कांग्रेसका युवा नेता तथा काठमाडौं ५ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप पौडेलले राजधानी र राजनीति दुवै सफा गर्ने बताएका छन्।
सुरुदेखि नै चुनावी अभियानलाई आक्रामक बनाएका प्रदीपले काठमाडौंको विकास गर्दै व्यवस्थित र पर्यावरणमैत्री राजधानी बनाउने दाबी गरे।
उनले भने, ‘राजनीतिक निष्ठा र इमानदारीमाथि उठेका प्रश्न र राजनीतिप्रति घट्दै गएको विश्वासले आमनिराशा छाएको छ। त्यसकारण मेरो संकल्प छ– म राजधानी सफा गर्छु, म राजनीति सफा गर्छु।’
आजको पुस्ता हरेक काम चाँडो र स्पिडमा होस् भन्ने चाहेको बताउँदै उनले राजनीतिक दलले अब भाषण मात्र होइन, देखिने, सुनिने र बुझिने गरी परिणाम ल्याउन जरुरी रहेको बताए।
‘मैले के सिकेको छु भने आजको पुस्ता फास्ट एन्ड फर्वाड छ। ऊ हरेक काम चाँडो होस्, स्पिडमा होस्, अनावश्यक झन्झट व्यहोर्नुनपरोस् भन्ने चाहन्छ। हामीजस्ता राजनीतिक दलले अब भाषण मात्र होइन, देखिने, सुनिने र बुझिने गरी परिणाममुखी काम गर्न जरुरी छ,’ उनले भने।
परिवर्तनसहितको राजनीतिक संस्कार र संस्कृति स्थापित गर्छु भनेर विद्यार्थी जीवनदेखि राजनीतिमा होमिएको बताउँदै प्रदीपले भने, ‘मेरा नातागोता, पारिवारिक सदस्य र व्यापार व्यवसाय फस्टाउँछ भनेर मैले राजनीतिमा हामफालेको होइन। राजनीतिक इमान र परिवर्तन सम्भव छ भन्ने बुझेर नै मैले सक्रिय राजनीतिक जीवन रोजेको हुँ।’ उनले जनताले आफूलाई अनुमोदन गरेको खण्डमा आगामी पाँच वर्ष खेर नफाल्ने वाचा गरे।