जाडोमा जोर्नी दुखाइबाट यसरी बचौँ

बुधबार, १६ कार्तिक, २०७९
डिजिटल संस्करण

डाक्टरको सल्लाह

डा. उमेश ठाकुर हाडजोर्नी रोग विशेषज्ञ ईशान हस्पिटल

मुख्यतः चिसोको समयमा जोर्नीको दुखाइ जुनसुकै उमेरका मानिसलाई पनि हुन्छ । चिसोयाममा जीवनशैलीमा परिवर्तन आउने हुन्छ । चोटपटक लागेर भाँच्चिएको वा मर्किएको ठाउँमा पनि दुख्छ ।

विभिन्न रोगका कारणले पनि जोर्नी दुख्छ । युरिक एसिड, बाथरोग, इन्फेक्सनको कारणले गर्दा पनि दुखाइ हुन्छ । ५० वर्षभन्दा बढी उमेरका कतिपय व्यक्तिको हड्डी खिइँदै गएको हुन्छ ।

हड्डी खिइँदै जाँदा दुखाइ बढ्ने हुन्छ । एकैठाउँमा बस्दा, शारीरिक व्यायाम नगर्दा, भिटामिन डी, क्याल्सियमको कमी हुँदा पनि जोर्नीको दुखाइ बढ्ने हुन्छ । 

वृद्धवृद्धामा भने हड्डी खिएर नसा च्यापिने हुन सक्छ । जोर्नी दुखाइले गर्दा उनीहरूमा थप जटिल समस्या पनि देखिन सक्छ । कसै–कसैमा जोर्नी बिग्रने समस्या आउन सक्छ । दुखाइ बढ्दै जाने, ज्वरो आउने, टेक्न गाह्रो हुने हुन्छ । 

समस्या
- हड्डी पूरै कटकट खाने, दुख्ने ।
- हड्डी कमजोर भएजस्तो लाग्ने ।
- हातखुट्टा दुख्ने । 
- हातखुट्टा सुन्निने ।
- पलेँटी कस्दा बढी दुख्ने ।
- भर्‍याङबाट ओरालो झर्दा बढी दुख्ने ।
- करेन्ट लागेको जस्तो हुने, झमझम हुने, पोल्ने । 
-  खुट्टा उचाल्न गाह्रो हुने । 
- शरीरका सबै भाग दुख्ने । 
- दुखेको ठाउँमा थिच्दा वा मालिस गर्दा केही थाहा नहुने, तर भित्रभित्रै दुख्ने ।
- बालबालिकामा खुट्टा बांगिने । छातीको हड्डी सुन्निएको देखिने । 

यसरी बच्ने ?
- जाडोमा आफूलाई न्यानो बनाउने ।
- भिटामिन डी र क्याल्सियमको मात्रा बढाउने खानेकुरा सेवन गर्ने । 
- बिहान १५–२० मिनेट घाममा बस्ने । 
- धूम्रपान, मद्यपान नगर्ने । 
- कोक र पेप्सीजस्ता सफ्ट ड्रिंक्स, आटामा आधारित उत्पादन नखाने । 
- सकभर घरबाहिरको खाना नखाने । 
- हड्डी खिइन कम गर्ने औषधि प्रयोग गर्ने । 
- फिजियोथेरापी गर्ने । 
- न्यानो भएर नियमित व्यायाम गर्ने । योगा र स्टे«चिङ गर्ने ।
- रोगअनुसारका बिरामीले खानपानमा ध्यान दिने । आफूलाई असर गर्ने खानेकुरा नखाने । 
- धूम्रपान, मद्यपान नगर्ने । 
- युरिक एसिडका बिरामीले रातो मासु, गेडागुडीको कम प्रयोग गर्ने । 
- पर्याप्त पानी खाने । 
- हाडजोर्नीसम्बन्धी कुनै समस्या भए अस्पताल जाने, चिकित्सकको सल्लाहअनुसार उपचार गर्ने । 

जोर्नी दुख्न नदिन के खाने ?

माछामा पर्याप्त मात्रामा ओमेगा–३ फ्याटी एसिड नामक तेल हुन्छ । यसले सुन्निने समस्या कम गर्न सहयोग गर्छ । बिहानको समयमा जोर्नी कमजोर हुने र दुख्ने समस्याबाट राहत दिन्छ ।

दूध, अन्डा, सागपात सेवन गर्दा भिटामिन डी र क्याल्सियमको मात्रा बढाउन सहयोग पुग्छ । चेरीले पनि दुखाइबाट बचाउँछ । त्यस्तै, जैतुनको तेल प्रयोग गर्दा पनि दुखाइ कम हुन्छ । बेसार र अदुवाको प्रयोगले पनि दुखाइबाट बचाउँछ ।

ग्रिन टीले जोर्नी सुन्निनबाट बचाउँछ । ब्रोकाउलीमा सल्फरयुक्त एन्टिअक्सिडेन्ट हुन्छ । यसले पनि जोर्नी दुखाइ कम गर्छ । त्यस्तै, बन्दा र काउलीले पनि दुखाइ कम गर्न सहयोग गर्छ । च्याउ, प्याज, सिट्रस फल (अम्लीय गुण भएका मौसम, सुन्तला, कागती आदि), मेवा, किवीलगायतले पनि दुखाइ कम गर्न सहयोग गर्छन् ।

सुझावित समाचार