्बन्धित संवेदनशील सूचनाको संरक्षण तथा गोपनीयता कायम गर्नुपर्ने कानुनी व्यवस्था रहेकामा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी आचरणविपरीतको कार्य गरेको भनी सशस्त्र प्रहरी बल, नेपालबाट कारबाहीका लागि मन्त्रालयमा सिफारिस प्राप्त भएकामा उक्त अभियोगउपर जाँचबुझ गर्न यस मन्त्रालयको मिति ०८३/६/१९ गतेको निर्णयानुसार निजलाई निलम्बन गरी ३ (तीन) दिनभित्र जाँचबुझ सम्पन्न गरी मन्त्रालयमा प्रतिवेदन पेस गर्न जाँचबुझ अधिकृत तोकिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

एआइजी दाहाल पूर्वप्रधानन्यायाधीश जबराका आफन्त हुन् । जबरालाई गत ११ असोजमा प्रहरीले पक्राउ गरी करिब ११ घन्टा नियन्त्रणमा राखेर छाडेको थियो । उनीमाथि अनुसन्धान गर्ने क्रममा बिचौलिया सापकोटासँगको शंकास्पद सम्बन्ध फेला परेको थियो । सापकोटालाई गत बिहीबार प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ । जसमा उनले अदालतका मुद्दामा डिल गरेको प्रमाण भेटिएको छ । साथै, उनको मोबाइलमा एआइजी दाहालसँग पनि गम्भीर किसिमका कुराकानी फेला पारेको स्रोत बताउँछ ।

‘सरकारका गतिविधिका बारेमा एआइजीले सापकोटामार्फत जबरालाई सूचना दिएको देखिन्छ,’ गृहका एक अधिकारी भन्छन्, ‘यो विषय गम्भीर भएपछि निलम्बन गरिएको हो ।’ 

गत साता मात्र सशस्त्र प्रहरीबाट उनको पदावधि एक वर्ष थपका लागि पत्राचार भएको थियो । सशस्त्र प्रहरीमा एआइजीको पदावधि ४ प्लस १ वर्ष हुने प्रावधान छ । २८ असोजमा चार वर्ष अवधि पुग्न लागेपछि उनको म्याद थप हुन लागेको थियो । यस प्रकरणपछि अब म्याद थप नहुने मात्र होइन, गम्भीर किसिमको कानुनी कारबाहीको जोखिम पनि देखिएको छ । 

सुझावित समाचार