जुम्लामा हेलिकाेप्टरमार्फत मतपत्र पुर्‍याइँदै

बिहिबार, १७ कार्तिक, २०७९
डिजिटल संस्करण
जुम्लामा हेलिकाेप्टरमार्फत मतपत्र पुर्‍याइँदै

प्रतिकात्मक तस्बिर

आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनका लागि निर्वाचन आयोगले हेलिकाेप्टरबाट जुम्लामा मतपत्र पुर्याएको छ। आयोगले नेपाली सेनाको हेलिकाेप्टरमार्फत सुर्खेतबाट जुम्ला मतपत्र पुर्याएको हो।

नेपाली सेना नन्दाबक्स गणका गणपति रविन थापाले बिहीबार दुईपटक सेनाको (एनए–०५५ इसियु इक्विरल) हेलिकाेप्टरले जुम्लामा मतपत्र ओसारेको जानकारी दिए। उनका अनुसार विपतका कारण कर्णाली राजमार्गबाट सहजै ढुवानी गर्ने अवस्था नभएपछि हेलिकाेप्टरमार्फत मतपत्र ल्याउनुपरेको हो।

‘मतपत्र काठमाडौंबाट सुर्खेतसम्म गाडीमा ल्याइए पनि त्यहाँबाट हेलिकाेप्टरमा जुम्ला ओसार्ने काम भएको छ,’ गणपति थापाले भने, ‘स्थानीय तहको निर्वाचनमा ठूलो क्षमताको ट्रकमा ल्याएका थियौँ, तर यसपटकको विपतले सडक साँघुरो भएकाले हेलिकाेप्टरबाट मतपत्र ओसार्नुपरेको हो।’

जिल्ला अदालत जुम्लाका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले निर्वाचन आयोगको समन्वयमा कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट आज हेलिकाेप्टरमा समानुपातिकतर्फको एक लाख ५१ हजार मतपत्र जुम्ला आइपुगेको जानकारी दिए। 

उनका अनुसार प्रतिनिधिसभा समानुपातिकतर्फ ७७ हजार र प्रदेश सभा समानुपातिकतर्फ ७४ हजार मतपत्र सुरक्षित तवरबाट जुम्ला आइपुगेको छ। अब समानुपातिकतर्फको चार हजार मत आउन बाँकी रहेको बताउँदै मुख्य निर्वाचन अधिकृत गौतमले भने, ‘जुम्लामा प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ ७६ हजार मतपत्र र  प्रदेश सभा (क)का लागि ४१ हजार तथा प्रदेश सभा (ख)का लागि ३६ हजार मतपत्र माग गरिएको छ।’

आज  सुर्खेतबाट हेलिकाेप्टरमार्फत प्रत्यक्षतर्फको मतपत्र जुम्ला ल्याइने उनले बताए। जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी महेश शर्माले जुम्लामा आगामी मंसिर  ४ गते हुने निर्वाचनका लागि ६८ हजार ६ सय ३८ मतदाता संख्या रहेको बताए। उनका अनुसार प्रदेश (क)मा ३६ हजार सात सय ८३ र प्रदेश (ख)मा ३१ हजार आठ सय ५५ मतदाता रहेका छन्।

See More On

सुझावित समाचार