नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल पुलिसकी विद्या राईले भारोत्तोलनमा कीर्तिमान राखेकी छिन् । राईले स्न्याचमा कीर्तिमान कायम गर्दै स्वर्ण जितेकी हुन् । ८७ केजीमाथि तौल समूहमा उनले स्न्याचतर्फ ७६ र क्लिन एन्ड जर्कमा ८८ गरी कुल एक ६४ केजी भार वहन गर्दै शीर्ष स्थानमा कब्जा जमाइन् । स्न्याचमा यसअघि ७५ केजीको कीर्तिमान रहेकोमा विद्याले थप केजी बढी भार वहन गरेकी हुन् ।
भारोत्तोलनमा एपिएफ क्लबले पहिलो स्वर्ण पदक जितेको छ । पोखरा उद्योग वाणिज्य संघको हलमा बुधबार महिला ८७ केजी तौल समूहमा एपिएफकी निशा बलालले स्वर्ण पदक जितिन् । उनले स्न्याचमा ६२ र क्लिन एन्ड जर्कमा ७७ गरी कुल एक ३९ केजी भार वहन गर्दै एपिएफलाई पहिलो स्वर्ण दिलाएकी हुन् । प्रतियोगितामा नेपाल पुलिसकी जयन्ती श्रेष्ठले स्न्याचमा ६३ र क्लिन एन्ड जर्कमा ७४ गरी कुल १३७ केजी भार वहन गर्दै रजत जितिन् ।
उनले स्न्याचमा ५७ र क्लिन एन्ड जर्कमा ८८ गरी कुल १२५ केजी भार उठाएकी हुन् । एपिएफकी शिखा थापाले रजत र गण्डकीकी सिन्जल गुरुङले कांस्य पदक जितिन् । शिखाले स्न्याचतर्फ ४० र क्लिन एन्ड जर्कमा ५३ गरी कुल ९३ केजी भार वहन गरिन् । गण्डकीलाई पहिलो कांस्य दिलाउन सिन्जलले स्न्याचमा ४० र क्लिन एन्ड जर्कमा ५० सहित ९० केजी भार उठाइन् । घरेलु टोली गण्डकीले यसअघि रजत जितेको थियो ।
पुरुष १०२ केजी तौल समूहमा पुलिसका सन्देश गुरुङले स्न्याचमा कीर्तिमान कायम गर्दै स्वर्ण जिते । उनले स्न्याचमा ११३ केजी भार उठाएका हुन् । उनले क्लिन एन्ड जर्कमा एक सय ३९ केजीसहित कुल दुई सय ५२ केजी भार उठाए । एपिएफका रणबहादुर नगरकोटीले स्न्याचमा ११२ केजी भार वहन गर्दै राष्ट्रिय कीर्तिमान कायम गरेका थिए । त्यसपछि सन्देशले एक केजी बढी भार वहन गर्दै भंग गरे । नगरकोटीले क्लिन एन्ड स्न्याचमा १३८ सहित कुल २५० केजी भार उठाउँदा कांस्य जितेका मधेसका उज्ज्वलकुमार मिश्रले कुल १९४ केजी भार उठाए ।
कर्णालीमा दशौँ राष्ट्रिय खेलकुद हुने
कर्णाली प्रदेशले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । कर्णालीले २०८१ सालको मंसिरमा प्रतियोगिता आयोजना गर्नेछ । पोखरामा बुधबार बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठकले आगामी संस्करणको निर्णय गरेको हो । पोखरा रंगशालामा बिहीबार नवौँ राष्ट्रिय खेलकुदको समापन समारोहमा कर्णालीलाई राष्ट्रिय झन्डा हस्तान्तरण गरिनेछ ।
नविताले जितिन् चौथोपटक स्वर्ण
नेपाल पुलिसकी नविता श्रेष्ठ टेबलटेनिसको महिला एकलमा च्याम्पियन बनेकी छिन् । छैटौँ राष्ट्रिय खेलकुददेखि नै उनले स्वर्णमाथि कब्जा जमाएकी हुन् । उनी समग्रमा नौपटककी राष्ट्रिय च्याम्पियन बनेकी हुन् । यसैगरी, एथलेटिक्सको ट्र्याक इभेन्टमा जयरानीको जादू पाँचौँ दिन पनि जारी रह्यो । उनले चार गुणा सय मिटर रिलेमा नेपाल आर्मीका लागि स्वर्ण जितिन् । उनले सय मिटर र चार सय मिटर हर्डल्स तथा लङजम्पमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितिसकेकी छिन् । जयरानीले बिहीबार चार गुणा चार सय मिटर रिलेमा प्रतिस्पर्धा गर्दै छिन् ।
ब्याडमिन्टनमा प्रिन्स पहिलोपल्ट राष्ट्रिय च्याम्पियन बनेका छन् । नेपाल पुलिसकै चन्द्रकला लामगाडेले ज्याभलिन थ्रोमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितिन् । उसले यसअघि सटपुटमा पनि स्वर्ण जितेकी थिइन् ।
केशरीलाई पदक
केशरी थापामगरले बुधबार पोखरा लेकसाइडमा भएको महिला ट्रायथोलनमा तेस्रो स्थान रक्षा गर्दै कांस्य पदक जित्न सफल भएकी छिन् । केशरीले एक घन्टा ३२ मिनेट २९ सेकेन्डमा निर्धारित दूरी पार गर्दै कांस्य पदक जितिन् । एक घन्टा १६ मिनेट २८ सेकेन्डका साथ १३औँ दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता सोनी गुरुङले शीर्ष स्थान हात पारिन् ।
लेकसाइडस्थित गौरीघाटमा भएको तीन प्रतिस्पर्धाको ट्रायथोलनमा सात सय ५० मिटर पौडी, २० किलोमिटर साइक्लिङ र पाँच किलोमिटर दौड समावेश थियो । सन् २०११ की राष्ट्रिय च्याम्पियन केशरी अभ्यासविना पदक जित्दा दंग छिन् । १५ दिनअघि डेंगुले उनलाई सताएको थियो । सुरुमा डेंगुले ओछ्यानमै रहँदा उनले नवौँ राष्ट्रिय खेलकुदमा पदकभन्दा सहभागी हुनु नै ठूलो मानेकी थिइन् ।