नेपाल प्रहरीका युवा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आइतबार प्रधानमन्त्री कपमा बागमती प्रदेशविरुद्ध शतकीय इनिङ्स खेलेका छन् । प्रतियोगिताअन्तर्गत समूह बीको खेलमा दीपेन्द्रले एक सय आठ रनको योगदान दिँदा बागमती एक सय ९२ रनको विशाल अन्तरले पराजित भयो । ब्याटिङका साथै बलिङमा समेत दीपेन्द्रले उत्कृष्ट योगदान दिएका थिए । उनले बलिङमा १० रन खर्चेर तीन विकेट हात पारे । उनी खेलकै म्यान अफ दी म्याच भए । दीपेन्द्रले आफ्नो शतकीय इनिङ्समा ८२ बलमा ११ चौका र चार छक्का प्रहार गरेका थिए । जितसँगै समूह ‘बी’मा नेपाल पुलिसले महत्वपूर्ण दुई अंक जोडेको छ । बागमती अंकविहीन बन्यो ।
बागमती ९७ रनमै अलआउट
बागमतीको नेतृत्व नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले गरेका छन् । मल्लको कप्तानीमा रहेको बागमतीले पुलिसविरुद्ध बलिङ र ब्याटिङमा कमजोर प्रदर्शन गर्यो । पुलिसले मूलपानी मैदानमा पहिलो ब्याटिङ गरी ५० ओभरमा पाँच विकेटको क्षतिमा दुई सय ८९ रनको बलियो योगफल खडा गर्यो । बागमतीले केवल २८ ओभरमा ९७ रन जोड्दा सबै विकेट गुमायो । प्रतियोगितामा बागमतीले फराकिलो हारको सामना गरेको हो । राष्ट्रिय टोलीका अधिकांश खेलाडी सम्मिलित पुलिसविरुद्ध बागमतीका कुनै पनि खेलाडीले चुनौतीपूर्ण प्रदर्शन गर्न सकेनन् ।
बागमतीका ओपनर ईशान पाण्डेले सर्वाधिक २४ रन बनाए । रामनरेश गिरीले २२ रन बनाउँदा प्रतिश जिसीले १४ र नन्दन यादवले १० रन जोडे । कप्तान मल्ल चार रनमा आउट भए । बागमतीका विवेक मगर शून्यमा पेभिलियन फर्किए । बागमतीले पहिलो पावर प्लेमा १४ रन जोड्दा चार विकेट गुमाएको थियो ।
दीपेन्द्रको आक्रामक ब्याटिङ
प्रतियोगिताको पहिलो दिन मूलपानी क्रिकेट मैदान कप्तान दीपेन्द्रमय बन्यो । ब्याटिङमा दीपेन्द्रले सम्हालिएर खेल्दा आफ्नो पहिलो खेलमै शतक बनाउन सफल भए । पहिलो ब्याटिङ गरेको पुलिसबाट चौथो क्रममा ब्याटिङ गरेका दीपेन्द्रले इनिङ्सको ४७.२ ओभरमा विकेट गुमाए । क्रिजमा सेट भएका ब्याट्सम्यान दीपेन्द्रलाई नन्दन यादवले बोल्ड गरेका थिए । कप्तान दीपेन्द्र आउट हुँदा पुलिस २५९–५ को बलियो अवस्थामा थियो । पुलिसका लागि ओपरनद्वय सुनिल धमला र कुशल भुर्तेलले समान ३७ रन बनाए । आरिफ शेखले ३६ रन जोडेका थिए । तेस्रो विकेट पतनसँगै क्रिजमा आएका दीपेन्द्रले योगेन्द्रसिंह ऐरी र आरिफ शेखसँग बलियो साझेदारी गरेका थिए । बलिङतर्फ बागमतीका नन्दन यादवले सर्वाधिक दुई विकेट लिए ।
एपिएफसँग आर्मी ५६ रनले पराजित
प्रतियोगिताको उद्घाटन खेलमा प्रदीप ऐरी र अमर राउटेला चम्किएपछि विभागीय टोली एपिएफ क्लबले कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लबलाई ५६ रनले पराजित गर्यो । दुई सय २० रनको लक्ष्य पछ्याएको आर्मी ३२.१ ओभरमा सबै विकेट गुमाउँदै १६३ रनमा समेटियो । आर्मीका हरि चौहान र रोहित पौडेल दुवैले अर्धशतक बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । ६७ बलको सामना गरेका हरिले सात चौका र एक छक्का मद्दतमा सर्वाधिक ६५ रन बनाए । राष्ट्रिय टोलीका उपकप्तानसमेत रहेका रोहितले ५९ बलमा सात चौकाको सहयोगमा ५१ रन जोडे । आर्मी एक समय १४२–३ को बलियो स्थितिमा थियो । तर, तेस्रो विकेटपछि आर्मीको ब्याटिङ कमजोर बन्यो । आर्मीका बाँकी नौ ब्याट्सम्यान दोहोरो रन बनाउन चुकेका थिए ।
अमरले लिए चार विकेट
अमरसिंह राउटेलाले उत्कृष्ट बलिङ गरेपछि आर्मीका ब्याट्सम्यान खुलेर खेल्न सकेनन् । अमरले ५.१ ओभर बलिङ गर्दै सर्वाधिक चार विकेट लिए । उनले २० रन खर्चिएका थिए । यस्तै, कमलसिंह ऐरीले तीन विकेट लिए । कमलले एक मेडनसहित ५६ रन दिएका थिए । टस जितेर ब्याटिङ गरेको एपिएफका ओपनर प्रदीपले सर्वाधिक ७१ रन बनाए । ८० बल सामना गरेका प्रदीपले चार चौका र ६ छक्का प्रहार गरेका थिए । मध्यक्रमका सुन्दिप जोराले सम्हालिँदै ५० रनको अर्धशतकीय इनिङ्स खेले । सुन्दिपले ६२ बलमा ६ चौका हिर्काए ।