महोत्तरीको भंगहा नगरपालिका– ८ मा हिन्दू–मुस्लिम समुदायबीच दंगा भड्किँदा प्रहरीसहित दर्जनौँ घाइते भएका छन्।
स्थिति तनावग्रस्त हुँदै गएपछि बिहीबार अपराह्न ४ बजेदेखि जिल्ला प्रसासन कार्यालय महोत्तरीले दंगाग्रस्त क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।
कर्फ्यु आदेश लम्ब्याउने वा हटाउनेबारे शुक्रबार बिहान ९ बजेका लागि बोलाइएको सर्वदलीय बैठकले निर्णय गर्ने जिल्ला प्रशासन कार्यालय, महोत्तरीले जनाएको छ।
सुरक्षा व्यवस्था अझै दुरुस्त पार्न नेपाली सेनाले समेत सोही क्षेत्रमा गस्ती सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृष्ण पंगेनीले स्थिति पूर्ण रूपमा नियन्त्रणमा आएको जानकारी दिए। दंगा नियन्त्रणमा लिन प्रहरीले लगभग ४० राउन्ड अश्रुग्यास, हवाई फायर गरेको थियो।
झडपमा जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी चन्देश्वर यादव घाइते भएका छन्। डिएसपी यादवको दाहिने हातको कुहिनामा इँटा प्रहारबाट चोट लागेको छ।

उनले आफूसँगै ड्युटीमा खटिएका एक हवल्दारको खुट्टामा गम्भीर चोट लागेको बताए। यस्तै, अर्का एक असइको बायाँ कुममा चोट लागेको छ। त्यस्तै सशस्त्र प्रहरीतर्फ निरीक्षकसहित चारजना घाइते भएको सशस्त्र प्रहरीका एसपी दीपेन्द्र गिरीले बजानकारी दिए।
सर्वसाधारणसमेत भए घाइते
घटनास्थल वरपरको माहोल तनावग्रस्त हुँदा सर्वसाधारणसमेत घाइते भएका छन्। लोहारपट्टी नगरपालिका– ४ खुट्टा निवासी ४२ वर्षीय मोजिम राइन सोही बाटो भएर मोटरसाइकलमा घर फर्किँदै थिए। दंगामा सहभागीले उनलाई राेकेर लाठी तथा फलामको रडले प्रहार गरी घाइते बनाएको राइनका आफन्तले जनाएका छन्।
उनको टाउकोमा गम्भीर चोट लागेको छ। उनको अहिले प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। यता दंगा नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर भंगहा नगरपालिका– ८ पररियाकै २१ वर्षीय इन्ताज राइन घाइते भएका छन्। उनको दाहिने हातको नाडीमा गोली लागेको छ। प्रहरीका अनुसार उनको जनकपुरस्थित दैविक अस्पतालमा उपचार भइरहेको छ।
उनलाई धरान रेफर गर्ने तयारी रहेको बताइएको छ। सोही ठाउँ निवासी जीवछ नदाफको दाहिने खुट्टामा गोलीको छर्रा लागेको छ। उनको पनि स्थानीय क्लिनिकमा उनको उपचार भइरहेको छ। यसबाहेक विभिन्न उमेर समूहका ३० जनाभन्दा बढी सामान्य घाइते भएका छन्।
सवारीसाधनमा आगजनी
दंगाले उग्र रूप लिँदै गएपछि केही सवारीसाधनमा आगजनी भएको छ भने मस्जिद र केही स्थानीयका घरमा तोडफोड भएको छ।
दंगाकारीले घरमा राखेको प्रदेश २–०२–००४प ९८०५ नम्बरको मोटरसाइकल, थप नम्बर खुल्न नसकेको अर्को एउटा मोटरसाइकल र नम्बर खुल्न नसकेको एक टेम्पोमा आगजनी गरेका छन्। यस्तै एकथान डिजे बोकेको बोलेरो पिकअपमा समेत तोडफोड भएको छ।
किन भड्कियो दंगा ?
हिन्दू सम्राट सेना नामक हिन्दुवादी समूहले भंगहा नगरपालिका– ९ हरिनमरीदेखि अजगेवा, पररिया चोकबाट धर्मपुर हुँदै भंगहा नगरपालिकाका सबै वडामा र्याली घुमाई कञ्चनवनमा अन्त्य गर्ने योजना बनाएको थियो।
भंगहा नगरपालिका– ८ पररिया चोकमा आएर सोही चोकमा रहेको गोलम्बरमा झन्डा झुण्ड्याउन खोज्दा अर्को पक्षबाट ढुंगामुढा भएपछि स्थिति तनावग्रस्त हुँदै गएको थियो। तर, अर्को पक्षले भने हिन्दुवादी समूहले झडपको पहल गरेको आरोप लगाएको छ।

घटनाबारे हिन्दू सम्राट सेनाका संयोजक राजेश यादवले आफूहरू संयमित भई र्याली अगाडि बढाउने क्रममा सार्वजनिक चोकमा हनुमानजी र श्रीरामजीको फोटोअंकित झन्डा झुन्ड्याउन खोज्दा आफूहरूमाथि एक्कासि घरको छतबाट ढुंगामुढा गर्न थालिएको बताए।
उनले झडपको क्रममा आफूहरूको पक्षबाट कुनै सवारीसाधनमा क्षति नपुर्याइएकोसमेत दाबी गरे। उनी झडपमा घाइते भएकाले अस्पतालमा उपचाररत रहेको बताए।
बुधबार लक्ष्मीको प्रतिमा विसर्जनकै समयसमेत सोही ठाउँमा विवाद भएको थियो। लक्ष्मीपूजाभन्दा अघि अष्टजामको समय भजन बजिरहेको वेला एक्कासि बाजा बन्द गरिएको बताइएको छ
दुवै पक्षले एक–अर्कामाथि आरोप–प्रत्यारोप गरेका छन्। प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान गर्ने महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताए। उनले सुरक्षा व्यवस्था कडा पारिएको र स्थिति सामान्य बनाउन सबै सरोकारवाला पक्षसँग समन्वय गर्ने जानकारी दिए।