रेसुंगा नगरपालिका– ८ की ३६ वर्षीया सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ रोटीको व्यापारले भ्याइनभ्याई छ । उनले १५ वर्षदेखि व्यावसायिक रूपमा होटेल र झिनियाँको व्यापार गर्छिन् । अहिले झिनियाँले सुमित्राको घरको पेटी र छत राताम्य बनेको छ भने राम्रो व्यापार भएपछि मनमा खुसी छाएको छ । होटेलमा व्यस्त श्रेष्ठले बिहान–साँझको फुर्सदमा झिनियाँ बनाउँछिन् । दसैँ र तिहार राम्रो व्यापार हुने भएकाले झिनियाँबाट डेढ–दुई लाख आम्दानी भइरहेको छ । सोही ठाउँकी ४१ वर्षीया समीक्षा श्रेष्ठले पनि १७ वर्षदेखि झिनियाँ बिक्री–वितरण गर्दैै आएकी छिन् । दसैँ–तिहारमा मात्रै साढे तीनदेखि चार लाखको झिनियाँ बिक्री हुने समीक्षाले बताइन् ।
उनले हातले नै बनाउने भएकाले धेरै परिमाणमा उत्पादन गर्न सकिँदैन । फागुन–चैतदेखि बनाएका झिनियाँ अहिले बिक्री भइरहेको बताइन् । उनले बजारको कुनै समस्या नै नभएकाले उत्पादन गर्न सके राम्रो नै आम्दानी हुने बताइन् । अहिले बजारमा होलसेल एक सय १० र फुटकर एक सय ६० मा झिनियाँ बिक्री भइरहेको छ । तम्घासमा १५–२० घरले झिनियाँको व्यवसाय गर्दै आएका छन् । त्यस्तै मुसिकोट नगरपालिका– ७ वामीकी ४३ वर्षीया विष्णुमति श्रेष्ठले डेढ दशकदेखि झिनियाँ बनाउँछिन् ।
अहिले झिनियाँकै चटारोले विष्णुमतिलाई निद्रा पर्दैन । उनलाई बिहान ४ बजेदेखि नै झिनियाँ उत्पादन र बिक्रीको चिन्ता छ । श्रेष्ठलाई दैनिक दुई सय झिनियाँ रोटी बनाउँदा पनि बजार थेग्न मुस्किल परेको छ । दसैँ र तिहारबाहेक विवाह र व्रतबन्धमा पनि झिनियाँ बिक्री हुने गरेको छ । बजारमा भन्दा उनको सस्तो पनि छ । त्यसैले विभिन्न जिल्लामा विष्णुमायाका झिनियाँ पुग्ने गरेको छ । उनका अनुसार यस वर्ष १० लाखको झिनियाँ बिक्री भए । विगत वर्षमा कोभिडले चाडपर्व रमाइलो नभएकाले बिक्री कम भयो । तर, अहिले झिनियाँको व्यापार राम्रो छ । जिल्लामा प्रायः नेवार समुदायले झिनियाँ बनाउने भएकाले वामीमा पनि १२–१५ जनाले व्यावसायिक रपमा झिनियाँ उत्पादन तथा बिक्री गर्दै आएका छन् ।

त्यस्तै, चन्द्रकोट– ८ की ४५ वर्षीया विना पुन पनि बिहानदेखि बेलुकासम्म झिनियाँकै काममा व्यस्त छन् । झिनियाँ लैजानेहरू बिहानै घरमा बोलाउन आउँछन् । विनाले गाउँघरे चामलको पिठोबाट झिनियाँ बनाउने भएकाले माग धेरै छ । गाउँदेखि परदेशसम्म झिनियाँ लैजाने गरेको पुनले बताइन् । यो महिनामा मात्रै डेढ लाखका भिनियाँ बिके । विनाकोमा अहिले काम गर्नेहरू पनि चारजना छन् ।

अरू वेला पनि दुई–तीनजनाले रोजगारी पाउँछन् । वर्षमा करिब पाँच लाखको झिनियाँ बिक्री हुने भए पनि पुनको घरव्यवहार राम्रोसँग चलेको छ । श्रीमान् चन्द्रबहादुर पुन नेपाल आर्मीबाट अवकाश भएपछि परदेश पसे । केही वर्षपछि गाउँमै आएर पनि सुरक्षागार्डमा काम गरे । तर, विनालाई घरखर्चका लागि श्रीमानको मुख कहिल्यै ताक्नुपरेन ।
