प्रत्यक्षतर्फकाे २७ प्रतिशत मतपत्र छपाइ सम्पन्न

बुधबार, २ कार्तिक, २०७९
डिजिटल संस्करण

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष)तर्फ आजसम्म एक करोड ३७ हजार मतपत्र छपाइ सम्पन्न भएको छ। 

छापिएकामध्ये प्रतिनिधिसभातर्फको मतपत्र ५० लाख १३ हजार र प्रदेश सभातर्फको मतपत्र ५० लाख २४ हजार छन्। दुवै तहमा गरी कुल आवश्यक पर्ने करिब चार करोड थान मतपत्र आवश्यक पर्ने भएकामा आजसम्म करिब २७ प्रतिशत मतपत्र छपाइ भएको छ।

निर्वाचन आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा उच्च सुरक्षा प्रबन्धसहितमा मतपत्र छपाइ भइहेको छ। सो प्रणालीअन्तर्गत प्रतिनिधिसभातर्फ सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेलधुरा जिल्लाको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र छपाइ सम्पन्न भएको छ। 

प्रदेश सभाका लागि पनि सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, दार्चुला, बैतडी र अछाम जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको छ। 

समानुपातिक निर्वाचन प्रणालीतर्फ बिहीबारदेखि दोस्रो चरणको मतपत्र ढुवानी सुरु हुने आयोगले जनाएको छ। पहिलो चरणअन्तर्गत प्रदेश नं १, मधेस प्रदेश र बागमती प्रदेशका लागि मतपत्र ढुवानी भइसकेको छ। 

प्रतिनिधिसभातर्फ देशभरका लागि कुल दुई करोड चार लाख २१ हजार र प्रदेश सभातर्फ दुई करोड एक लाख ८४ हजार मतपत्र यसअघि नै छपाइ भइसकेको छ। आयोगले मतदाता शिक्षाका लागि २२ लाख ४० हजार नमुना मतपत्र छापेर यसअघि नै सम्बन्धित जिल्लामा पठाइसकेको छ।

सुझावित समाचार