मकवानपुर/ नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवं निवर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पार्टीको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
पार्टीको पदाधिकारी पदमा आकांक्षीको संख्या धेरै रहेकाले उनीहरूको व्यवस्थापन र पार्टीभित्र एकता कायम गर्न आफूले केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने निर्णय गरेको बानियाँले बताएका छन्।
काठमाडौंमा मंगलबार बिहान आयोजित बागमती प्रदेशस्तरीय अन्तरसंवाद कार्यक्रममा बानियाँले आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका हुन्। कार्यक्रममा बागमती प्रदेशका विभिन्न जिल्लाबाट आएका पार्टीका नेता तथा महाधिवेशन प्रतिनिधिको सहभागिता थियो।
कार्यक्रममा बोल्दै बानियाँले कांग्रेसलाई सुदृढ, एकताबद्ध र विचारमा आधारित पार्टीका रूपमा अघि बढाउनुपर्ने आवश्यकता रहेको बताए। पदाधिकारीका आकांक्षीको संख्या धेरै भएकाले सबैको व्यवस्थापन चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले नेताहरूबिच परस्पर सहयोग र सहकार्य आवश्यक रहेको धारणा राखे।
‘नेपाली कांग्रेसलाई सुदृढ र एकताबद्ध बनाएर लैजानुपर्ने अहिलेको आवश्यकता हो। यो पार्टीलाई भिडको पार्टी बन्न दिनुहुँदैन। यो त बिपी कोइरालाले अघि सारेको विचार बोकेको पार्टी हो,’ उनले भने।
आफ्नो उम्मेदवारीलाई पार्टीभित्रको व्यवस्थापन र एकताका लागि सहयोग गर्ने निर्णयका रूपमा प्रस्तुत गर्दै बानियाँले महाधिवेशनमा प्रतिस्पर्धासँगै सहकार्यको भावना पनि कायम राख्नुपर्नेमा जोड दिए।
‘त्यसकारण अहिले सदस्य लडेर व्यवस्थापनमा सहयोग गर्दै छु। हामी सबैले परस्पर सहयोगको भावना राखेर पार्टीलाई बचाएर अघि बढ्न जरुरी छ,’ उनले भने।
कांग्रेसलाई विचार र सिद्धान्तका आधारमा अघि बढाउनुपर्ने बताउँदै बानियाँले बिपी कोइरालाले अघि सारेको विचारलाई पार्टीको मूल आधारका रूपमा स्थापित गर्नुपर्ने धारणा राखे। उनले संगठनलाई बलियो र एकताबद्ध बनाउन सबै पक्षबिच सहकार्य आवश्यक रहेको बताए।
अन्तरसंवाद कार्यक्रममा बागमती प्रदेशका १३ वटै जिल्लाका पार्टी सभापति, क्षेत्रीय सभापति, नगर तथा गाउँपालिका सभापति तथा महाधिवेशन प्रतिनिधिहरू सहभागी थिए। उनीहरूकै उपस्थितिमा बानियाँले खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।