कांग्रेसकाे १५औँ महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी दर्ता गर्न ४० हजार रुपैयाँ शुल्क लाग्नेछ । उपसभापति र महामन्त्रीका लागि ३० हजार, सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्यका लागि ११ हजार मनोनयन दस्तुर तोकिएको छ ।
सभापति पदका लागि प्रस्तावक र समर्थक १०–१० जना हुनुपर्नेछ । उपसभापति र महामन्त्रीका लागि समर्थक र प्रस्ताव सात–सातजना, सहमहामन्त्रीका लागि प्रस्तावक र समर्थक पाँच–पाँचजना तथा सदस्यका लागि प्रस्तावक र समर्थक तीन–तीनजना हुनुपर्नेछ । समर्थक र प्रस्तावको नाम, थर, ठेगाना र मतदाता क्रमसंख्या र दस्तखत मनोनयनपत्रमा अनिवार्य उल्लेख हुनुपर्नेछ ।
मनोनयन दर्ता गर्दा पैसा जम्मा गरेको भौचर, निरन्तर क्रियाशील सदस्यता रहेको सिफारिस, फोटोसहितको परिचयपत्र, महाधिवेशन प्रतिनिधिको निर्वाचित प्रमाणपत्र मनोनयन पत्रसाथ संलग्न गर्नुपर्नेछ । वारेसमार्फत पनि मनोनयन दर्ताको सुविधा दिइएको छ ।
जसका लागि वारेसनामा र वारेसको नेपाली नागरिकताको फोटोकपी संलग्न गर्नुपर्नेछ । आफूले उम्मेदवार हुन चाहेको पदका लागि सोही पदमा अर्को व्यक्तिको हकमा प्रस्ताव र समर्थक हुन नपाइने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ ।