आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फ ४० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ।
हालसम्म समानुपातिक तथा पहिलो हुने निर्वाचित हुने प्रणाली गरी कुल संख्याको करिब ७० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ। समानुपातिक प्रणालीको मतपत्र धमाधम ढुवानी भइरहेको छ।
पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ आजसम्म एक करोड ६७ लाख पाँच सय मतपत्रको छपाइ सम्पन्न भएको निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए।
सोमध्ये प्रतिनिधिसभाका लागि ८७ लाख एक हजार र प्रदेश सभाको ८० लाख ५७ हजार पाँच सय मतपत्र छपाइ सम्पन्न भएको छ। समानुपातिक निर्वाचन प्रणालीतर्फको करिब चार करोड मतपत्र भने यसअघि नै छपाइ सम्पन्न भइसकेको छ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ भने ६८ जिल्लामा मतपत्र ढुवानी भइसकेको छ । अब नौ जिल्लामा मात्र मतपत्र ढुवानी हुन बाँकी छ।
ढुवानी भएकामध्ये प्रदेश सभाका लागि एक करोड ९६ लाख १७ हजार तथा प्रतिनिधिसभातर्फ एक करोड ९३ लाख १३ हजार मतपत्र रहेको छ । अब प्रदेश सभाको पाँच लाख ६८ हजार तथा प्रतिनिधिसभाको पाँच लाख ५८ हजार मतपत्र मात्र ढुवानी हुन बाँकी छ।
निर्वाचनमा कुल एक करोड ७९ लाख ८५ हजार ७० मतदाता छन्। यी मतदाताले समानुपातिक तथा पहिलो हुने निर्वाचित हुने दुई प्रणालीका लागि चार मतपत्रमा भोट हाल्नुपर्ने हुन्छ। निर्वाचनका लागि कुल करिब आठ करोड मतपत्र आवश्यक पर्छ।