बन्दै नागरिकता, थपिँदै पासपोर्ट

पछिल्लो समय गुल्मी प्रशासनमा नागरिकता र पासपोर्ट बनाउने सेवाग्राहीको भीड लागेको देखिन्छ

आइतबार, ६ कार्तिक, २०७९
डिजिटल संस्करण

मदाने गाउँपालिका वडा नं १ का ७२ वर्षीय चित्रबहादुर बोहोराले केही दिनअघि जिल्ला प्रशासन कार्यालयबाट नागरिकता बनाए। बोहोराले अहिलेसम्म नागरिकताको काम नै नपरेकाले नबनाएको प्रतिक्रिया दिएको बताए। त्यस्तै, ८० वर्षका दिनामणि अर्यालले शुक्रबार नै जिल्ला प्रशासन कार्यालयमा राहदानीको फाराम भरे। अस्ट्रेलियामा रहेकी नातिनीले घुम्न बोलाएका कारण उनले राहदानी बनाउन लागेको बताए। 

पछिल्लो समयमा जिल्लामा राहादानी बनाउने बृद्धबृद्धाको संख्या पनि बढ्न थालेको छ। गुल्मीमा पछिल्लो समय नागरिकताभन्दा पासपोर्ट बनाउनेको संख्या बढी देखिन थालेको छ। 

शुक्रबार मात्रै ४८ नयाँ नागरिकता, प्रतिलिपि २३, नाबालक परिचयपत्र तीन, राष्ट्रिय परिचयपत्र एक सय १६ र ८७ जनाले राहदानीको आवेदन दिएका छन्। शुक्रबार गुल्मी प्रशासनकै इतिहासमा सबैैभन्दा बढी अर्थात् एक सय ८९ नयाँ र ६० नागरिकताको प्रतिलिपि वितरण गरिएको छ । 

पछिल्ला दिनमा दैनिक डेढ सय बढी नागरिकता र ८० आसपासमा राहदानी वितरण भइरहेका छन्। सेवाग्राहीको भिड बढेपछि जिल्ला प्रशासन कार्यालय गुल्मीले अहिले दैनिक १३ घण्टा बढी नागरिकलाई सेवा दिइरहेको छ। 

बिहान ७ बजेबाट बेलुका ९ बजेसम्म सेवा प्रवाह गरेर पनि सबैै नागरिकलाई आजको आजै सेवा दिन नसकिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए। राहदानीको लागि एउटा मात्रै स्टेसनबाट पनि दैनिक ८०कै आसपासमा सेवाप्रवाह गर्दा पनि सेवाग्राहीहरूको भिड कम नभएको उनले बताए। उनका अनुसार दसैँपछिका १० दिनमा आठ सय १३ नयाँ नागरिकता बन्दा छ सय ५० राहदानी बनेको पाइयो। पछिल्लो समय नागरिकता बनाउन आउनेहरूको अवस्था हेर्दा नागरिकताभन्दा बढी राहदानी बनाउनेहरूको भिड प्रशासनमा रहेको छ। तर, राहदानीको एउटा मात्रै स्टेसनबाट सेवा दिँदा पनि नागरिकताकै हाराहारीमा राहदानी बन्ने प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए।

एक वर्षमा १३ हजारभन्दा बढी नयाँ नागरिकता वितरण, ९ हजारलाई दिइयो राहदानी 

गुल्मीमा एक वर्षमा १३ हजार छ सय १२ जनाले नागरिकता बनाएका छन्। त्यस्तै, छ हजार तीन सय ३७ जनाले नागरिकताको प्रतिलिपि बनाएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ। त्यस्तै, गत आर्थिक वर्षमा आठ हजार आठ सय ९६ राहादानीको सिफारिस र छ हजार तीन सय ४६ राहदानी वितरण गरिएको छ। जिल्ला प्रशासन कार्यालयबाट साधारण र द्रुत गरेर दुईखाले राहदानीका सिफारिस हुने गरेका छन्। 

सुझावित समाचार