मिडफिल्डर केभिन डी ब्रुयनाको उत्कृष्ट फ्रिकिक गोलमा जित निकाल्दै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा फर्किएको छ । प्रभावशाली स्ट्राइकर एर्लिङ हाल्यान्ड चोटपछि बाहिर रहँदा शनिबार राति सिटीले लेस्टर सिटीलाई १–० ले पराजित गर्यो ।
घरेलु मैदानमा पहिलो हाफमा लेस्टरले बलियो रक्षापंक्ति प्रस्तुत गरेको थियो । दोस्रो हाफमा भने लेस्टर रक्षापंक्तिमा बलियो बनाउन असफल रह्यो । दोस्रो हाफमा ज्याक ग्रेलिसलाई लेस्टरका खेलाडीले लडाएपछि २५ यार्डमा सिटीले फ्रिकिक पायो ।
सोही फ्रिकिकलाई बेल्जियन मिडफिल्डर ब्रुयनाले ४९औँ मिनेटमा सदुपयोग गर्दै सिटीलाई महत्वपूर्ण तीन अंक दिलाए । प्रिमियर लिगमा ब्रुयनाको यो ६०औँ गोल हो । पेप ग्वार्डिओलाको नेतृत्वमा सिटीले पछिल्लो चार अवे खेलमा पहिलो गोल गरेको हो । यस साता पूर्वक्लब बोरुसिया डर्टमन्डविरुद्ध खेल्दा नर्वेजियन स्ट्राइकर हाल्यान्डले लिगामेन्टको चोट बोकेका थिए ।
यद्यपि, उनको उपस्थितिमा समेत सिटीले तीन अंक हासिल गर्न सफल भयो । खेलको ७७औँ मिनेटमा लेस्टर गोलनजिक पुगेको थियो । योउरी टिएलिम्यान्सले प्रहार गरेको बल बारमा लाग्दै फर्किएपछि लेस्टर बराबर गोल गर्नबाट चुकेको थियो ।
जितसँगै सिटीले १२ खेलबाट २९ अंक जोडेको छ । जुन एक खेल कम खेलेको आर्सनलभन्दा एक अंकले बढी हो । पराजित लेस्टर भने १३ खेलबाट ११ अंकसहित १७औँ स्थानमा छ ।