०७० र ०७४ सालको निर्वाचनमा एमाले नेता विचारी यादव र जनता समाजवादी पार्टीका नेता प्रदीप यादवबीच कडा ठक्कर थियो । एक–अर्कालक्षित त चर्को भाषणका कारण दुईबीच मनमुटाव पनि चर्कै थिए । तर, यसपटकको निर्वाचनसम्म आइपुग्दा दुईबीचको तिक्ततामा राँटा बसेको छ । दुई एका–अर्काका कट्टर सहयात्री बन्न पुगेका छन् ।
एमाले र जसपाबीच भएको चुनावी तालमेलले दुई धारका अलग यात्रीलाई एकै ठाउँ ल्याएउन सकेको हो । ०७० को संविधानसभा निर्वाचनमा विचारी पर्सा २ बाट एमालेतर्फबाट प्रतिनिधिसभाका लागि उम्मेदवार थिए । ठीक सोही क्षेत्रबाट उम्मेदवार बनेका थिए, जसपा (तत्कालीन संघीय समाजवादी फोरम) नेता प्रदीप । विचारीले आठ हजार सात सय १४ मत ल्याए र निर्वाचन जिते । तर, ०७४ को प्रतिनिधिसभा निर्वाचनमा भने जनमत उनको पक्षमा रहेन । पर्सा १ बाट चुनावमा उठेका उनी प्रदीपसँगै हारे ।
तर, अहिले उनीहरूलाई परिस्थितिले एकै ठाउँ उभ्याइदिएको छ । निर्वाचनमा विचारी पर्सा १ (क)बाट प्रदेश सभा सदस्यमा उठेका छन् भने प्रदीप पर्सा १ बाटै प्रतिनिधिसभाका लागि चुनावी मैदानमा उत्रिएका छन् । विचारी भन्छन्, ‘हामी दुवै अनुभवी नेता हौँ । अहिले एकै ठाउँमा छौँ । मैले मेरो प्रतिस्पर्धी नै देखेको छैन । प्रदीपको अवस्था पनि त्यस्तै छ । त्यसो हुँदा यसपटक दुवैजना जित्ने अवस्था छौँ ।’
प्रतिनिधिसभा उम्मेदवार प्रदीपको मत पनि उनको भन्दा फरक छैन । पर्सा १ मा यसपटक आफ्नो प्रतिस्पर्धी नै नरहेको उनी ठान्छन् । उनी भन्छन्, ‘मेरो प्रतिस्पर्धी अहिले कोही छैन । जिल्लाका विचारी र म अनुभवी नेता हौँ । हामी दुवै एकै नाउका यात्री भएको हुँदा यसपटक दुवैले चुनाव जित्नेमा विश्वस्त छु ।’
०७० को दोस्रो संविधानसभा निर्वाचनमा प्रदीपले ६ हजार सात सय ११ मत ल्याएका थिए । तर, ०७४ को निर्वाचनमा उनले २१ हजार एक सय ३२ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार अनिल रुँगटाले १६ हजार चार सय ८१ मत प्राप्त गरेका थिए । तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार विचारीले भने पाँच हजार चार सय ८१ मात्रै मत प्राप्त गरेका थिए ।
बारा ४ : ०७४ का मुख्य प्रतिस्पर्धी, ०७९ मा चुनावी सहयात्री
पर्सा १ मा झैँ बारा ४ मा पनि विगत निर्वाचनका कडा प्रतिस्पर्धी एमाले उम्मेदवार देवनारायण चौधरी र एकवाल मियाँ एकै नाउका दुई सहयात्री बन्न पुगेका छन् । तर, प्रसंग भने अलि भिन्न छ ।
पार्सा १ मा एमालेका विचारी र जसपा नेता प्रदीप चुनावी तालमेलका कारण एकै ठाउँमा उभिएका छन् । तर, बारा ४ मा भने पार्टी प्रवेशपछि सहयात्री बन्न पुगेका हुन् । ०७४ को निर्वाचनमा बारा ४ बाट तत्कालीन राजपाबाट एकबाल प्रतिनिधिसभामा उम्मेदवार बनेका थिए । एमालेबाट सोही क्षेत्रबाट उम्मेदवार बनेका देवनारायणलाई उनले २२ हजार दुई सय ७५ मत ल्याएर प्रतिस्पर्धामा हराए । गत २२ मा उनले नवगठित लोकतान्त्रिक समाजवादी पार्टी छाडे । एमालेमा प्रवेश गरे ।
उनी अहिले बारा ४ बाटै प्रतिनिधिसभाका लागि उम्मेदवार छन् । विगत निर्वाचनका उनका निकटतम प्रतिस्पर्धी देवनारायण भने बारा ४(क) बाट प्रदेश सभाका लागि चुनावमा उठेका छन् । एकवाल भन्छन्, ‘राजनीतिमा स्थायी शत्रु र मित्र कोही हुँदैन । सबै परिस्थितिका उपज हुन् । त्यसो हुँदा राजनीतिमा कुनै पनि विषय सम्भव रहन्छ । अहिले हामी निर्वाचनमा होमिएका छौँ ।’
दलका नेताले नै एमाले प्रवेश गराएर उम्मेदवार बनाएकाले विगतका प्रतिस्पर्धी उम्मेदवार सहयात्री बन्न पुगेका उनको भनाइ छ । देवनारायणलाई यसपटक पनि पार्टीले बारा ४ बाट प्रतिनिधिसभा सदस्यमा एकल उम्मेदवारका रूपमा सिफारिस गरेको थियो । तर, एकवालको पार्टी प्रवेशपछि उनी बारा ४ (क) बाट उम्मेदवार बन्न पुगे ।