लगातार तेस्रो जितसँगै पुलिस सेमिफाइनलमा

तीन खेलबाट सर्वाधिक ६ अंक जोडेको पुलिस समूह ‘बी’बाट अन्तिम चारमा पुग्ने पहिलो टोली

शुक्रबार, १८ कार्तिक, २०७९
डिजिटल संस्करण

लगातार तेस्रो जित निकाल्दै विभागीय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार मधेस प्रदेशलाई ६ विकेटले पराजित गर्दै पुलिस अन्तिम चारमा पुग्ने पहिलो टोली बनेको हो । समूह ‘बी’मा पुलिसले एक खेल खेल्न बाँकी छ । तीन खेलबाट ६ अंकसहित पुलिस शीर्ष स्थानमा छ । मधेस, लुम्बिनी र प्रदेश १ ले समान दुई अंक बनाएका छन् । बागमतीले तीन खेलमा खाता खोलेको छैन । 

पुलिसको बलियो साझेदारी 
पहिलो ब्याटिङ गरेको लुम्बिनी ४४.२ ओभरमा एक सय ८८ रनमै समेटियो । उत्कृष्ट फर्ममा रहेको पुलिसले ३७.१ ओभरमा चार विकेटको नोक्सानीमा ६ विकेटको जित निकाली अन्तिम चारको स्थान पक्का ग¥यो । पुलिसको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले ६६ बलमा ४३ रनको योगदान गरे । उनले पाँच चौका प्रहार गरेका थिए । पुलिसका ब्याट्सम्यानले लगातार चार विकेटका लागि उत्कृष्ट साझेदारी गर्न सफल भए । ओपनर सुनील धमाल र कुशल भुर्तेलबीच पहिलो विकेटका लागि ५५ रनको साझेदारी भयो । कुशलले अमित श्रेष्ठसँग दोस्रो विकेटका लागि ५८ रन जोडे । कुशलले पुनः कप्तान दीपेन्द्रसँग तेस्रो विकेटका लागि ११ रन बनाएका थिए । दीपेन्द्र र आरिफ शेखबीच चौथो विकेटका लागि ६६ रनको नटआउट साझेदारी गर्दै टोलीलाई जित दिलाए । 

सुनीलले ३६ रन जोड्न २६ बलमा चार चौका र दुई छक्का प्रहार गरे । शेखले ५१ बलमा पाँच चौकाको सहयोगमा ३५ रन बनाए । ओपनर कुशलले ३२ रन बनाउँदा ४१ बलमा दुई चौका ठोके । कप्तान दीपेन्द्रले ६६ बलमा पाँच चौकाको मद्दतमा ४३ रन बनाए । बलिङतर्फ लुम्बिनीका अनिल खरेलले दुई विकेट लिए ।

कप्तान देवको अर्धशतकीय इनिङ्स
टस जितेर ब्याटिङ गरेको लुम्बिनीले कप्तान देव खनालको अर्धशतकको साथ पाएको थियो । ओपनर देवले ८८ बलमा सात चौका र दुई छक्कासहित सर्वाधिक ७४ रन बनाएका थिए । यसैगरी, विशालविक्रम केसीले ३० रन र प्रज्वल थापाले २३ रनको योगदान गरे । यसबाहेक अन्य खेलाडीले दोहोरो रन जोड्न नसक्दा लुम्बिनी बलियो योगफल बनाउन चुक्यो । बलिङतर्फ म्यान अफ दी म्याच दीपेन्द्रसिंहले सर्वाधिक चार विकेट लिए । यसैगरी, करण केसी र सागर ढकालले समान दुई विकेट हात पारे । 

मधेसको फराकिलो जित 
मूलपानी क्रिकेट मैदानमा भएको मधेस प्रदेशले समूह ‘बी’को अर्काे खेलमा प्रदेश १ लाई ७२ रनको फराकिलो अन्तरले हराएको छ । पहिलो ब्याटिङ गरेको मधेसले ४८.१ ओभरमा सबै विकेट गुमाएर दुई सय १४ रन बनाएको थियो । प्रत्युत्तरमा प्रदेश १ ले ४३.१ ओभरमा एक सय ४२ रन मात्र बनायो । प्रदेश १ का लक कामतले सर्वाधिक २९ रन बनाए । विवेक आनन्द मेहताले २५ रन, फिर्दोष अन्सारीले २२ रनको योगदान गरे । बलिङतर्फ मधेसका मोहम्मद आदिल आलम, रुपेश सिंह, प्रदीप पासवान र विशाल सुस्लिङले समान दुई विकेट लिएका थिए ।

अनिलको अर्धशतक
मधेसका अनिल शाहले अर्धशतकीय इनिङ्स खेले । अनिलले ८९ बलमा पाँच चौका र एक छक्का मद्दतमा सर्वाधिक ६१ रन बनाएका थिए । यसैगरी, विवेक यादवले ३२ रन, रुपेश सिंहले ३० रन तथा रोहन विकले २८ रनको योगदान गरेका थिए । बलिङतर्फ प्रदेश १ का फिर्र्दाेष अन्सारीले सर्वाधिक पाँच विकेट लिए । उनले ९.१ ओभरमा एक मेडनसहित ३४ रन खर्चिए । कप्तान सिद्धान्त लोहनीले तीन विकेट लिए । 

सुझावित समाचार