नेपालका लागि अमेरिकी राजदूत डीन आर थोम्प्सनले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शुक्रबार ओहदाको प्रमाणपत्र पेश गरेका छन्। प्रमाणपत्र बुझाए लगत्तै राजदूत डीनले अहिलेका सबै महत्वपूर्ण मुद्दामा सबै नेपालीहरुसँग सहकार्य गर्न इच्छुक रहेको बताएका हुन्।
राजदुतका रुपमा आउने अवसरले आफूलाई विनयशील बनाएको उनले उल्लेख गरे। ‘म सार्वभौमसत्ता र साझा मूल्यमान्यताको सम्मानमा आधारित संयुक्त राज्य अमेरिका तथा नेपालबीचको सम्बन्धप्रति अटल प्रतिवद्धताका साथ सेवा गर्न कटिवद्ध छु’, उनले भने, ‘अहिलेको क्षण हाम्रा दुई मुलुकका लागि महत्त्वपूर्ण क्षण हो र म हाम्रो समयका सबैभन्दा महत्त्वपूर्ण मुद्दाहरूलाई सम्बोधन गर्न सबै नेपालीहरूसँग सहकार्य गर्न उत्सुक छु।’
अमेरिकाले आगामी वर्षहरूमा नेपाललाई दिगो र समावेशी आर्थिक विकासको लक्ष्य हासिल गर्न सहयोग गरिरहने पनि उनको भनाई छ। ‘जलवायु संकटले हिमालय क्षेत्रमा प्रभाव पारिरहँदा हामी नवीन कार्यक्रम र साझेदारीमार्फत् नेपालको जलवायु उत्थानशीलतालाई बलियो बनाउन मद्दत गर्नेछौँ’, राजदूत डीनले भनेका छन्,‘नागरिक समाज, स्वतन्त्र मिडिया र सरकारसँग सहकार्य गर्दै हाम्रा दुई देशले भ्रष्टाचार, दुष्प्रचार र दमनबाट मुक्त रही निरन्तर लोकतन्त्रको रक्षा र जनताको इच्छाशक्तिलाई सुदृढ गर्नेछन्।’
दुई देशबीच कूटनीतिक सम्बन्धको ७५औँ वर्षमा नेपाल आएको र आगामी ७५ वर्षको सफलताले अहिलेसम्मका सबै उपलब्धिलाई उछिन्ने पनि उनले विश्वास व्यक्त गरे।