उदयपुरका आठवटै पालिकाको केन्द्रमा ‘नमुना मतदान’ हुने भएको छ। जिल्ला निर्वाचन कार्यालयले मत बदर कम गर्न नमुना मतदान कार्यक्रम आयोजना गर्न लागेको हो।
आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा मत बदर घटाउन आठै पालिकाको केन्द्रमा ‘नमुना मतदान’ आयोजना गर्न लागिएको कार्यालयका प्रमुख खेमराज कोइरालाले जानकारी दिए। उनका अनुसार बुधबार बेलका र चौदण्डीगढी नगरपालिकामा नमुना मतदान गरिएको थियो। बिहीबार कटारी नगरपालिकामा नमुना मतदान हुँदै छ।
बेलका र चौदण्डीगढी नगरपालिकाका मेयर, उपमेयर, कर्मचारी, सेवाग्राहीसहितले नमुना मतदानमा भाग लिएका थिए। नमुना मतदान कार्यक्रमअन्तर्गत बेलका नगरपालिकामा ५८ मत खसेकोमा आठ मत बदर भएको थियो भने चौदण्डीगढी नगरपालिका पनि ५७ मत खसेकोमा ६ मत बदर भएको थियो। नमुना मतदान कार्यक्रममा सहभागी भएका मतदाताले पटक–पटक मतदान गर्नुपर्ने भन्दै केही झन्झटिलो रहेको बताएका थिए।
त्रियुगा नगरपालिका तथा रौतामाई, उदयपुरगढी, ताप्ली र लिम्चुङबुङ गाउँपालिकामा पनि नमुना मतदान हुनेछ। ‘जिल्लाका आठवटै पालिकाको केन्द्रमा नमुना मतदान गर्ने गरी तयारी थालेका छौँ,’ कोइरालाले भने।
जिल्लामा कुल दुई लाख २८ हजार नाै सय ४६ मतदाता रहेका छन्। चार नगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा कुल एक सय एक मतदानस्थल छन् भने दुई सय ६४ मतदान केन्द्र रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। कोइरालाका अनुसार जिल्लामा मत बदर कम गर्न मतदाता शिक्षालाई समेत जोड दिइएको छ।