केटाकेटीको बदमासी

शुक्रबार, ४ कार्तिक, २०७९
डिजिटल संस्करण

भारतका प्रथम राष्ट्रपति डा. राजेन्द्रप्रसाद बडो मिहिनेती, मृदुभाषी र बुद्धिमान थिए । स्वतन्त्रता आन्दोलनमा उनले भाग लिएका थिए । देश स्वतन्त्र भएपछि उनी राष्ट्रपति बने । उनलाई पुस्तकसँग बडो प्रेम थियो । उनको घरमा निकै राम्रा र चर्चित पुस्तक थिए । उनी हरेक रात सुत्नुअघि पुस्तक अवश्य पढ्थे । उनी कहिलेकाहीँ त पुस्तक पढ्दापढ्दै सुत्ने गर्थे । 

एकपटकको कुरा हो, राजेन्द्रप्रसाद कुनै कामले बाहिर गएका थिए । जब उनी घर फर्केर आए, तब उनले आफ्नो कोठाका पुस्तक छरिएको र कुनै पुस्तक च्यातिएको पनि देखे । राजेन्द्रप्रसादले बुझे पक्कै यो काम कुनै बच्चाकै हो । उनले घरका सबै बच्चालाई बोलाए र आँखा तरेर सोधे, ‘कसले यसरी किताब छरेको हो ?’ बच्चाले भने, ‘हामीले त किताब छोएका पनि छैनौँ र कसरी यस्तो भयो हामीलाई केही थाहा पनि छैन ।’

राजेन्द्रप्रसाद बुद्धिमान् थिए । उनले यसको यथार्थ थाहा पाउन उपाय लगाए । उनले सबै बच्चालाई हाँसेर भने, ‘हेर सबैजना साँचो–साँचो बोल । जसले किताब बिगारेको हो, उसलाई म मिठाई खुवाउँछु ।’ बच्चा ठीक ठाउँमा आए, उनीहरूले आफूले त्यस्तो बिराम गरेको स्विकारे । सत्य अगाडि आएपछि राजेन्द्रप्रसादले केटाकेटीलाई मिठाई दिँदै भने, ‘हेर किताब च्यात्नु राम्रो कुरा होइन । किताबले हामीलाई ज्ञान दिन्छ । किताब हाम्रो गुरु हो । किताबलाई नोक्सान पुर्याउनु गुरुलाई अपमानित गर्नु हो । मलाई आशा छ, तिमीहरूले अब यस्तो गर्नेछैनौ ।’

राजेन्द्रप्रसादको कुरा सुनेर सारा बच्चाले क्षमा मागे । राजेन्द्रप्रसाद किताब मिलाउँदै उनीहरूसँग हाँसीहाँसी कुरा गर्न थाले ।

सुझावित समाचार