च्याम्पियन्स लिग : १२ टोली टुंगिए, को-को आउलान् चारमा ?

बिहिबार, १० कार्तिक, २०७९
डिजिटल संस्करण

च्याम्पियन्स लिग फुटबलको दोस्रो चरणमा पुग्ने १६ मध्ये १२ टिमको टुंगो लागेको छ। 
यसै मंगलबार र बुधबार राति भएका खेलबाट १२ टिमको टुंगो लागेको हो। बुधबार राति भएको खेलमा जित हासिल गर्दै लिभरपुल, इन्टर मिलान र एफसी पोर्टो अन्तिम १६ मा प्रवेश गरेका छन्।

समूह ‘ए’ को खेलमा डच क्लब आयाक्सलाई ३–० गोलले हराउँदै इंग्लिस क्लब लिभरपुल नकआउट चरणमा प्रवेश गरेको हो। यसै समूहबाट नापोली पहिले नै अन्तिम १६ मा पुगिसकेको थियो। 

बुधबार रातिकै खेल जित्दै इटालियन क्लब इन्टरमिलान पनि १६ मा प्रवेश गरेको छ। यही समूहमा रहेको जर्मन क्लब बायर्न म्युनिखले पहिले नै अन्तिम १६ मा स्थान बनाइसकेको छ। 

समूह ‘बी’बाट पोर्टो पनि अन्तिम १६ मा प्रवेश गरेको छ। यसै समूहमा रहेको स्पेनिस क्लब एट्लेटिको म्याड्रिड प्रतियोगिताबाट बाहिरिएको छ। 

अब समूह ‘डी’बाट दुई क्लब १६ मा पुग्नेछन्। यो समूहको खेल भने निकै रोमाञ्चक बनेको छ। बुधबार राति इंग्लिस क्लब टोटनहम हटस्पर र पोर्चुगिज क्लब स्पोर्टिङ लिस्बनले १–१ को बराबरी खेले। जर्मन क्लब फ्रान्कफर्टले फ्रेन्च क्लब मार्सेईलाई २–१ ले हराएपछि यो समूहको भिडन्त रोचक बनेको हो। यो समूहमा रहेका चारवटै टिमको अन्तिम खेल नतिजापछि मात्र १६ मा पुग्ने टिमको टुंगो लाग्नेछ। 

सुझावित समाचार