भरतपुर मनपा– २ आँपटारीकी ५१ वर्षीया लीला भट्टराईले नारायणी नदी किनारबाटै अस्ताउँदो सूर्यलाई अर्घ दिइन्। रातभर निराहार ब्रत बसिन्। नदी किनारमै छठीमाईको पूजा गरिन्। भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिइन्।
मधेसी व्रतालुका भिडमा निराहार भएर व्रत बसेकी सायद उनी एक्ली पहाडी महिला थिइन्। किनकि अधिकांश पहाडी महिला साँझ नदी किनार पुग्छन्। अस्ताउँदो सूर्यलाई अर्घ दिन्छन्। घर फर्कन्छन्। भोलिपल्ट पुनः किनार फर्किएर उदाउँदो सूर्यलाई अर्घ दिन्छन्।
नारायणी नदी किनार छठी माईको पूजामा जुटेको यो उनको चौथोपटक हो। त्यसअघि उनी काठमाडौंस्थित नदी किनारमा व्रत बस्थिन्। नौ वर्षअघि जेठानी दिदीहरूसँग छठ मनाउन थालेकी उनले त्यसयता प्रत्येक वर्ष निराहार व्रत बसेर छठ मनाउँदै आएकी छिन्।
मधेसी समुदायले पूजा गरेको देख्दै आएकी उनलाई संकल्प गरी पूजा गर्दा मनोकामना पूरा हुने विश्वासले छठ मनाउन हौस्यायो। छठ पूजाले छोराछोरीको स्वास्थ्यमा सुधार भएको र पढाइमा राम्रो भएको उनीसँग अनुभव छ।
उनी भन्छिन्, ‘म सुगर–प्रेसरको बिरामी पनि हुँ। तर, छठको व्रत बस्दा मेरो मनले आनन्द मान्छ। मेरो नियमित व्रतले सन्तानको राम्रो भएको छ।’
सुरुका दिन छठ पर्वमा मधेसी समुदायसँगै बसेर किनमेल गरी पूजा गर्न सिकेको उनी बताउँछिन्। अहिले भने उनलाई परिवारको पनि साथ छ। पूजामा केरा, सानो केराउ, चामल, पान, सुपारी, ल्वाङ, बेसार, अदुवा, मूला, बोडी, उखु, खानाका लागि ठेकुवा, कसारलगायतका सामग्री आवश्यक पर्छ। यी सामग्री जुटाउन उनलाई श्रीमानले सहयोग गर्दै आएका छन्।
परिवारको सहयोगबाट दंग उनी भन्छिन्, ‘सबै प्रक्रिया पुर्याएर व्रत बस्छु। छठीमाईको एकदमै विश्वास लाग्छ। श्रीमानको पनि सहयोग छ। म निकै खुसी छु।’
मूलतः मिथिला क्षेत्र र भोजपुरीभाषीको सांस्कृतिक पर्व हो छठ। तर, पछिल्ला वर्ष गैरमधेसी समुदायमा पनि छठको रौनक छाएको छ। नारायणगढस्थित नारायणी नदी किनारमा छठ पूजा व्यवस्थापन गर्दै आएका तराई सामुदायिक सेवा केन्द्रका सचिव नारायणप्रसाद परिहस्त मधेसी र पहाडीबीचको घोषित–अघोषित भेदलाई हटाउन छठ पर्वले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँछन्।
उनी भन्छन्, ‘छठले समुदायलाई जोडेको छ। यद्यपि, छठ फैलिनुमा मानिसको बसाइँसराइ, विघटित पारिवारिक ढाँचा, सञ्चार सँगसँगै छठको उदारता र लचकताको पनि उत्तिकै भूमिका रहेको पाइन्छ।’
छठी मैया षष्ठी देवी हुन्। जसको पूजा बच्चा जन्मिँदा छैटौँ दिनमा पनि गरिन्छ । शुक्रबार ‘नयाह–खाय’सँगै सुरु भएको छठ शनिबार षडना भएको थियो। आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ तथा सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ प्रदान गरी चार दिवसीय छठ सकिएको छ। छठ कात्तिक शुक्ल पक्षको षष्ठी तथा सप्तमीदेखि हुने भए पनि यसको तयारी भने चतुर्थी तिथिदेखि नै सुरु हुन्छ । पोखरी, नदी, कुवा, इनारलगायत जलाशयमा छठ पूजा हुन्छ ।
दिनभरि व्रत बसेर बेलुका गुँद, घिउ र दूधमा थोरै चामल हालेर पकाएको खानेकुरा खाइन्छ। व्रतालुले जलाशयमै उभिएर सूर्यलाई अर्घ दिन्छन्। चितवनको नारायणी नदी किनारमा मात्र छठ पूजा गर्न १० हजार भक्तजन आएका आकलन गरिएको छ। जहाँ अवलोकन गर्न पहाडी समुदायका मानिसको पनि बाक्लो उपस्थिति देखिन्थ्यो।